१० वडामा एक घर एक धारा

हरि गौतम

रुकुम पूर्व — जिल्लाका ३ स्थानीय तहका १० वडामा ‘एक घर एक धारा’ कार्यक्रम लागू हुने भएको छ । यसका लागि अहिले सर्भेको काम सुरु भएको छ ।

प्रदेश ५ सरकारको लगानीमा भूमेका ५, सिस्नेका ४ र पुथाउत्तरगंगा गाउँपालिकाको एउटा गरी जिल्लाभरिका १० वडामा यो कार्यक्रम लागू हुन लागेको हो ।

प्रदेश सरकारअन्तर्गतको भौतिक पूर्वाधार मन्क्रालयले यस कार्यत्रमका लागि बजेटसमेत विनियोजन गरेको छ । चालु आर्थिक वर्षमै योजना निर्माणका लागि प्रदेश सरकारले २ करोड ५ लाख रुपैयाँ विनियोजन गरेको हो । चालु आर्थिक वर्षको बजेट अनुसार हाल कार्यक्रम लागू हुने वडामा सर्भेको काम भइरहेको छ । सर्भेपछि डीपीआर हुने र त्यसपछि निर्माणको काम सुरु हुने बताइएको छ ।


एक घर एक धारा कार्यक्रमअन्तर्गत गाउँमाथि तथा गाउँकै उचाइमा मुहान भएका ठाउँमा सामान्य प्रक्रियाबाट पानी ल्याई घर–घरमा धारा वितरण गरिनेछ भने गाउँभन्दा मुनि मुहान भएका ठाउँमा लिफ्टमार्फत पानी तानेर वितरण गरिनेछ ।


एक घर एक धाराका लागि भूमे गाउँपालिकामा चालु आर्थिक वर्षका लागि एक करोड बजेट आएको छ । गाउँपालिकाका १, २, ३, ८ र ९ नम्बर वडामा एक घर एक धाराका लागि उक्त बजेट आएको गाउँपालिका अध्यक्ष रामसुर बुढामगरले बताए ।


गाउँपालिकाका १, २ र ८ तथा ३ को मोराबाङबाहेकका गाउँमा सामान्य प्रक्रियाबाट र मोराबाङ एवं वडा नम्बर ९ को बाहुन काट्टेमा लिफ्ट प्रविधिबाट पानी तानेर घर–घरमा पुर्‍याउने गरी सर्भेको काम भएको अध्यक्ष बुढामगरले बताए । चालू आर्थिक वर्षमा वडा नम्बर १ र २ मा काम गर्ने गरी ३५ लाख तथा वडा नम्बर ३ मा मात्र ३५, वडा नम्बर ८ र ९ का लागि १५/१५ लाख गरी एक करोड रुपैयाँ आएको गाउँपालिका अध्यक्ष बुढामगरले जानकारी दिए ।


एक घर एक धारा कार्यक्रमअन्तर्गत जिल्लाको सिस्ने गाउँपालिकाका ४ वडामा काम हुँदै छ । वडा नम्बर १ देखि ४ सम्म यो कार्यक्रम लागु हुन लागेकामा यी सबै वडामा सर्भेको काम पनि सकिएको छ । कार्यक्रमका लागि गाउँपालिकामा ९० लाख रुपैयाँ आएको छ ।


वडा नम्बर १ मा ३५ लाख, २ मा २० लाख र ३ मा ३५ लाख गरी कुल ९० लाख रुपैयाँ चालु आर्थिक वर्षका लागि आएको गाउँपालिका अध्यक्ष कुमारी बरालले जानकारी दिइन् । त्यस्तै गरी जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका–१२ को कोलमा १५ लाख बजेट विनियोजन गरिएको छ ।


यस कार्यक्रममार्फत बनेका हरेक योजनाले प्रत्येक घरमा मिटरमार्फत पानी वितरण गर्नेछन् । हरेक घरमा मिटर जडान गर्ने र उक्त घरमा कति पानी प्रयोग भयो भनेर मापन गर्ने तयारी पनि छ । यी सबै आयोजना निर्माणको काम उपभोक्ता समितिमार्फत हुने बताइएको छ ।

प्रकाशित : फाल्गुन १०, २०७५ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?