कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डोजरबिनै गाउँमा मोटरबाटो

काशीराम डाँगी

रोल्पा — रोल्पा सदरमुकाम लिबाङ नजिकैको गाउँमा सडक र गाडी पुग्दा गाउँले खुसी भएका छन् । रोल्पा नगरपालिका–९ होमास्थित हाङबाङ गाउँमा मंगलबार पहिलोपटक डोजरबिनै खनिएको मोटरबाटो पुगेपछि खुसियाली छाएको हो ।

डोजरबिनै गाउँमा मोटरबाटो

स्थानीयले सडक निर्माणमा बजेट विनियोजन गर्ने जनप्रतिनिधि र नक्सा बनाउने प्राविधिकलाई समेत गाउँमै बोलाएर स्वागत गरे । कडा चट्टान भएको १ हजार ५ सय मिटरबाहेक करिब ४ किलोमिटर मोटरबाटो गाउँलेकै श्रमदानबाट निर्माण गरिएको हो । डोजरको प्रयोगबिनै गाउँलेले घरेलु कोदालो, बेच्चा, साबेल र कुटो प्रयोग गरेर उक्त मोटरबाटो निर्माण गरेका हुन् ।


मोटरबाटो निर्माण भएपछि लिबाङ–होमा लिबन सडक मार्गअन्तर्गत उपल्लो रिसबाङदेखि हाङबाङसम्म सडकले जोडिएको छ । ३ किलोमिटर ७ सय मिटर लामो उक्त मोटरबाटोको निर्माण स्थानीय आफैंले खनेर गरेका हुन् । दुई वर्ष लगाएर निर्माण गरिएको उक्त मोटरबाटोको लागत ८७ लाख रुपैयाँ रहेको छ ।


मोटरबाटो उद्घाटनका क्रममा जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढामगर र रोल्पा नगरका मेयर पूर्ण केसीसमेतका जनप्रतिनिधिलाई स्थानीयले गाउँमै बोलाएका थिए । पाहुनालाई स्वागत गर्न गाउँलेले परम्परागत बाजागाजा बजाए ।


मोटरबाटो पुगेपछि स्वागत गर्न फूलमालासहित भेला भएका गाउँलेमध्ये पुरुष राष्ट्रिय पोसाकमा र महिला परम्परागत मगर पहिचान झल्कने पोसाकमा सजिएका थिए । यस मोटरबाटोलाई गाउँलेले आगामी वर्षभित्र गोलबाङ र गुम्थालसम्म पुर्‍याउने लक्ष्य लिएका छन् । उनीहरूले हाङबाङअघिका गाउँसम्म मोटरबाटो निर्माण गर्न आवश्यक पर्ने बजेट छुट्याउन जनप्रतिनिधिसँग आग्रहसमेत गरे ।


गाउँको मोटरबाटो निर्माण गर्दा बेग्लै आनन्द मिलेको उपभोक्ता समितिका अध्यक्ष कमल बुढामगरले बताए । मोटरबाटो निर्माणमा गाउँका युवा मात्रै नभई वृद्धवृद्धा र महिलासमेत सहभागी भएकामा उनले खुसी मिलेको बताए । ‘हामी सबै मिलेर आफ्नो गाउँ पुग्ने मोटरबाटो आफैंले निर्माण गर्‍यौं । डोजर प्रयोग नगरिकनै गाउँमा मोटरबाटो पुर्‍यायौं,’ गाउँका अगुवा युवासमेत रहेका उनले भने । उक्त गाउँ लिबाङदेखि करिब २५ किलोमिटर पश्चिम दुर्गममा पर्छ ।


रोल्पा नगरपालिका–९ का वडाध्यक्ष मीमबहादुर घर्तीमगरले गाउँले आफैंले मोटरबाटो खन्ने माग गरेपछि योजना विनियोजना गरेको बताए । यस प्रकारका योजना अन्य गाउँमा पनि सञ्चालन गर्न सकिए गाउँमा आएको पैसा गाउँमै रहने उनले विश्वास व्यक्त गरे । हालै सरकारले करोडभन्दा कमका योजनामा डोजर प्रयोग गर्न रोक लगाउने निर्णय गरेको छ । रोल्पामा भने सरकारको यो निर्णय आउनुअघि नै गाउँले आफ्नै श्रमबाट मोटरबाटो बनाउन जुटेका थिए ।


गाउँलेलाई राम्रो ज्याला

आफैंले खनेर मोटरबाटो बनाउन सहभागी भएका गाउँलेले उक्त योजनाबाट पर्याप्त धनार्जन गरेका छन् । मोटरबाटो खन्न दैनिक करिब एक सय जना खटिएका थिए । दिउँसोको खाना र खाजा घरैबाट लिई आएका उनीहरूले बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म मोटरबाटो खने । कतिपय महिला बच्चा बोकेरै मोटरबाटो खन्न सरिक भएका थिए ।


उक्त मोटरबाटोले प्रत्यक्ष लाभ पुर्‍याउने हाङबाङ, गोलबाङ र गुन्थाल गाउँमा १ सय ३ घरधुरी छन् । मोटरबाटो बनाउन दैनिक खटिएका गाउँलेले कम्तीमा ५० हजारदेखि १ लाख रुपैयाँसम्म बुझेको बताए । सहमति अनुसार हरेक घरबाट एक जना मोटरबाटो खन्न आउने निर्णय उपभोक्ता समितिले गरे पनि सबैको आकर्षण बढेपछि थपसमेत आएका थिए । ‘मानिस कम होलान् भनेर हरेक घरबाट एक जना आउने भन्यौं । तर, पछि सबै आए । राम्रो भयो,’ उपभोक्ता समितिका अध्यक्ष बुढामगरले भने, ‘हाम्रो काम गर्ने तरिका देखेर छिमेकी गाउँवासीसमेत चकित परेका छन् ।’


वर्षौंअघि तल्लो रिस्बाङदेखि हाङबाङसम्म गोरेटो बाटो निर्माण गर्न सहयोग गरेको ग्रामीण सामुदायिक पूर्वाधार विकास कार्यक्रम (आरसीआईडब्लू) कै सहयोगमा यसपालि उपल्लो रिसबाङदेखि हाङबाङसम्म मोटरबाटो निर्माण गरिएको हो ।


योजनाका इन्जिनियर राजु भट्टराईले जनताले चाहे भने डोजर प्रयोग नगरेरै मोटरबाटो निर्माण गर्न सक्छन् भन्ने उदाहरण यो बाटो बनेको बताए । उनका अनुसार गाउँलेले श्रमदान गरेर मोटरबाटो बनाउँदा पर्यावरणको संरक्षण हुनुका साथै गाउँलेलाई कमाइ गर्ने अवसर पनि मिलेको थियो ।


मोटरबाटो निर्माणमा आरसीआईडब्लूको करिब ६७ लाख खर्च भएकामा रोल्पा नगरपालिकाले २० लाख रुपैयाँ थपेको थियो । स्थानीयले भने करिब १४ लाख रुपैयाँको श्रमदान गरेका थिए ।


अर्ग्यानिक उत्पादन र प्रयोगमा लाग्न आग्रह

गाउँमै मोटरबाटो पुगेपछि त्यसबाट लाभ लिन जिल्ला समन्वय समितिका प्रमुख बुढाले गाउँलेलाई अर्ग्यानिक खेतीमा लाग्न जोड दिएका छन् । अन्न उत्पादनमा ध्यान दिन र सडक प्रयोगबाट आर्थिक लाभ लिनसमेत उनले आग्रह गरे ।


‘अब मोटरबाटो आयो । तपाईंहरू खेतीपातीलाई आधुनिकीकरण गर्न र बढीभन्दा बढी उत्पादन गर्न लागी पर्नूस्,’ उनले भने, ‘बजारबाट आउने गाडी आफ्नै उत्पादनले भरेर पैसा कमाउन लाग्नूस् ।’


आफ्नै मिहिनेतले खनेर मोटरबाटो निर्माण गरेकामा खुसी र प्रशंसा गर्दै उनले कृषि, पशुपालन र अन्न उत्पादनमा व्यावसायिकतासाथ आर्थिक उपार्जन गर्न आग्रह गरे । स्थानीयलाई बजारबाट आयातित अन्नको प्रयोग कम गर्न र आफैंले उत्पादन गरेको खाद्यान्न प्रयोगमा जोड दिनसमेत उनले आग्रह गरे ।

प्रकाशित : फाल्गुन १०, २०७५ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?