कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

लागूऔषध कारोवार : ट्रान्जिट पोइन्ट बन्दै बर्दिया

कमल पन्थी

बर्दिया — ठाकुरबाबा नगरपालिका–१ सिंहवाहिनी चोकका २८ वर्षीय शिवराज पन्थ करिब १० ग्राम खैरो हिरोइन (ब्राउन सुगर) सहित बुधबार पक्राउ परे । पूर्व–पश्चिम राजमार्गस्थित सिंहवाहिनी चोकमा प्रहरीले शंका लागि खानतलासी गर्दा उनी खैरो हिरोइनसहित पक्राउ परेका हुन् ।

लागूऔषध कारोवार : ट्रान्जिट पोइन्ट बन्दै बर्दिया

त्यसैगरी, केही समयअघि भारतबाट नेपाल भित्र्याइने गरेको खैरो हिरोइनका सप्लायर्स भनिएका भारतीय नागरिक दशगजानजिकबाट पक्राउ परेका थिए । पक्राउ गरिएका भारत उत्तरप्रदेशको मिहीपुरुवाका करिब २५ वर्षीय विमलेशकुमार हरजनलाई प्रहरीले बुधबार सार्वजनिक गरेको छ ।


पक्राउ परेका हरिजनबाट ३० ग्राम खैरो हिरोइन बरामद गरिएको थियो । उक्त हिरोइनको बजार मूल्य करिब २ लाख रुपैयाँ रहेको प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीले बताए । जिल्लाको मधुवन नगरपालिका–७ सँग सीमा जोडिएको निशानगाढा हुँदै आउँदै गरेको अवस्थामा प्रहरीले गोप्य सूचनाका आधारमा खानतलासी गर्दा उनलाई पक्राउ गरेको हो ।


प्रहरीले लागूऔषध अपराध ऐनअन्तर्गत उनीविरुद्ध मुद्दा दायर गरेको छ । ३ साताअघि भारत लखिमपुर जिल्लाका हरजित सिंहलाई लागूऔषधसहित राजापुरबाट पक्राउ गरिएको थियो ।


लागूऔषध ओसारपसार ऐन ०३२ अन्तर्गत दफा १५ को उपदफा १ को ६ (३) बमोजिम २५ ग्रामदेखि १ सय ग्रामसम्म १० देखि १५ वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना हुने प्रावधान रहेको प्रहरीले जनाएको छ । मधुवन नगरपालिकामा लागूऔषधको खरिद–बिक्री र सेवनकर्ता बढेपछि प्रहरीले यहाँ विशेष अप्रेसन चलाएको छ ।


यसै गरी इलाका प्रहरी राजापुरले सोमबार २ सय ३९ थान प्रतिबन्धित लागूऔषध नाइट्रोभेटसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ परेका राजापुर नगरपालिका–१ का आनन्द सोनाहा, ऋषिराम थारू र ज्ञानु सोनाहा रहेको प्रहरीले जनाएको छ । लागूऔषध कारोवारका लागि बर्दिया ट्रान्जिट पोइन्ट बन्दै गएपछि प्रहरीले विशेष अप्रेसन चलाएको छ ।


एक महिनायता मधुवन नगरपालिका–८ श्रीनगर बस्तीमा पाँचजना लागूऔषध खरिद– बिक्री गरिरहेका अभियोगीलाई पक्राउ गरेको थियो । प्रहरीले लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका २२ वर्षीय मुकेश तिरुवा, सोही नगरका २२ वर्षीय मुकेश चौधरी, २५ वर्षीय चेतन भन्ने निकेश विक, २० वर्षीय कृष्णबहादुर रामजाली र १८ वर्षीय प्रकाश गौतमलाई लागूऔषधको बेचबिखन गरिरहेको अवस्थामा पक्राउ गरेको प्रहरी उपरीक्षक मैनालीले बताए । पक्राउ परेका तिरुवाबाट ५ सय मिलिग्राम ब्राउन सुगर, चौधरीका साथबाट ५५ ग्राम र विकबाट १५ हजार नगद फेला परेको थियो ।


प्रहरीले सोही अवधिमा गुलरिया, मधुवनलगायतका ठाउँबाट १८ जना लागूऔषध सेवनकर्तालाई पक्राउ गरी सुध्रिन मौका दिँदै अभिभावकको जिम्मा लगाएको थियो । जिल्लास्थित केही पानपसलमा लागूऔषधको कारोवार बढ्दै गएको स्थानीयको भनाइ छ । प्रहरीले लागूऔषध बेचबिखन गर्न लागेका एक पान पसलेलाई पक्राउ गरेपछि उक्त खुलासा भएको हो ।


नेपालमा प्रतिबन्धित लागूऔषध भारतीय सीमाबाट खरिद गरी लामो समयदेखि बेचबिखन हुँदै आएको छ । प्रहरीका अनुसार ती लागूऔषध स्कुले विद्यार्थीलाई बेच्ने गरेको अनुसन्धानबाट खुलेको छ । भारतीय नागरिक मोतीपुर थाना लौकाहीका सञ्जन खान, आजाद खान र इस्लाम खान लागूऔषध चरेससहित पक्राउ परी अहिले कारगारमा सजाय भोग्दै छन् । ०७३/०७४ मा १४ जना लागू औषधका सेवनकर्ता र बेचबिखनमा संलग्न पक्राउ परेकामा ०७४/०७५ मा त्यो संख्या बढेर २७ पुगेको छ ।


भारतको सीमावर्ती मिहिपुरुवा, बलैगाउँ, सलारपुर, लौकाही र रुपैडियाबाट ब्राउन सुगर नेपाल भित्रिने गरेको सुराकी पाएपछि प्रहरीले ती क्षेत्रमा विशेष कडाइ गरेको छ । प्रहरीले गत साउनयता मात्रै लागूऔषधका १४ मुद्दा दायर गरेको छ । यसैगरी १ सय ५० जना सेवनकर्तालाई पक्राउ गरी अभिभावकको जिम्मा लगाएको छ ।

प्रकाशित : फाल्गुन १०, २०७५ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?