२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

प्रदेशको नाममा सुझाव संकलन

हरि गौतम

रुकुम पूर्व — प्रदेश ५ मा भौगोलिक रूपमा सबभन्दा टाढाको जिल्ला रुकुम पूर्व हो । प्रदेशसभाले शनिबार यहाँ प्रदेशको स्थायी राजधानी र नामकरणको विषयमा सुझाव संकलन गरेको छ । सुझाव संकलनका लागि जिल्ला पुगेको प्रदेश सदस्यहरूको टोलीले सिस्ने गाउँपालिकाको रुकुमकोटबाट सुझाव संकलन सुरु गरेको हो । 

प्रदेशको नाममा सुझाव संकलन

सुझाव दिन रुकुमकोटमा जम्मा भएका जिल्लाबासीले प्रदेशसभाले संविधानको उल्लंघन गरेको बताए । प्रदेशको स्थायी राजधानी र नामकरण गर्ने अधिकार प्रदेशसभामा सुरक्षित रहेको भन्दै उनीहरूले सुझाव संकलनका नाममा अनावश्यक खर्च बढाएको र संविधानविपरीत काम गरेको आरोप लगाए ।


प्रदेशको स्थायी राजधानी र नामकरणको सुझाव दिन आएका भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढामगरले प्रदेशसभाले सुझाव संकलन गर्नुको औचित्य नरहेको बताए । उनले प्रदेशको राजधानी तथा नामकरणको सबै अधिकार प्रदेशसभामा रहेकाले जनभावनाअनुरूप नै प्रदेशसभाले उक्त काम गर्न सक्ने बताए । ‘यो अनावश्यक खर्च भयो,’ अध्यक्ष बुढामगरले भने, ‘प्रदेशसभामा जिल्लाबाट प्रतिनिधित्व भएकै छ, जिल्लाकै प्रतिनिधिले जिल्लाका जनताको भावना अनुसार नै निर्णय गर्ने हुँदा सुझाव संकलनका लागि कष्ट गर्नु उपयुक्त देखिएन ।’


उनले सुझाव संकलन समितिमार्फत सर्वसम्मत हुन नसके गोप्य मतदानबाट नभई खुला मतदानका आधारमा प्रदेशको स्थायी राजधानी र नामकरण टुंग्याउनुपर्ने सुझाव दिए । सिस्ने गाउँपालिका–५ का बलबहादुर शाहीले पनि सुझाव संकलनको खासै अर्थ नहुने बताए । ‘जनमतसंग्रह गर्न खोजिएको हो भने मात्रै सुझाव संकलन ठीक होला, अन्यथा प्रदेशसभाले थालेको यो कामको औचित्य देखिँदैन,’ शाहीले भने ।


सुझाव संकलन कार्यक्रममा सहभागी अन्य सर्वसाधारणले भौगोलिक रूपमा नजिक हुने गरी प्रदेशको राजधानी तोक्नुपर्ने बताए । जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका–२ बाट बुटवल पुग्न भौगोलिक हिसाबले धेरै टाढा पर्ने भएकाले भौगोलिक रूपमा नजिक राजधानी तोक्नुपर्ने उनीहरूको सुझाव थियो । प्रदेश नामकरणका सन्दर्भमा सुझाव संकलन टोलीले मिश्रित सुझाव पाएको छ ।


कतिले जातीय पहिचानका आधारमा मगरात–थारुवान वा थारुवान–मगरात नामकरण गर्न सुझाव दिए भने कतिपयले गौतमबुद्ध, लुम्बिनी प्रदेश राख्दा पनि फरक नपर्ने सुझाव दिएका छन् । टोलीले मौखिक मात्रै नभएर लिखित पनि सुझाव संकलन गरेको थियो । लिखित प्रश्न अप्ठ्यारा भएकाले सुझाव दिन समस्या भएको कतिपयले गुनासो गरे ।


सुझाव संकलन गर्न पुगेका प्रदेशसभा सदस्य दिनेश पन्थीले प्रदेशको स्थायी राजधानी तोक्न तथा नामकरणका लागि जनताको मत बुझ्न सुझाव संकलन थालिएको बताए । उनले पार्टीबाट माथि उठेर सबैको सहमतिमा प्रदेशसभाबाट सर्वसम्मत राजधानी र नामकरण गर्ने उद्देश्यले प्रदेशसभाले सुझाव संकलन गर्ने निर्णय गरेको बताए ।


सुझाव संकलनपछि प्रदेशको स्थायी राजधानी र नामकरण गर्न गठित विशेष समितिमा छलफल हुने र त्यसकै आधारमा सर्वसम्मत राजधानी तोकिने तथा नामकरण गर्ने तयारी रहेको अर्का सदस्य वीरबहादुर रानाले बताए । प्रदेशसभाले सर्वसम्मत प्रदेशको स्थायी राजधानी तोक्न तथा नामकरणका लागि भनेर विशेष समिति गठन गरेको छ ।


सुझाव संकलनका लागि प्रदेशसभा सदस्य पन्थी र रानाका साथ आशा स्वर्णकार पनि आएकी थिइन् । सुझाव संकलनमा सहभागी प्रतिनिधिसभा सदस्य कमला रोकाले सबै हिसाबले पायक पर्ने गरी सर्वसम्मत रूपमा प्रदेशको स्थायी राजधानी तोक्न तथा नामकरण गर्न सुझाव दिएकी थिइन् ।

प्रकाशित : फाल्गुन १२, २०७५ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?