१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

अनुदान र मूल्य समर्थनले किसानमा उत्साह

घनश्याम गौतम

गुल्मी — व्यावसायिक किसानलाई प्रोत्साहन गर्न मुसिकोट नगरपालिकाले कृषि ऋणको ब्याजमा ५० प्रतिशत अनुदानसहित कृषिजन्य उत्पादनको मूल्य समर्थन नीति अघि सारेपछि युवा किसान उत्साहित भएका छन् । मूल्य समर्थन नीतिले उत्पादित वस्तुको बजारीकरणमा किसानलाई ढुक्क बनाएको छ ।

नगरपालिकाले समृद्धिको मुख्य आधार, कृषि, पर्यटन र उद्योगलाई बनाएर काम सुरु गरेको हो । कृषि अन्तर्गत सीप, प्रविधि, अनुदान र मूल्य समर्थनलाई नगरपालिकाले मुख्य प्राथमिकताका साथ अगाडि सारेको छ ।


सीपअन्तर्गत व्यावसायिक कृषिमा लाग्न चाहने किसानलाई आवश्यकता अनुसारको सीप दिने, दोस्रोमा प्रविधिमा आवश्यकताअनुसार दक्ष बनाउने, तेस्रो आवश्यकता अनुसारको ऋण र ब्याजमा अनुदान दिने र चौथोमा किसानले उत्पादन गरेको कृषिजन्य वस्तुको बजार मूल्य निर्धारण गर्ने र त्यसभन्दा न्यून मूल्य भएमा नगरपालिका आफैंले किसानलाई थप रकम उपलब्ध गराउने नीति र कार्यविधि बनाएर कार्यान्वयन पनि सुरु गरेको हो ।


नगरप्रमुख सोमनाथ सापकोटाले व्यावसायिक कृषिमा लाग्न चाहने तर सीप, प्रविधि, आर्थिक र बजार समस्याबाट त्रस्त किसानलाई ढुक्कसँग कृषिमा लाग्न सक्ने वातावरण तयार गर्न नगरपालिकाले कृषिको आधुनिकीकरण र व्यवसायीकरणको नीति अघि सारेको बताए । त्यसका लागि चालु वर्षमा मात्र ४ करोड रुपैयाँ बढी बजेट विनियोजन गरिएको छ । ‘यो पहिलो वर्ष थियो, त्यसैले बजेट न्यून नै छ,’ उनले भने, ‘तर, किसानबाट देखिएको उत्साहले अर्को वर्ष बजेट थप गर्नैपर्ने अवस्था देखाएको छ ।’ लगानीमा सहुलियत, ऋणको ब्याजमा अनुदान र बजार सुनिश्चितता नीतिले किसानमा उत्साह थपेको उनले बताए ।


कार्यविधिअनुसार सीपअन्तर्गत किसान आफैंले गर्न चाहेको व्यवसायलाई सहयोग पुग्ने गरी पहिलो चरणमा सीप सिकाइन्छ । प्रविधिअन्तर्गत किसानको व्यवसायका लागि आवश्यकताअनुसार औजार उपलब्ध गराइन्छ । त्यसमा किसानको भुक्तानीका आधारमा ५० प्रतिशत लागत नगरपालिकाले दिन्छ । तेस्रोमा छनोटमा परेका किसानलाई २ देखि १० लाख रुपैयाँसम्मको ऋणका लागि बैंकमा नगरपालिकाले सिफारिस गर्छ ।


किसानले पाएको ऋणको ५० प्रतिशत ब्याज नगरपालिकाले भुक्तानी गर्ने गरी कार्यविधि बनाएर बैंकसँग सम्झौता गरिएको छ । नगरपालिकाले वामीमै रहेको ग्लोबल आईएमई बैंक, साइन रेसुंगा बैंक र बडागाउँको साना किसान सहकारीसँग सम्झौता गरेको निमित्त कार्यकारी अधिकृत नवराज भण्डारीले बताए । ब्याज अनुदानका लागि नगरपालिकाले बैंकमा ‘ब्याज अनुदान खाता’ खोलेर २५ लाख रुपैयाँ जम्मा गरिसकेको छ । त्यसबाट किसानको ब्याज समेत भुक्तानी भइरहेको उनले बताए ।


नगरपालिकाको व्यावसायिक कृषि प्रवर्द्धन र आधुनिकीकरण योजनाले सबै वडामा युवा किसान उत्साहित भएको मुसिकोट नगरपालिका–८, मैदानका किसान गणेश कँडेलले बताए । उनले नगरपालिकाको योजना अनुसार अहिले २ हजार कुखुरा पाल्दै आएका छन् । ‘अब छिट्टै ३ हजार पुर्‍याउँदै छु,’ उनले भने, ‘नगरपालिकाले सीप, प्रविधि, अनुदान र बजार सुनिश्चिततासमेत गरिदिएकाले हामीले उत्पादन गरे मात्र पुग्छ ।’


बैंकबाट नगरपालिकाकै सिफारिसमा १० लाख रुपैयाँ ऋण लिएको र त्यसको ब्याजको ५० प्रतिशत रकम नगरपालिका आफैंले तिरिदिने भएकाले ऋणमा समेत किसानलाई कुनै तनाव भोग्नु नपरेको उनले बताए । नगरपालिकाका ९ वडामा अहिले उनीजस्तै ३० युवा किसान उत्पादनमा लागेका छन् ।


नगरपालिकाले किसानलाई उपलब्ध गराउने सबै सुविधा प्राप्त गर्न किसानले आफ्नो व्यवसायको स्पष्ट खाकासहित नगरपालिकाको कृषि शाखामा निवेदन दिनुपर्नेछ । त्यो नगरपालिकाको आर्थिक विकास समितिको कृषक छनोट समितिमा पुग्छ । छनोट कृषकलाई समितिले बैंकमा सिफारिस गर्ने र त्यही सिफारिसका आधारमा बैंकले आवश्यक प्रक्रिया पूरा गरेर ऋण उपलब्ध गराउने वडाध्यक्ष एवं आर्थिक विकास समिति अध्यक्ष प्रकाश काफ्लेले बताए । ‘यो कार्यक्रम नितान्त व्यावसायिक किसान उत्पादन गर्ने उद्देश्यका लागि हो,’ उनले भने, ‘त्यसमा पनि युवा प्राथमिकतामा छन् ।’


नियमित कृषिकर्म गरिरहेका तर सीप, प्रविधि र लगानी अभावले समस्यामा परेका किसानलाई प्राथमिकतामा राखेर छनोट गरिएको उनले बताए । त्यसबाहेक नगरपालिकाले कफी र फलफूल उत्पादन गर्ने किसानलाई समेत छुट्टै सुविधा दिने गरेको छ । मुसिकोट नगरपालिका कफी उत्पादनमा जिल्लाकै अग्रणी स्थानीय तह हो । त्यसलाई प्राथमिकतामा राखेर १ सय बोट कफी रोप्ने किसानलाई १० हजार रुपैयाँ अनुदान दिन्छ । बोटको संरक्षण गरेर ४ वर्षमा उत्पादन लिने गरी पहिलो वर्ष ५ हजार उपलब्ध हुन्छ ।


दोस्रो वर्ष नगरपालिकाले निरीक्षण गरी बोटको स्यहारसुसार राम्रो भएको र किसानले कफीमा गरेको परिश्रमका आधारमा ३ हजार र अन्तिम वर्ष फल लाग्ने अवस्थामा पुर्‍याएपछि थप २ हजार अनुदान पाउने कार्यविधि छ । त्यस्तै कम्तीमा ३ रोपनी जग्गामा एकै जातका फलफूल लगाउने किसानलाई पनि प्रतिबोट १ सय ५० रुपैयाँ अनुदान छ । त्यसमा छिटो आम्दानी दिने र बजारमा बढी माग भएका फलफूलका बिरुवा रोप्नेलाई प्राथमिकता छ । त्यही योजना अन्तर्गत गत वर्ष २५ हजार नयाँ कफीका बोट रोपिएकामा यस वर्ष ४० हजार बोटका लागि किसानबाट माग आएको नगरपालिकाले जनाएको छ ।


हरेक वर्ष किसान उत्पादन वृद्धि गर्ने र उत्पादकत्वसमेत बढाउने गरी अन्य किसानलाई मागका आधारमा प्रतिकिसान ३ लाख रुपैयाँसमेत अनुदान दिन्छ । त्यसरी हरेक वर्ष पशुपालन र उन्नत कृषि प्रविधिमा लाग्ने १० किसान छनोट गर्दै अनुदान उपलब्ध गराउने प्रमुख सापकोटाले बताए । ‘नगरपालिकाको अनुदान नीतिले अहिले बाख्रा, कुखुरा, माछा पालन गर्ने व्यावसायिक किसान बढेका छन्,’ उनले भने, ‘अन्य कृषिजन्य उत्पादनमा पनि उस्तै उत्साह छ ।’ नगरका ९ वटै वडामा व्यावसायिक किसान बढेको उनले बताए ।

प्रकाशित : फाल्गुन १९, २०७५ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?