एकैपटक ४ सय ९० भिक्षु

नव प्रवेशी भिक्षुलाई बुद्ध जीवनी, लुम्बिनीको इतिहास, बौद्ध शिक्षाको महत्त्व, बुद्धले पाएको कष्ट, भिक्षु जीवन, विश्व बन्धुत्व र भाइचारालगायतका विषयमा ज्ञान दिइएको छ
मनोज पौडेल

लुम्बिनी — बुद्ध जन्मस्थल लुम्बिनीमा शुक्रबार छुट्टै माहोल थियो । जता हेर्‍यो उतै पहेलो वस्त्रधारी भिक्षु नै भिक्षु देखिन्थे । लुम्बिनी भिक्षुमय बनेको थियो । यसको कारण शुक्रबार ४ सय ९० श्रामनेर सामूहिक रूपमा प्रवज्या लिएर भिक्षु बनेका छन् । श्रामनेर भनेको भिक्षु जीवनमा प्रवेश गर्नु हो । 

एकैपटक ४ सय ९० भिक्षु

शान्तिका अग्रदूत भगवान् गौतम बुद्धका अनुयायी बन्न कठिन परिश्रम र संघर्षबाट मात्र बन्न सकिन्छ भन्ने अनुभूति दिलाउन उनीहरूलाई पारिवारिक मायामोहबाट अगल बनाइएको थियो । त्यसका लागि केही दिनदेखि दिक्षा दिइँदै आएको थियो । नवप्रवेशी भिक्षुलाई ७५ नियम र १० शील सिकाइएको छ ।


यस्ता नियम राम्ररी व्यवहारमा उतारेमा २/४ महिनामै कार्यक्रम गरेर पूर्ण भिक्षु बनाइने भिक्षु धर्मपाल महाअस्थवीरले बताए । नेपाल भिक्षु महासंघको स्वीकृति लिएर जहिले पनि भिक्षु बनाउन सकिने उनले बताए । नव प्रवेशी भिक्षुलाई बुद्ध जीवनी, लुम्बिनीको इतिहास, बौद्ध शिक्षाको महत्त्व, बुद्धले पाएको कष्ट, भिक्षु जीवन, विश्व बन्धुत्व र भाइचारालगायतका विषयमा ज्ञान दिइएको थाइल्यान्डका भिक्षु थाह वरोले बताए ।


उनीहरूलाई लुम्बिनीस्थित मायादेवी मन्दिरमा नेपालका प्रथम महासंघनायक भिक्षु भदन्त प्रज्ञानन्द महास्थवीरको १ सय २९ औं जन्म जयन्तीको अवसर पारेर नेपाली कुलपुत्रलाई प्रवज्जित गर्ने कार्यक्रम राखिएको स्थानीय आयोजक प्रवीण शाक्यले बताए । भिक्षु जीवनमा प्रवेशसँगै उनीहरूले बुद्ध शिक्षा, शील र चिबर लिएर भिक्षु जीवन धारण गरेका छन् । उनीहरूलाइ थाई भिक्षु लम्पीमेन थावतले ध्यान गर्ने तरिका सिकाएका थिए ।


थाईल्यान्डका ठूला भिक्षु फ्रामहाबाधी वंशाचानले सबै श्रामनेरलाई शील चिबर प्रदान गरे । लुम्बिनीको पवित्रता र महिमा उजागर गरी शान्ति र भ्रातृत्वको सन्देश फैलाउन कार्यक्रम गरिएको हो थाई भिक्षु फ्रा महाबाधी वंशाचानले प्रवचन दिँदै सबैलाई अनुसाशित भएर शील पालना गर्न आग्रह गरे । ‘विश्व शान्तिका स्थलमा प्रवज्जित हुन पाउनु गर्वको कुरा हो, उनले भने, ‘थाइल्यान्डमा लुम्बिनीमा दीक्षा दिन भिक्षु तँछातमछाड गर्छन् । तपाईंहरू भाग्यमानी हुनुहुन्छ ।’


एकै पटक १ हजार १ सय १९ जनाले प्रवज्या लिने कार्यक्रम भए पनि ४ सय ९० जनाले माक्र लिए । यो कार्यत्रम २३ दिनको हो । २३ दिनसम्म उनीहरूलाई बुद्ध शिक्षा र व्यवहार सिकाइने छ । ४ दिनअघि लुम्बिनी आएका श्रामनेर मायादेवी मन्दिरमा प्रवज्जित भएका थिए । फागुन १८ लुम्बिनीमा भिक्षाटन गरी श्रामनेर काठमाडौं फर्किनेछन् ।


फागुन २९ गते फेरि बुटवल, पाल्पा लगायतका देशका विभिन्न सहरमा भिक्षाटनको कार्यक्रम राखिएको छ । ३० गते शान्तिदीप प्रज्वलन गर्ने र चैक्र ३ मा कार्यत्रम समाफन गरिनेछ । कार्यक्रममा दिवंगत मन्त्री रवीन्द्र अधिकारीको स्मृतिमा एक मिनेट मौनधारण गरिएको थियो । त्यस्तै लुम्बिनी विकास कोषले मन्त्री अधिकारी स्मृतिमा शुत्रबार साँझ मायादेवी मन्दिर नजिक पुष्करणी पोखरी परिसरमा १ सय २८ दीप प्रज्वलन गरेको थियो ।


बुद्धधर्म अनुसार शाक्यमुनिहरू एक दिनका लागि भए पनि भिक्षु बन्नैपर्छ भन्ने मान्यता रहेको छ । प्रवज्या लिएपछि कतिपय भिक्षु हुन्छन् । कतिपय फेरि गृहस्थी जीवनमा फर्किन्छन् ।

प्रकाशित : फाल्गुन १८, २०७५ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?