अस्पताल र विज्ञ केन्द्र सञ्चालन

काशीराम डाँगी

रोल्पा — रोल्पा र रुकुमपूर्व हेर्ने गरी रोल्पाको लिबाङमा भेटेरिनरी अस्पताल तथा विज्ञ केन्द्र स्थापना गरिएको छ । तर, आफ्नै भवन प्रयोग गर्न नपाउँदा उद्घाटनबिनै सञ्चालन गरिएको छ । करिब २ करोड रुपैयाँको लगानीमा अस्पताल तथा केन्द्रका लागि सरकारी लगानीमा गत वर्ष नयाँ भवन निर्माण भएको थियो । उक्त भवनमै रोल्पा नगरपालिकाको कार्यालय सञ्चालन भएपछि उद्घाटन गर्न सम्भव नभएको हो ।

अस्पताल र केन्द्रको भवन उद्घाटन गर्न ५ महिनाअघि लिबाङ आएकी प्रदेश सरकारकी भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेल विवादकै बीच भवन उद्घाटन नगरी फर्किएकी थिइन् । रोल्पाबाट सबै कार्यालय फिर्ता गर्ने प्रदेश सरकारको निर्णयअनुसार तत्कालीन पशु सेवा कार्यालयको नयाँ भवनमा रोल्पा नगरले आफ्नो कार्यालय स्थापना गरिसकेकाले भवन उद्घाटनमा विवाद भएको थियो ।


भवनको उद्घाटन गर्नुअघि नै नगरले कार्यालय सारेको थियो । हाल उक्त भवनमा भेटेरिनरी अस्पताल तथा विज्ञ केन्द्र स्थापना गर्ने सरकारको निर्णय भए पनि नगरपालिकाले भवन नछाडदा कार्यालयको उद्घाटन गर्न प्राविधिक कठिनाइ भएको सरोकारवालाको जिकिर छ ।


अस्पताल तथा विज्ञ केन्द्रका प्रमुख डा धर्मराज गिरीले उद्घाटन नगरिएको नयाँ भवनकै चार कोठाबाट अस्पताल सञ्चालन गरिएको बताए । ‘तल्लो तलामा नगरपालिकाले कार्यालय सञ्चालन गरेको छ । माथिल्लो तलाका चार कोठामा हामी छौं,’ उनले भने । उनका अनुसार सरकारले हाल १० जनाको दरबन्दी कायम गरेको छ । पूर्वी रुकुममा पनि सम्पर्क कार्यालय स्थापना गर्ने योजना रहेको उनले बताए । डा. गिरीको नेतृत्वमा सुब्बा तहका २ र खरिदार तहका २ जनाको प्राविधिक टोली खटाइएको छ । यस्तै प्रशासन हेर्ने एक जना सुब्बासहित एक जना लेखापालको दरबन्दी छ ।


रुकुमपूर्वमा पनि छिट्टै भेटेरिनरी अस्पताल तथा विज्ञ केन्द्रको सम्पर्क कार्यालय स्थापना गर्ने योजना रहेको डा. गिरीले सुनाए । ‘कर्मचारी समायोजनको कार्य सकिएपछि सरकारले उक्त योजना कार्यान्वयन गर्ने जानकारी पाएको छु,’ उनले भने ।


मुलुक संघीय संरचनामा प्रवेश गरेपछि हरेक जिल्लामा कृषि र पशु सेवाको प्रभावकारी सेवा प्रवाह गर्ने उद्देश्यले यहाँ पनि सरकारले भेटेरिनरी अस्पताल तथा विज्ञ केन्द्र स्थापना गर्ने निर्णय गरेको हो ।


जिल्लाका अगुवा कृषक तथा नेकपाका जिल्ला नेता ऋषिराम रोकाले सरकारले रोल्पामा भेटेरिनरी अस्पताल तथा विज्ञ केन्द्रको सञ्चालनमा ध्यान नदिएको बताए । ‘जनताको चेतना न्यून छ । जानेकाले गर्नुपर्ने काम गरेका छैनन्,’ उनले भने ।


स्थानीय जनप्रतिनिधि, राजनीतिक दल र कृषकहरूको समूहले यसबारे नगरपालिका र जिल्ला समन्वय समितिलाई ध्यानाकर्षण गराए पनि सुनुवाइ नभएको रोकाले बताए ।


मेयर पूर्ण केसीले तत्कालीन अवस्थामा धेरै कार्यालय हटाइएकाले र नगरपालिकाको भवन साँघुरो भएकाले साबिकको पशुसेवा कार्यालयमा सरेको बताए । रोल्पा नगरको आफ्नै पक्की भवन छ । नगरपालिकामा रूपान्तरित भएको साबिकको लिबाङ गाविसका नाममा प्रशस्तै जग्गासमेत छ । सदरमुकामभित्रै पर्ने वडा नं. ४ का लागि नगरले नै सुविधायुक्त नयाँ भवन निर्माण गरिदिएको छ ।


जिल्लाका कृषकले जिसस प्रमुखले समेत यसबारेमा ध्यानाकर्षण गराउँदा चासो नदिनु राम्रो नभएको गुनासो गरे । कृषकले आफ्नो पक्षमा सोचिदिन आग्रहसमेत गर्दै आएका छन् । रोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वकुमार चन्दले जुन भवन जे प्रयोजनका लागि निर्माण गरिएको हो, त्यसै अनुसार प्रयोगमा ल्याउन दिनु जनप्रतिनिधिको दायित्व भएको प्रतिक्रिया दिए । यसबारे प्रदेश सरकारसमक्ष ज्ञापनपत्र समेत बुझाइएको उनले बताए ।


आफ्नै जमिनमा निर्माण भएको अढाइ तले तत्कालीन पशु सेवा कार्यालयको उक्त नयाँ भवन आधुनिक सुविधायुक्त छ । कार्यालयको आफ्नै प्रशस्त जग्गा र गाडी पार्किङ सुविधासमेत छ । सरकारले जिल्लामा पशु चिकित्सकसहितको ल्याब, नमुना संकलन, रोग नियन्त्रण गर्न र बिरामी पशुको उपचार जिल्लामै गर्नुका साथै जिल्लाका सबै स्थानीय तहबीच समन्वय गर्न उक्त भवन निर्माण गरेको थियो ।


प्राविधिकहरूका अनुसार पशुपन्छीको रोग पहिचान गर्न र उपचार गर्न खुला स्थान चाहिने भएकाले सरकारले ऊक्त स्थानमै सुविधायुत्त भवन निर्माण गरिदिएको हो । उक्त कार्यालयले स्थानीयदेखि प्रदेश र संघीय सरकारका बीच पशु विकास र सेवा प्रवाह गर्न पुलको काम गर्ने सरकारको उद्देश्य रहेको भेटेरिनरी अस्पताल तथा विज्ञ केन्द्रका प्रमुख डा. गिरीले बताए ।

प्रकाशित : फाल्गुन ११, २०७५ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?