१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

ओझेलमा डमरु दह

वीरेन्द्र केसी

अर्घाखाँची — सन्धिखर्क–गोरुसिंगे सडक खण्डको ठाडामा रहेको डमरु दह ६ फिट गहिरो छ । ५२ रोपनी क्षेत्रफलमा फैलिएको यसमा कहिल्यै पानी सुक्दैन । अहिले यो दह धार्मिक पर्यटकीय स्थल सुपादेउराली दर्शन गर्न जाने तीर्थालुको एकछिन सुस्ताउने स्थल बनेको छ । शीतगंगा नगरपालिका–३ मुख्य सडकको छेवैमा रहेको यो ताल संरक्षणको अभावमा अहिले अलपत्र छ ।

ओझेलमा डमरु दह

दह संरक्षण गरी पर्यटकीय स्थल, डुंगा सयर र हेर्नलायक बनाएमा पर्यटकीय गन्तव्य बन्ने ताल संरक्षण समितिका अध्यक्ष महेन्द्र श्रेष्ठले बताए । ‘सम्भावना छ तर दीर्घकालीन योजना भएन,’ उनले भने, ‘पर्यटन मन्त्रालय, नगरपालिकाबाट परेको केही रकमले वाल, जाली लगाउने काम भए पनि ठूलो बजेट अभावमा संरचना निर्माण गर्न सकिएको छैन ।’ दहलाई सफा र चिटिक्क पार्न पनि मोटो रकम आवश्यक पर्ने उनले बताए ।


वर्षामा चारैतिरबाट भेल पस्छ । धमिलो पानीसहितको लेदो पस्दा दह पुरिँदै गएको स्थानीय नरेन्द्र श्रेष्ठले बताए । व्यवस्थित बनाएर दहमा डुंगा चलाउन सके धेरै पर्यटक भुल्ने उनले बताए ।


पर्यटक भित्र्याएर भुलाउन पहिला संरचना चाहिन्छ । भुल्न थालेपछि स्थानीय स्वरोजगार बन्न गाह्रो नभएको स्थानीय कमानसिंह दर्लामीले बताए । पर्यटकीय गन्तव्य बनाउन सकिने प्रचुर सम्भावना छ तर प्रचारप्रचार अभाव र संरचना निर्माण नहुँदा ऐतिहासिक दह ओझेलमा परेको नेकपा शीतगंगा नगर अध्यक्ष वसन्त श्रेष्ठले सुनाए ।


‘संघ, प्रदेश र स्थानीय तहले आवश्यक बजेट विनियोजन गरे संरचना निर्माण गर्न समस्या छैन,’ उनले भने, ‘लोभलाग्दो यस पर्यटकीय स्थललाई यत्तिकै विलीन हुन दिनु भएन ।’ जिल्लाको दक्षिणी क्षेत्रको संगमस्थल हो, ठाडा । यहाँबाट सदरमुकाम र तराईका कपिलवस्तु, रूपन्देही, नवलपरासीसम्म दैनिकजसो गाडी चल्छन् । ‘सडकसँग जोडिएकाले संरचना बनाएपछि पर्यटक नआउलान् भन्ने छैन,’ कांग्रेस शीतगंगा नगर सभापति मोती बेल्बासेले भने, ‘अथाह सम्भावना बोकेको ऐतिहासिक दह हो यो ।’


ताल क्षेत्रलाई प्लास्टिकमुक्त बनाउन यस क्षेत्रका महिलालाई दुना–टपरी बनाउने तालिम दिएको नगर प्रमुख सूर्यप्रसाद अधिकारीले बताए । पहिला सफा सुग्घर बनाएपछि आउँदो वर्षमा गुरुयोजना बनाई बजेट विनियोजन गरी काम अगाडि बढाउने गृहकार्य भइरहेको उनले सुनाए । ‘सभाहलमा नगरका बैठक र विभिन्न कार्यक्रम हुन्छन् । केही तनाव भयो भने दहको छेवैमा एकछिन बसेपछि फ्रेस भइन्छ,’ उनले भने, ‘सुपादेउराली, डमरु दह र वाणगंगा धामलाई जोड्ने गरी गुरुयोजना बनाउँदै छौं ।’


पर्यटकलाई बास बसाल्न होमस्टे खोलिने, धेरै पर्यटक भित्र्याएर स्थानीयलाई स्वरोजगार बनाउने कार्यक्रम पनि रहेको उनले सुनाए । नियम बनाएर डुंगा सञ्चालन गर्न यसै वर्ष ५ लाख रुपैयाँ बजेट छुट्याइएको र छिट्टै दहमा डुंगा चलाउने गरी अध्ययन भइरहेको उनले बताए ।


गर्मीको समयमा दहमा पानीको सतह कम हुन्छ । बाह्रै महिना एउटै सतहमा पानी राख्न वैकल्पिक उपाय खोजिँदैछ । दहमा पानीको सतह घट–बढ हुन नदिने गरी कार्यक्रम तर्जुमा गरिरहेको वडा–३ का अध्यक्ष हेमनाथ भुसालले बताए । हरेक निर्वाचनमा उम्मेदवार र दलका नेताले दह संरक्षण गरी पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने भनेर प्रतिबद्धता जनाउने गर्छन् । तर, जनप्रतिनिधिले दह संरक्षण र पर्यटन प्रवर्द्धनको नारा अघि सारे पनि अहिलेसम्म कामको सुरुवात भने भएको छैन ।

प्रकाशित : फाल्गुन २३, २०७५ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?