१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

धेरैले चाहे 'लुम्बिनी’ नाम 

जिल्लापिच्छे फरक–फरक राजधानी र नामकरणको दाबी गरिएको छ । प्रदेशसभा विशेष समितिले केही दिनदेखि स्थायी राजधानी र नामकरणका लागि विभिन्न जिल्लामा सुझाव संकलन थालेको छ । प्रायः जिल्लाले राजधानीमाथि दाबी गरेका छन् । धेरै जिल्लामा प्रदेशको लुम्बिनी नामकरण हुनुपर्ने राय संकलन भएको छ ।
प्रदेश ब्युरो

बुटवल — पाल्पाको तानसेनमा आयोजित सुझाव संकलन कार्यक्रममा सहभागीले नामकरण लुम्बिनी र स्थायी राजधानी बुटवल हुनुपर्ने सुझाव दिएका छन् । सहभागीले नामकरण ‘लुम्बिनी’ हुनुपर्नेमा जोड दिए भने स्थायी राजधानी बर्दियादेखि रुकुमपूर्वसम्मलाई सहज हुने स्थान रोज्न सुझाए ।

धेरैले चाहे 'लुम्बिनी’ नाम 

‘राजधानी सबै जिल्लालाई पायक पर्ने स्थानमा हुनुपर्छ भन्ने लाग्छ,’ नेकपाका नेता धनेन्द्रराज घिमिरेले भने, ‘यस विषयमा सबैको सुझावलाई कार्यान्वयन गर्नुपर्छ ।’ संघीयताको अनुभूति दिलाउन राजधानीमा सबैको सहज पहुँच हुनुपर्नेमा उनले जोड दिए । विभिन्न क्षेत्रबाट सहभागी सयभन्दा बढीले लिखित सुझावसमेत दिएका थिए ।


नागरिक समाजका अगुवाले अहिले जहाँ तोकिएको छ, त्यहीं नै पछि स्थायी हुनुपर्नेमा जोड दिए । जिल्ला कांग्रेस सचिव झपेन्द्र गहिरेले नाममा ‘लुम्बिनी’ उपयुक्त भएको बताए । उनले स्थायी राजधानीका विषयमा भैरहवा विमानस्थल र हरेक हिसाबले रूपन्देही ठीक हुने बताए । बर्दिया र रुकुमपूर्वलाई पनि यातायातको सहज पहुँच हुने रूपन्देही नै भएको उनले बताए ।


राजधानीलाई आवश्यक पर्ने भौतिक संरचना तयार हुँदै गएकाले पनि अब अन्यत्र सार्न नहुने उनको तर्क थियो । राजधानीलाई आवश्यक पर्ने प्राकृतिक स्रोत साधनका साथै अन्य हिसाबले पनि रूपन्देही उपयुक्त भएको रेडक्रस सोसाइटीका सभापति बुद्धिप्रसाद शर्माले बताए । समितिका संयोजक दीपेन्द्र पुनमगरले १२ जिल्लामा दुई/दुई जिल्ला हेर्ने गरी समूहले सुझाव संकलन गरिरहेको बताए ।


सबैको राय बुझेर मात्र निर्णय लिने भएकाले पनि यसरी लिखितै सुझाव संकलन गरिएको उनले बताए । पाल्पा र गुल्मीका लागि प्रदेशसभा सदस्य बाबुराम गौतम, भुवनेश्वर चौधरी, सहस्राम यादव खटिएका छन् । पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले पायक पर्ने स्थान बुटवल र लुम्बिनी नै स्थायी राजधानी र नामांकन हुनेपर्नेमा जोड दिए ।


राजधानी कपिलवस्तु

कपिलवस्तुका स्थानीयले जिल्लामा स्थायी राजधानी तोक्न सुझाव दिएका छन् । उनीहरूले नाम लुम्बिनी राख्न सुझाव दिए । यहाँ बुधबार आयोजित सुझाव संकलन अन्तर्क्रियामा बोल्दै कपिलवस्तुवासीले २६ सय वर्षअघि शाक्य गणराज्यको राजधानी रहेको ठाउँ आसपासलाई समेटेर स्थायी राजधानी बनाउन माग गरे ।


शान्ति र भ्रातृत्वका लागि विश्वले लुम्बिनीलाई चिनेकाले प्रदेशको नाम लुम्बिनी राख्नुपर्ने उनीहरूको सुझाव थियो । ‘प्रदेशको समृद्धिको आधार पर्यटन हो,’ कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष उमानाथ पौडेलले भने, ‘त्यसकारण प्रदेशको नाम र राजधानी पर्यटकीय स्थलमा हुनुपर्छ ।’ जिल्ला पुरातात्त्विक, ऐतिहासिक र सांस्कृतिक स्थलको संग्रहालय भएकाले राजधानी बनाउनुपर्ने कपिलवस्तु व्यापार संघका अध्यक्ष महादेव पोखरेलले बताए ।


‘त्यसकारण कपिलवस्तुलाई राजधानी तोक्नुको विकल्प छैन,’ उनले भने । ऐतिहासिक महत्त्वको ठाउँ भएको, विश्व सिमसार क्षेत्र रहेको र सांख्य दर्शनका प्रणेता कपिल महर्षिको तपोभूमि भएकाले राजधानीका लागि कपिलवस्तु उपयुक्त भएको तौलिहवा उद्योग वाणिज्य संघका अध्यक्ष गयाद्दिन चौधरीले बताए ।


अन्तर्राष्ट्रिय विमानस्थल नजिक, केन्द्रीय राजधानीका लागि नजिक र प्रदेशका सबै जिल्लाबाट आउन सहज सुविधा भएकाले कपिलवस्तु उपयुक्त भएको अधिकांश वक्ताको भनाइ थियो । त्यस्तै राजधानीका लागि प्रशस्त जग्गा पाउन सकिने र औद्योगिक क्षेत्रको विकासका लागि उपयुक्त ठाउँ यहीं रहेको उनीहरूले बताए ।


कपिलवस्तुलाई राजधानी बनाउँदा आवतजावत गर्न धेरै समय नलाग्ने र प्रदेश ५ को बीचमा पर्ने भएकाले सबैलाई पायक पर्ने उनीहरूले बताए । कार्यक्रममा कृष्णनगर नगरपालिकाका मेयर रजतप्रताप साह, शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारी, वाणगंगा नगरपालिकाका मेयर मंगलप्रसाद थारू र राजपाका कालिपद शर्मालगायतले पनि कपिलवस्तु राजधानी हुनुपर्ने सुझाव दिएका थिए ।


पायक स्थानमा

बाँकेका अगुवाले राजधानी सबै जिल्लाको पायक स्थानमा हुनुपर्ने सुझाव दिएका छन् । उनीहरूले संघीयताको अनुभूति दिलाउन सबैको सहज पहुँचमा राजधानी हुनुपर्ने बताए । त्यसका लागि बाँके उपयुक्त रहेको उनीहरूको दाबी छ ।


प्रदेश नामकरण र स्थायी राजधानीसम्बन्धी सुझाव संकलन विशेष समितिलाई बाँकेका अगुवाहरूले लिखित रूपमै सुझाव दिएका हुन् । सुझावमा बाँकेमा नभए दाङको भालुबाङमा राजधानी सहज हुने उनीहरूको भनाइ छ । राजधानीलाई आवश्यक पर्ने भौतिक संरचना र पर्याप्त खाली जग्गा बाँकेमा उपलब्ध छ । त्यस्तै राजधानीलाई आवश्यक पर्ने प्राकृतिक स्रोत साधन र पानी पर्याप्त रहेको दाबी गरिएको छ ।


विकासका लागि नागरिक समाजका अध्यक्ष कृष्ण श्रेष्ठले प्रदेश राजधानीका लागि आवश्यक पर्ने भौतिकलगायतका पूर्वाधार बाँकेमा उपलब्ध भएको बताए । उनले नेपालगन्जमा काठमाडौंपछिको ठूलो एयरपोर्ट रहेको र पहाडी जिल्लाका लागि पनि पायक पर्ने जनाए । ‘राजधानी तोक्दा बर्दिया हेर्नु पर्‍यो । रुकुमलगायतका जिल्ला हेर्नैपर्छ,’ उनले सुझाव दिए, ‘हालको अस्थायी राजधानी हाम्रा लागि अपायक छ । सुझाव संकलन टोलीले सबै कुरा मनन गरोस् ।’


जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजयकुमार श्रीवास्तवले बाँकेमा राजधानी नभए विकल्प दिनुपर्ने सुझाव दिए । ‘बाँकेमा भौतिक पूर्वाधार, जग्गाको उपलब्धता सबै कुरा उपयुक्त छ,’ उनले भने । नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले पायक पर्ने स्थानमा राजधानी नभए बाँकेवासीले आन्दोलन गर्ने चेतावनी दिए । उनले हरेक दृष्टिकोणले बाँके उपयुक्त रहेको दाबी गरे । ‘अपायक पर्ने स्थानमा राजधानी राखिए हामीलाई सहय हुने छैन,’ उनले भने ।


वरिष्ठ पत्रकार पूर्णलाल चुकेले राजधानीका लागि बाँके किन उपयुक्त भन्नेबारे लिखित सुझाव नै पेस गरे । उनले एयरपोर्ट, भारतको राजधानीसँगको कम दूरी, प्राकृतिक स्रोत साधन, भौतिक पूर्वाधारलगायतका एक दर्जन विशेषता विशेष समितिलाई बुझाए । बर्दियाका अगुवाले पनि प्रदेशका सबै बासिन्दालाई पायक पर्ने स्थानमा राजधानी हुनुपर्ने सुझाव दिएका छन् ।


उनीहरूले संघीयताको अनुभूति दिलाउन र सबैलाई सहज हुने ठाउँमा राजधानी हुनुपर्ने सुझाव दिएका छन् । जिल्ला समन्वय समितिका प्रमुख शंकर चौधरीले सबैलाई पायक पर्ने ठाउँमा राजधानी राखे उपयुक्त हुने बताए । बर्दिया तराई भए पनि सबैभन्दा पिछडिएको भएकाले यसको विकासमा जोड दिनुपर्ने सुझाव दिएका थिए । सुझाव संकलन विशेष समितिका सदस्य विष्णु पन्थीले जिल्लाबाट प्राप्त सुझाव प्रदेश सरकारलाई बुझाउने बताए ।


राजधानी दाङ

दाङको घोराही र तुलसीपुरमा मंगलबार प्रदेश ५ को स्थायी राजधानी र नामकरणसम्बन्धी सुझाव संकलन भएको छ । नागरिकले सबैलाई पायक पर्ने, पर्याप्त संरचना निर्माणका लागि जग्गा भएको, सुरक्षाका हिसाबले अनुकूल र पानी तथा वातावरण स्वच्छ भएको स्थानलाई राजधानी तोक्न सुझाव दिएका छन् । सुझाव संकलन कार्यक्रममा बोल्ने वत्ताले राजधानीका लागि दाङ उपयुक्त भएको दाबी गर्दै विभिन्न आधार प्रस्तुत गरेका छन् । नामकरणमा भने अधिकांशले लुम्बिनी प्रदेश राख्नुपर्ने बताएका छन् ।


भूगोलका हिसाबले दाङ मध्यविन्दुमा पर्ने उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालले बताए । नवलपरासीबाट करिब १ सय ९०, बर्दियाबाट १ सय ९०, रुकुमपूर्वबाट २ सय १०, गुल्मी उत्तरी भागबाट १ सय ५० र पाल्पा पूर्वी भागबाट २ सय १० किलोमिटर पर्ने भएकाले दाङ केन्द्रमा पर्ने उनको दाबी थियो ।


भौतिक पूर्वाधारका हिसाबले तुलसीपुर अञ्चल सदरमुकाम भइसकेको, घोराही जिल्ला सदरमुकाम भएको र लमही उदाउँदो सहर भएकाले यी क्षेत्रमा पर्याप्त भवन रहेको नागरिक समाजका संयोजक चन्द्रराज पन्तले बताए । बेलझुण्डीमा १ सय ८ कोठे भवन निर्माण भएको, जिल्लाको उत्तरी भागमा प्रशस्त पानीका स्रोत भएको, हवाई र स्थल यातायातको सहज पहुँच भएको, सुरक्षाका हिसाबले अनुकूल रहेको र बस्ती विस्तारको प्रशस्त सम्भावना भएकाले दाङलाई राजधानी बनाउन उपयुक्त हुने जिल्ला वन उपभोक्ता महासंघका अध्यक्ष भूपेन्द्र सुवेदीले बताए ।


संवाद समूहले तुलसीपुरमा आयोजना गरेको छलफलमा बोल्ने अधिकांश वक्ताले पानीको प्रचुरता, पर्याप्त जमिन, कृषि उत्पादनको भण्डार र सुरक्षाका हिसाबले दाङलाई राजधानी बनाउनुपर्ने तर्क गरे ।


तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष वीरबहादुर रावत, ज्येष्ठ नागरिक सरोकार केन्द्र तुलसीपुरका अध्यक्ष खुमानन्द अधिकारी, मावि सेन्टरका प्रधानाध्यापक भागवत् पौडेल, तुलसीपुर उपमहानगरपालिकाका सूचना अधिकारी झरेन्द्र खरेल, बेसका चुर्ण चौधरी, मजदुर टोपबहादुर महतरा र अपांग संघका हुमाकान्त कँडेलले सबैलाई न्याय हुने गरी राजधानी तोक्न सुझाव दिएका थिए ।


सुझाव संकलन गर्न आएकी सांसद् निर्मला क्षत्रीले सबैलाई न्याय हुने गरी राजधानी तोकिने बताइन् । जनताका सुझावलाई आधार मानेर राजधानी र नामकरणको टुंगोमा पुग्ने उनले बताइन् ।

प्रकाशित : फाल्गुन १६, २०७५ ११:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?