२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

झरीले इँटा उद्योगमा क्षति

कान्तिपुर संवाददाता

नेपालगन्ज — पटक–पटकको झरीले बाँकेमा कृषि र इँटा उद्योगमा ठूलो क्षति पुगेको छ । फागुनको दोस्रो सातादेखि लगातार पानी परेको हावा पानी फिल्ड कार्यालयले जनाएको छ । झरीका कारण किसानका मसुरो, रहर, केराउ, चना, आलुमा क्षति पुगेको छ । 

झरीले इँटा उद्योगमा क्षति

लगातारको झरीले गहुँ पाक्न ढिलाइ हुने कृषि अधिकारीहरूले बताए । कृषि ज्ञान केन्द्र नेपालगन्जका प्रमुख सागर ढकालले लगातारको झरीले कृषिमा ठूलो क्षति पुगेको बताए । उनका अनुसार बारीमै रहेको आलु कुहिन थालेको छ । रहरको फूल झरेको छ । ‘लगातारको झरीले फाइदाभन्दा पनि बढी नोक्सानी पुर्‍याएको छ । किसानले हिउँदे बालीमा लगाएको परिश्रम खेर गएको छ,’ उनले भने, ‘तयार भइसकेको आलु सडेको छ ।’ तर, हालसालै लगाइएको मकै बालीलाई भने फाइदा पुगेको उनले बताए । सुरुको झरीले किसान खुसी थिए तर लगातारको झरीले हिउँदे बालीमा क्षति पुर्‍याएपछि चिन्तामा छन् ।


‘एक/दुई दिनको पानीले मलको काम गरेको थियो,’ खजुरा गाउँपालिकाका किसान राममनोहर लोनियाले भने, ‘तर, आवश्यकताभन्दा बढी पानी परेपछि हिउँदे बाली सखाप भयो ।’ उनले पानीले गहुँ पहेंलो भएको र मसुरो खेतमै कुहिन थालेको बताए ।


झरीले इँटा व्यवसायीलाई पनि क्षति पुर्‍याएको छ । ५ दर्जन उद्योगमा करोडौं मूल्यका इँटा पानीले नष्ट गरेको छ । पोल्न ठिक्क पारेको इँटा पग्लिएको छ । इँटा व्यवसायी हाजी रजब्ब अलीले झरीका कारण २५ लाख इँटा नोक्सान भएको बताए । झरीका कारण यस वर्ष व्यवसाय नै धरापमा परेको उनको गुनासो छ । झरीपछि चिसो बढेको छ ।


गर्मी सुरु हुने समयमा चिसो बढेपछि जनजीवन कष्टपूर्ण बनेको छ । चिसो हुने पुस/माघमा भने खासै जाडोको महसुस नगरिएको सर्वसाधारणले बताए ।

प्रकाशित : फाल्गुन १६, २०७५ १०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?