कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कर्णाली पुल उच्च जोखिममा

कान्तिपुर संवाददाता

बर्दिया — थप बजेट अभावले कर्णाली नदीस्थित राजापुर हुँदै कैलाली जोड्ने कर्णालीमा निर्मित पुल जोखिममा परेको छ । पुल जोगाउन आवश्यक पर्ने थप एक पिलर (स्पान) निर्माण गर्न प्राविधिक टोलीले ६ महिनाअघि प्रतिवेदन पेस गरेको थियो ।

कर्णाली पुल उच्च जोखिममा

तर, अहिलेसम्म रकम थप नभएपछि पिलर निर्माणको काम अघि बढ्न सकेको छैन । वर्षाको समयमा पुल नै बाढीको जोखिममा पर्ने भएको हो । हुलाकी आयोजनाअन्तर्गत पुल जोगाउन थप पिलर बनाउन आवश्यक पर्ने बजेट केन्द्रसँग माग गरिए पनि अहिलेसम्म निकासा नभएको आयोजना प्रमुख युवराज पोखरेलले बताए । पिलर नबने सिंगो पुल नै बग्ने प्राविधिक टोलीको प्रतिवेदनमा उल्लेख छ ।


नदीले ४ वर्षअघि निर्माण गरिएको पुलको पूर्वतर्फको किनारा कटान गर्दै लगेपछि सिंगो पुल नै जोखिममा परेको हो । ४६ करोड लागतमा कर्णाली नदीमा ५ सय ३१ मिटर लामो पुल निर्माणाधीन छ । नदीको बहाव र कटान पूर्वतर्फ बढी भएकाले पुल जोगाउन लम्बाइ बढाएर थप एक पिलर राख्नुपर्ने सुझाव प्राविधिक टोलीले दिएको आयोजनाले जनाएको छ ।


गत साउनमा आएको बाढीले पुलमा भ्वाङ पारेको थियो । पछि टालटुल पारेर ढाकिएको छ । हस्तान्तरण नहुँदै पुल जोगाउन बनाएको तटबन्धनको दक्षिणपूर्वी भेग कटान गर्दै नदी अन्यत्रबाट बग्न थालेको छ । हुलाकी सडक आयोजनाअन्तर्गत निर्माणाधीन पुलमा १४ वटा पिलर निर्माण गर्ने सम्झौता छ । तर, कर्णाली नदीले धार परिवर्तन गर्दै गएपछि थप २ पिलर थप्नुपर्ने प्राविधिक टोलीले सुझाव दिएको हो । तर, एक पिलर निर्माणको अनुमानित लागत भने ४ करोड बढी छ ।


पुलको पूर्वपट्टि किनारामा कटान भइरहेको र ७५ मिटर तटीय भागमा पिलर वा भरपर्दो तटबन्ध नभए नदीले जुनसुकै बेला पनि धार परिवर्तन गरेर पुल नै धरापमा पार्ने खतरा बढेको उद्योग वाणिज्य संघ राजापुरका सचिव केदार थापाले बताए ।

प्रकाशित : फाल्गुन १२, २०७५ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?