कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

चराचुरुंगीको स्वर्ग ओझेलमा

११० बिघाको बढैया ताल सिमसारमा सूचीकृत नहुँदा समस्या
ठाकुरसिंह थारू

नेपालगन्ज — जैविक विविधताको दृष्टिकोणले सिमसार घोषणा भइसक्नु पर्ने बर्दियाको बढैया ताल अझै ओझेलमा छ । प्राकृतिक रूपमै रहेको उक्त ताल १ सय १० बिघा क्षेत्रफलमा फैलिएको छ । १२ महिनै पानी जम्ने दलदले तालमा दुर्लभ चराचुरुंगी र पानीमा पाइने जीवजन्तु पाइन्छन् । यस क्षेत्रकै ठूलो प्राकृतिक ताल प्रचारप्रसार अभावमा सिमसार क्षेत्र घोषणा हुन सकेको छैन । 

चराचुरुंगीको स्वर्ग ओझेलमा

तत्कालीन जिल्ला विकास समितिले व्यावसायिक माछा पालनका लागि उक्त ताल ठेक्कामा दिएपछि जैविक विविधतामा ठूलो क्षति पुगेको जानकारहरू बताउँछन् । स्थानीय सरकारले अब ताललाई ठेक्का नदिने जनाएको छ । ‘बढैया ताललाई माछा पालनका रूपमा प्रयोग गर्ने होइन, यसलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने योजनामा छौं,’ बढैया ताल गाउँपालिकाका प्रमुख लालबहादुर श्रेष्ठले भने, ‘त्यसका लागि गृहकार्य भइरहेको छ । केही काम अगाडि बढिसकेको पनि छ ।’


स्वतन्त्र विश्वकोषले पानीले राम्रोसित भिजेको ठाउँ, अत्यधिक आर्द्रता भएको जमिन, जहाँ पानीको सतह र जमिन करिब–करिब एउटै स्तरमा रहन्छन् र बोटबिरुवाको अस्तित्व रहेको, पानी नसुक्ने रसिलो जमिन क्षेत्रलाई सिमसारका रूपमा परिभाषित गरेको छ ।


त्यस्तै, नेपालको राष्ट्रिय सिमसार नीति, २०५९ अनुसार जमेको वा बगेको स्थायी वा अस्थायी, प्राकृतिक वा कृत्रिम रूपमा बनेको दलदल क्षेत्र र त्यसमा धापलगायत नदीको बाँध क्षेत्र, ताल, पोखरी, जलाशय एवं धानबालीसमेत पर्छ । यी सबै दृष्टिकोणले बढैया ताल सिमसारका लागि उपयुक्त छ । तर, पहल नै नभएका कारण सूचीकृत हुन नसकेको स्थानीयको गुनासो छ । ‘माछा पालन भइरहेका कारण सिमसारका लागि पहल नभएको हुन सक्छ,’ गाउँपालिका प्रमुख श्रेष्ठले भने, ‘अहिले पर्यटकीय क्षेत्रका लागि पहल गरिरहेका छौं ।’


उनका अनुसार बढैयाताल गाउँपालिकाले यस वर्ष पर्यटकीय क्षेत्रका लागि ६० लाख रुपैयाँ बजेट छुट्याएको छ । बढैयाताल गाउँपालिका–५ मा पर्ने यस क्षेत्रकै ठूलो बढैयाताललाई सिमसारका रूपमा विकास गर्न स्थानीयले माग गर्दै आएका छन् । ताल व्यवस्थित गर्न बाँध मर्मतदेखि पिकनिक स्पट निर्माण गरिएको छ । त्यस्तै चराहरूको बासस्थानका लागि आइल्याड निर्माण गर्ने गुरुयोजना पनि अघि सारिएको छ ।


स्थानीय विन्देसर चौधरीले ताललाई कमाउने थलोका रूपमा लिइएका कारण समस्या भएको बताए । उनले सिमसार घोषणाका लागि स्थानीयले आवाज उठाए पनि पूरा हुन नसकेको जनाए । ‘यो ताल सिमसारका लागि उपयुक्त छ तर ओझेलमा परेका कारण सम्भव भएको छैन,’ उनले भने, ‘पानी कहिल्यै सुक्दैन । कछुवालगायतका दुर्लभ प्राणी तालमा पाइन्छन् ।’


उक्त तालमा ३१ भन्दा बढी प्रजातिका चरा पाइने स्थानीयले बताए । मुलुककै दुर्लभ प्रजातिका चरा पनि यहाँ पाइन्छन् । साइबेरिया र भारतबाट पनि पहुनाका रूपमा यहाँ चरा आउँछन् । तर, संरक्षण अभावमा बासस्थान संकटमा परेपछि चरा अगमनमा पनि कमी आएको छ । यहाँ सारस, करेङकुरुङ, साइबेरिन हाँस, कुर्मा, मरुल, लामाऔंले, राज हुट्टिट्याउँ, टिमटिमा, मलाह चिल, माटी कोरी प्रजातिका चरा देख्न पाइन्छन् । त्यस्तै डुबुल्की, जलेवा, चखेवा, ७ प्रजातिका बकुल्ला, लालटाउके गरुड, करी साँवरी, सिलसिले, खडखडे हाँस, बिजुलागैरी, हरियो टाउके, सुइपुच्छे, सिमकुखुरालगायत प्रजातिका चरा यहाँ हेर्न सकिने स्थानीय मेहीलाल चौधरीले बताए ।


त्यस्तै तालमा कमल, टेलुनिया, सेल्की, गेजरा, भसेरलगायतका जडीबुटी पाइन्छन् । कछुवा, घोंघी, सालमाछालगायत तालमै पाइन्छन् ।


प्राकृतिक रूपमा रहेको बढैया तालको जैविक विविधताको संरक्षण र सम्बर्द्धनका लागि स्थानीयले माग गर्दै आएका छन् । यसअघि उच्च अदालत नेपालगन्ज इजलासले तालको संरक्षणसँगै वातावरणमा समेत प्रतिकूल असर पार्ने गरी कुनै कार्य नगर्न जिल्ला समन्वय समिति र माछा पालन गर्ने ठेकेदारका नाममा आदेश गरेको थियो । माछा पालनले प्राकृतिक रूपमा रहेको जैविक विविधता नष्ट हुँदै गएको भन्दै स्थानीयले आवाज उठाउँदै आएका छन् ।


संरक्षण अभावमा सयौं जलचर लोप हुँदै गएका छन् । धार्मिक तथा सांस्कृतिक रूपले धनी प्राकृतिक ताललाई पर्यटन क्षेत्रका रूपमा घोषणा गर्न स्थानीयले माग गर्दै आएका छन् ।

प्रकाशित : फाल्गुन ११, २०७५ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?