शौचालयमा पराल

मधु शाही

बाँके — कोहलपुर नगरपालिका–१४ पार्वतीपुरका अधिकांश स्थानीयवासी शौचालय प्रयोगका बारेमा अनभिज्ञ छन् । त्यसैले उनीहरूले शौचालयमा पराल, दाउरा र विभिन्न घरायसी सामान राखेका छन् । यहाँका शौचालय हेर्दा ‘स्टोर रुम’ जस्तै देखिन्छन् । कतिपय शौचालय जीर्ण छन् । मर्मतसम्भार गरेर प्रयोगमा ल्याउनुपर्छ भन्ने चेतनाको पनि अभाव छ । 

कतिपयले भएका शौचालय प्रयोग गरेका छैनन् भने कतिले बनाएकै छैनन् । ४५ वर्षीया बेलकुमारी उपाध्यायले झन्डै ७ हजार रुपैयाँको लगानीमा ३ वर्षअघि शौचालय बनाइन् । ढोका हाल्न नभ्याउँदै उनले शौचालय अन्य प्रयोजनमा लगाइन् । अहिले त्यहाँ उनले गाईभैंसीलाई आवश्यक पर्ने पराल थन्काएकी छन् । ‘गतिलो गोठ छैन, पराल बर्खामा भिज्छ भनेर चर्पीमै राख्न थालें,’ उनले भनिन्, ‘हामी बाहिरै जान्छौं दिसापिसाब लागे ।’

साबिकको शमशेरगन्ज गाविसले ४ वर्षअघि शौचालय नबनाए कुनै पनि सरकारी सुविधा नपाउने नियम बनायो । त्यही बाध्यतामा यहाँ केही शौचालय बने । यद्यपि, तिनको प्रयोग भएन । अनुगमन पनि भएन । ४५ वर्षीया भागमती बर्माले शौचालय बनाउँदा ११ हजार रुपैयाँ खर्च लागेको सुनाइन् । त्यति हुँदाहुँदै पनि उनले ढोका र माथिको छानो हाल्न कन्जुस्याइँ गरिन् ।

‘शौचालय नबने गाविसले काम रोक्थ्यो,’ उनले भनिन्, ‘त्यसैले बनाउन थालेको । छानो र ढोका नराख्दै नियम फेरियो ।’ ढोका र छानो नहुँदा उनको शौचालय प्रयोगविहीन बनेको छ । उनकी बुहारी पूजा बर्माले ढोकै नभएको शौचालय प्रयोग गर्नु असुरक्षित महसुस भएको बताइन् । ‘त्यहाँ शौच गर्नुभन्दा बरु झाडीतिर लुकेर बस्छौं,’ उनले भनिन्, ‘कसले ढोका राखिदन्छ र ? आफूसँग पैसा छैन ।’

शौचालयको विषयमा सबैभन्दा समस्या महिलालाई पर्छ । परिवारले आवश्यक नठानेपछि पूजाजस्ता थुप्रै बुहारी र छोरी बाध्यताले खुला स्थानमा दिसा–पिसाब गर्न बाध्य छन् । ढोका र छत नभएकोशौचालय साना नानीहरूको खेल्ने थलो बनेको उनले बताइन् ।
३५ वर्षीया सुहारादेवी अहिरको शौचालय पनि जीर्ण छ । ३ वर्षअघि बनाएको उक्त शौचायलय मर्मत गर्नेतर्फ उनको चासो छैन । ‘खर्च मात्र बढाउन किन बनाउने ?,’ उनले भनिन्, ‘ट्वाइलेटमै कति खर्च गर्नू ? कमाइधमाइ केही छैन ।’

सञ्जय हरिजनको घरमा शौचालय छ । उनले त्यसमा व्यवस्थित रूपले दाउरा राखेका छन् । ७० वर्षे खोडाइ लोनियाको गोठभित्रै शौचालय छ । छोरो विदेश जान गाविसले कागज नबनाइदिएपछिउनले शौचलाय बनाउनु परेको थियो । त्यसबेला निर्माण गरेको शौचालयमा अहिले पनि ढोका छैन ।

उनले शौचालय प्रयोग गर्दै आएको दाबी गरे पनि प्रयोग भएको देखिँदैन । त्यसमा दाउरा र घरायसी सामग्री राखिएको छ । बस्तीकै पाका र वृद्ध ज्यागेश्वरलाल यादवले अधिकांशले शौचालय बनाए पनि प्रयोग र मर्मतको समस्या रहेको बताए । ‘केही संस्थाले शौचालय बनाइदिए तर सदुपयोग भयो कि भएन भनेर बुझ्न कोही आएका छैनन्,’ उनले भने, ‘शौचालय किन प्रयोग गर्ने भन्ने नै धेरैलाई थाहा छैन ।’

कोहलपुर–१४ का वडाध्यक्ष टेकचन हरिजनले पटक–पटक अनुगमन गर्दा पनि शौचालयको सोचमा परिवर्तन ल्याउन नसकिएको बताए । ढोका नभएका शौचालय प्रयोग गर्दा दुर्गन्ध फैलिएर उल्टै फोहोर हुने उनले सुनाए ।

खुला ठाउँलाई शौचालयका रूपमा प्रयोग गर्दा झाडापखालाका बिरामी बढ्ने कुरा गाउँलेलाई सम्झाउँदा सम्झाउँदै थाकिसकेको उनले बताए । ‘पटक्कै सुन्ने र टेर्ने होइनन्,’ उनले भने, ‘फेरि अनुगमन गरेर सम्झाउँछौं । अब पनि मानेनन् भने बाध्यकारी नीति ल्याउने सोचमा छौं ।’

प्रकाशित : फाल्गुन २३, २०७५ १०:२२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

नेताप्रति रोल्पालीको गुनासो : विकास गर्छु भन्छन्, गर्दैनन्

तत्कालीन माओवादी नेतामध्ये सबैभन्दा बढी अवधि तथा दोहोरिएर उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी लिने अवसर पाएका महराले जिल्लाको विकासका लागि त्यस अवधिमा चासो नदिएको जिल्लावासीको आरोप
काशीराम डाँगी

रोल्पा — सभामुख कृष्णबहादुर महरा तिहार मान्न रोल्पा आएका बेला जिल्लाको विकासबारे स्थानीयसँग छलफल गरे । पटक–पटक उपप्रधानमन्त्री र प्रभावकारी मन्त्रालयको नेतृत्व गरिसकेका उनले तत्कालीन सशस्त्र द्वन्द्वबाट भौतिक विकास गर्न कठिनाइ भए पनि अहिले अवसर मिलेको धारणा राखे ।

बहुमतको सरकारले यहाँको विकासमा विशेष ध्यान दिन पनि उनले आग्रह गरे । ‘धेरै नेता जन्माउने’ जिल्लाका रूपमा चिनाउँदै सबैले साथ दिएमा यहाँको विकास चाँडै सम्भव हुनेसमेत उनको तर्क थियो ।

‘महरा सरले जिल्लाको विकासमा चासो दिएको पाइयो । विकास योजना निर्माणका क्रममासमेट्नैपर्ने क्षेत्रबारे छलफल पनि गर्नुभयो,’ महराका चेलासमेत रहेका अधिकारकर्मी घनश्याम आचार्यले भने, ‘रोल्पाबाट केन्द्रीय राजनीतिमा नेतृत्व गर्दै आएका नेताहरूले उतिबेलै विकास योजना बनाएको भए विकास भइसक्थ्यो ।’ महरालगायत केन्द्रीय नेतृत्वका नेताहरूले सुरुदेखि नै चासो दिएको भए अहिलेसम्म रोल्पा फेरिइसक्ने उनको धारणा छ ।

आफैंले पढे–पढाएको विद्यालयमा आएका बेला सभामुख महराले जिल्लाको विकास गरी स्थानीय तहमै रोजगारको अवसर दिन आग्रह गरे । उनले त्यसका लागि जिल्लाबाट निर्वाचित नेता र मन्त्रीसँग समन्वय गर्ने प्रतिबद्धतासमेत जाहेर गरे । सदरमुकाममा रहेको बालकल्याण नमुना माध्यमिक विद्यालयको भौतिक र शैक्षिक विकासका लागि आर्थिकलगायतको सहयोग गर्ने उनले प्रतिबद्धता जनाएका छन् । सभामुख भएकै बेला उक्त विद्यालय परिसरमा करोडौंको लगानीमा बहुउद्देश्यीय भवन निर्माण गर्न राज्य तहबाट सहयोग जुटाइदिने महराले जिम्मेवारीसमेत लिएका छन् । ०४८ को पहिलो आमनिर्वाचनबाटसंसद्मा निर्वाचित हुनुअघि महराले उक्त विद्यालयमा १२ वर्षसम्म पढाएका थिए ।

त्यसै विद्यालयमा माध्यमिक तहसम्म पढेका महराले उक्त विद्यालयमा पछि विज्ञान विषय पढाएका थिए । तत्कालीन जनमोर्चाका तर्फबाट रोल्पाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि ५ वर्षे कार्यकाल पूरा नहुँदै डा. बाबुराम भट्टराईसहित महरा तत्कालीन कांग्रेस सरकारसमक्ष ४० बुँदे मागपत्र बुझाएरभूमिगत भएका थिए ।

महराले त्यसै विद्यालयमा हालका उपराष्ट्रपति नन्दबहादुर पुन, ऊर्जामन्त्री वर्षमान पुन, नेकपा नेता नेक्रवित्रम चन्द, पूर्वसभामुख ओनसरी घर्तीमगर, सांसद जयपुरी घर्तीमगर, प्रदेश मन्त्री कुलप्रसाद केसीलगायतलाई पढाएका थिए । महराले त्यस विद्यालयमा शिक्षकका रूपमा नियुक्ति पाए पनि आफ्नै चेलालाई राजनीतिक रूपमा पनि प्रशिक्षित गरेका थिए ।

तत्कालीन माओवादी नेतामध्ये सबैभन्दा बढी अवधि तथा दोहोरिएर उपप्रधानमन्त्रीसहित महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारी लिने अवसर पाएका महराले जिल्लाको विकासका लागि त्यस अवधिमा चासो नदिएको जिल्लावासीको आरोप छ । महरासँगै विद्यार्थी राजनीतिको गतिविधिमा संलग्न रहेका कांग्रेस रोल्पाका पूर्वसभापति माधवप्रसाद आचार्यले धेरै पटक सत्तामा पुग्ने अवसर पाए पनि महराले जिल्लाको भौतिक विकासमा खास चासो नदिएको बताए ।

‘उहाँ धेरै पटक मन्त्री हुनुभयो । सत्ता र पार्टीको प्रभावकारी पदमा रहनुभयो । तर, त्यसअनुसारको विकास योजना बनाएको पाइएन,’ हाल जिल्लामै कानुनी पेसामा आबद्ध अधिवक्ता आचार्यले भने । त्यसो त दोहोरिएर मन्त्री र सांसद बन्ने अवसर पाएका कांग्रेसका पूर्वसांसद सुरेन्द्र हमालको भूमिका पनि प्रभावकारी रहन नसकेको अधिकांशको आरोप छ । तर, हमाल भने उक्त कुरा स्वीकार्दैनन् । एकपटक यातायात सहायक मन्त्री र अर्कोपटक वन राज्यमन्त्री हुने मौका पाएका हमालले भने, ‘उतिबेला अहिलेको जस्तो बजेट ल्याउन सक्ने सम्भावना थिएन । त्यसैबेला माओवादीले द्वन्द्व थालेकाले पनि पूरा अवधि विकास केन्द्रित भएर काम गर्न पाइएन ।’

माओवादी सशस्त्र द्वन्द्वकै बेला कांग्रेसका तर्फबाट सांसद बनेका लेखनाथ आचार्यले भने, ‘माओवादीले रोल्पाबाट सशस्त्र द्वन्द्वको सुरुआत गरेपछि विकास निर्माणका योजना ओझेलमा परे । माओवादी र तत्कालीन सरकार आमने–सामने भएपछि विकास निर्माण ठप्प भएको हो ।’ उनका अनुसार रोल्पाको नेतृत्वले विपक्षी र आफ्नैसँगै समन्वय गरी योजना बनाउने चलन नभएकाले अहिले पनि त्यो समस्या देखिएको छ । बहुमत प्राप्त सरकारका धेरै नेताले कसैसँग सुझाव नलिई एकतर्फी तरिकाले काम गर्ने गरेको उनको आरोप छ ।

मन्त्रीका योजना पनि उस्तै
लामो समय मन्त्री भएका महराले ठोस योजना ल्याउन नसक्दा जिल्ला भौतिक विकासमा पछि परेको धेरैको भनाइ छ । सक्रिय एवं कार्यकारी पदबाट हटेपछि मात्रै महराले जिल्लाका बारेमा चिन्ता लिएको कतिपयको बुझाइ छ । कांग्रेस जिल्ला समिति सदस्य पहलमान वलीले रोल्पालाई समेटी राष्ट्रिय गौरवका योजना संचालन गर्न सक्ने खुबी महरामा भएको बताए ।

ऊर्जा, सिंचाइ एवं जलस्रोत मन्त्री वर्षमान पुन स–साना कार्यक्रमको मौका पारेर धेरैपटक जिल्ला भ्रमण गर्न आएका छन् । मिडिया, गैसस, क्लब, स्थानीय तह तथा सरकारी कार्यालयको आग्रहमा मुख्य वक्ताका रूपमा आएका बेला मन्त्री पुनले कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, सडक, रोजगारलगायतका क्षेत्रको विकास गर्ने सरकारी नीति भएको धेरै पटक दोहोर्‍याए । तर, उनले भनेजस्तै सरकारले कुनै ठोस योजना बनाएको छैन । तत्कालीन जिल्ला विकास समितिले अधकल्चो छोडेको जिल्ला विकास गुरुयोजना अझैसम्म अलपत्र छ ।

मन्त्री पुनले पर्यटन क्षेत्रको विकास गरेर युवालाई जिल्लामै रोजगारी दिन सकिने योजनाबारे धेरैपटक बोले । तर, त्यसका लागि योजना बनाइएको छैन । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले रोल्पालाई समेटेर ‘गुरिल्ला ट्रेक’ को उद्घाटन पनि गरे । तर, उक्त योजना पूरा हुन पाएन । मन्त्री पुनकै पहलमा माडीचौरमा निर्माण गर्न थालिएको कृषि क्याम्पसको काम सुस्त छ ।

उक्त क्याम्पसमा कृषि विषयमा स्नातक तहसम्मको पढाइ हुने लक्ष्य लिइएको छ । यस्तै माडीखोला १२ मेगावाट क्षमताको जलविद्युत् योजना सञ्चालन गर्ने कार्य बीचैमा रोकिएको छ । नेपाली सेनाले लगानी गर्ने सरकारी निर्णय पनि स्थगित भएको छ ।

मन्त्री पुनले माडीखोलाको पानी भूमिगत रूपमा दाङ लैजाने योजना थाल्नेबारे धेरैपटक मन्तव्य दिए । रोल्पामा विद्युत् उत्पादन गर्ने र सोही पानीले दाङमा सिँचाइ गर्ने मन्त्री पुनको योजना छ । तर, त्यसबारे ठोस योजना अघि सारिएको छैन । यहाँ नेता र नेतृत्वको कमी छैन तर कृषि उत्पादन भने घट्दो छ ।

परम्परागत कृषि पेसाबाट गाउँले पलायन भइरहेका छन् । स्थानीय तहले कृषि क्षेक्रको विकास गर्ने योजना सुनाइरहेका छन् । तर, दक्ष जनशत्ति पलायन रोक्न सकिएको छैन । युवाहरू रोजगारी खोज्न विदेश पलायन भएकाले गाउँघरमा बालबालिका र वृद्धवृद्धा मात्रै छन् ।

प्रकाशित : फाल्गुन २३, २०७५ १०:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT