१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

बल्कोट पौवा अलपत्र

वीरेन्द्र केसी

अर्घाखाँची — बहुमूल्य धातुजडित ऐतिहासिक बल्कोट पौवा अहिले अलपत्र परेको छ । ७ भवनमध्ये ५ वटा जीर्ण छन् । चर्किएका भवन वर्षौंदेखि संरक्षणको पर्खाइमा छन् । १९०३ मा तत्कालीन राणा प्रधानमन्त्री जंगबहादुर राणाले शासन आफ्नो हातमा लिएपछि उनका 
जेठान सनकसिंह कर्नेलले बल्कोट पौवा निर्माण गरेका थिए । जसलाई यहाँ परशुरामेश्वर गुठी भनिन्छ ।

बल्कोट पौवा अलपत्र

ऐतिहासिक कलाकृतिले सजिएको पौवा पछिल्लो समय पर्यटकीय स्थलका रूपमा विकास गर्नुपर्ने आवाज उठिरहेको छ । धार्मिक र ऐतिहासिक महत्त्व झल्काउने झ्याल, ढोका र भवन छन् । सिंगो भवन पुरानो र ऐतिहासिक छ । ०४० सालमा यो राजगुठीमा परिणत भएको थियो ।


महत्त्व बोकेको गुठी भत्किँदा जिल्लाको पर्यटकीय स्थलको गहना हराएर जाने चिन्ता बढेको स्थानीय विष्णुप्रसाद भुसालले बताए । ‘भवन संरक्षण गर्न सबै दलले पालिका, संघ र प्रदेश सरकारलाई बजेट विनियोजन गरेर ऐतिहासिक संरचनालाई जोगाई राख्न भनिरहेका छौं,’ उनले भने, ‘बल्कोट पौवा जुन कलाकृतिले निर्माण भएका छन्, यो ऐतिहासिक महत्त्व बोकेको पर्यटकीय स्थल हो, यसलाई राष्ट्रिय सम्पत्तिका रूपमा जोगाउनुपर्छ । यस्तो संरचनालाई लोप हुन दिनुहुँदैन ।’


छत्रदेव गाउँपालिका–२ मा रहेको उक्त गुठी जिल्लाको पर्यटकीय स्थल हो । यहाँ आएर धेरैले सेल्फी खिचेर सामाजिक सन्जालमा पोस्ट गर्छन् । पौवाको भवनमा सजाइएका भगवाना मूर्ति, विभिन्न कलाकृतिलाई द्वन्द्वको बेला तत्कालीन विद्रोही माओवादीले घरेलु हतियार प्रयोग गरेर मेटेका थिए । पौवा, मन्दिरमा सजावट गरिएका कृतिलाई पुनः संरक्षण गरिनुपर्ने बूढापाका बताउँछन् ।


द्वन्द्वका बेला कार्यरत कर्मचारी, पुजारीलगायत विस्थापित भएपछि संरक्षण हुन नसक्दा हेर्ने लायकका विभिन्न प्रकारका कलाकृतिसमेत हराएका छन् । ‘यहाँको महत्त्व नै कलाकृतिले सजाइएका आकृति हुन्, यिनको संरक्षण गरेपछि बल्ल धार्मिक पर्यटकीय स्थलको महत्त्व हुन्छ,’ बल्कोटका स्थानीय माधवराज पाण्डेले भने । जिल्लाको पूर्वी क्षेत्रको पर्यटकीय गन्तव्य हो ।


पौवा निर्माणपछि ८० कुरिया गुठी स्थापना गरे, जुन गुठीलाई परशुरामेश्वर गुठी भन्ने चलन छ । स्थानीय केही टाठाबाठाले गुठीसँगै बल्कोट पौवाको संरक्षण गर्ने नाममा ०४० सालमा गुठीलाई राजगुठीमा परिणत गराएका थिए । बितेका वर्षमा गुठी संरक्षणका नाममा विभिन्न धार्मिक कार्य भए पनि आर्थिक कारोबारसमेत सार्वजनिक गरिएको छैन ।


पुरातात्त्विक महत्त्व बोकेको ऐतिहासिक स्थल राजनीतिक खिचातानीका कारण पछिल्लो समय आएर संरक्षण हुन नसक्दा ओझेलमा परेको कतिपयको भनाइ छ । वर्षातका बेला गुठीको भवनको छानो खसेर पानी चुहिएपछि भवन भत्किएको स्थानीयबासीले बताए । कुदिएर रहेका ती कलाकृति हाल करोडौं रुपैयाँ खर्च गरेपछि बनाउन सक्ने कालिगढहरू पाउन नसकिने बल्कोटका स्थानीय बताउँछन् ।


पौवावरिपरि अत्याधुनिक कलाकृतिले कुदिएर र सजाएर राखिएका शिलालेखसमेत चोरी भएका छन् । त्यस्ता शिलालेख र कलाकृति नेपालका कुनै ठाउँमा थिएनन् तर पौवाको रेखदेख र संरक्षण गर्ने जिम्मा पाएका व्यक्तिको लापरबाहीले धार्मिक पर्यटकीय स्थल नै लोप भएर जाँदा गुठी नजिकका स्थानीयले चिन्ता व्यक्त गरेका छन् । भवनभित्र रहेका भगवाना कैयौं मूर्ति हराउनुका साथै भएका मूर्ति पनि संरक्षण नहुँदा जीर्ण छन् । पौवामा अहिले वडा कार्यालय छ । सरकारी काम, बैठक, तालिम, सभा सबै यहीं हुन्छन् ।


‘बल्कोट पौवा हाम्रो गहना नै हो,’ छत्रदेव–२ का वडाध्यक्ष राजेश पंथीले भने, ‘तीनै तहको सरकारबाट बजेट परेको छ । संरक्षण गरी लोप हुनबाट जोगाउँछौं ।’ ३ तहको सरकारबाट बजेट विनियोजन भएपछि कामको सुरुआत भएको छैन । भवनभित्रका कोठा संरक्षण गर्ने, पानी टयांकी मर्मत, मन्दिर, घण्टा र सिंगो पौवामा पुराना भएका काठ फेर्नेलगायतका कामका लागि संघ, प्रदेश र स्थानीय तहबाट ३० लाख रुपैयाँ बजेट परेको छत्रदेव गाउँपालिका अध्यक्ष लेखनाथ पोखरेलले बताए ।


डीपीआर तयार गरेर योजनाबद्ध ढंगले संरक्षणको काम अगाडि बढाइने उनले बताए । ‘निर्मित भौतिक संरचनाको संरक्षण गर्न बजेट खर्च गरिन्छ,’ उनले भने, ‘चिटिक्क पारिन्छ । हेर्नेलायक हुन्छ । पर्यटकीय गन्तव्य बनाइन्छ ।’

प्रकाशित : फाल्गुन १५, २०७५ ११:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?