कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सरकारीमै गुणस्तरीय प्रसूति सेवा

विशेषज्ञ चिकित्सकसहित औषधिको व्यवस्था भएपछि अस्पतालको मुहारै फेरियो
कान्तिपुर संवाददाता

परासी — विशेषज्ञ चिकित्सकले सेवा दिन थालेपछि पश्चिम नवलपरासीको पृथ्वीचन्द्र जिल्ला अस्पताल प्रसूति र पाठेघरको अप्रेसनका लागि अब्बल ठहरिएको छ । यहाँ रूपन्देहीलगायत भारतबाट समेत बिरामी आउन थालेका छन् । केही समयअघिसम्म सामान्य सेवा पाइने अस्पतालमा अहिले विशेषज्ञ चिकित्सकसहित औषधिको व्यवस्था भएपछि अस्पतालको मुहारै फेरिएको हो । 

चालु आर्थिक वर्षमा अस्पतालमा प्रसूति सेवा लिनेको संख्यामा वृद्धि भएको छ । अस्पतालमा प्रसूति सेवालाई प्रभावकारी र गुणस्तरीय बनाइएपछि छिमेकी मुलुक भारतबाट समेत गर्भवती महिला प्रसूति सेवाका लागि आउने गरेको अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेट डा. अनन्तकुमार शर्माले बताए ।


गत असोजमा सबैभन्दा बढी ३० वटा सीएस (अप्रसेन) सहित १ सय ५६ जना, कात्तिकमा २० वटा सीएससहित १ सय ३० जना, मंसिरमा २८ सीएससहित १ सय २२ जना र पुसमा २२ सीएससहित १ सय २५ जना महिलाले अस्पतालबाट प्रसूति सेवा लिएका छन् । ६ महिनामा १ सय ३० वटा सीएससहित ७ सय ८५ जना गर्भवती महिलाले अस्पतालमा आएर प्रसूति सेवा लिएको स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. अजेन्द्र यादवले बताए । ‘अस्पतालको सेवा प्रवाह र प्रशासनको व्यवस्थापन मुख्य पक्ष हो,’ उनले भने, ‘सेवाग्राहीले नै गाउँगाउँमा गएर पहिलेभन्दा अस्पतालको सेवा प्रभावकारी र विशेषज्ञ चिकित्सक भएको प्रचारप्रसार गरेपछि बिरामीको संख्या बढेको छ ।’


तराई क्षेत्रको ग्रामीण भेगमा अझै पनि घरमै सुत्केरी गराउने प्रचलन छ । आर्थिक रूपमा कमजोर स्थानीयले बाध्यताले अस्पताल पुर्‍याउँदैनन् । तर, अहिले अस्पतालमा सेवा निःशुल्क हुने जनचेतना फैलाएपछि विपन्न परिवार पनि अस्पताल आउन थालेका छन् । यसले यस क्षेत्रका विपन्न र ग्रामीण क्षेत्रका महिलालाई सहज भएको छ ।


जनशक्ति नहुँदा यसअघि दिनमा मुस्किलले ५० जना मात्र स्वास्थ्य सेवाका लागि आउने अस्पतालमा अहिले २ सयभन्दा बढीले ओपीडीको टिकट काट्ने गरेका छन् । अस्पताल प्रदेश सरकारअन्तर्गत आएपछि प्रदेश सरकारले जिल्ला समन्वय समितिका प्रमुख शिवशंकर रायको अध्यक्षतामा तदर्थ अस्पताल विकास समिति गठन गरेको छ । ‘जिल्ला अस्पताल हुँदाहुँदै सामान्य रोगका लागि पनि बुटवल र भैरहवा जानुपर्ने बाध्यता हटाउन सुधारको प्रयास गरिएको छ,’ अस्पताल विकास समितिका अध्यक्ष रायले भने, ‘उपलब्ध स्रोत र साधनले भ्याएसम्म बाहिर रिफर नगर्ने र गर्नैपर्ने अवस्था आए तथ्यांक राखेर मात्र पठाउन थालिएको छ ।’


पश्चिम नवलपरासीको जिल्ला अस्पताल परासीमा पहिलोपटक नवजात शिशुको उपचारमा प्रयोग हुने आवश्यक उपकरण जडान गरिएको छ । ग्रामीण क्षेत्रबाट सुत्केरी सेवाका लागि आउने बिरामीको संख्या बढेपछि उपकरण जडान गरिएको हो । अप्रेसनद्वारा प्रसूति गराउने सेवा सुरु भएसँगै नवजात शिशुको उपचारका लागि उपकरण जडान गरिएको छ । अस्पतालमा पहिलो पटक स्पेसल न्युरोनेटर केयर युनिट सञ्चालनमा ल्याइएको हो ।

प्रकाशित : फाल्गुन ११, २०७५ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?