म्याद थपियो, बसपार्क अधुरै

ठाकुरसिंह थारु

नेपालगन्ज — अन्तर्राष्ट्रिय स्तरको नेपालगन्ज बसपार्क निर्माणको काम तेस्रोपल्ट म्याद थप गर्दा पनि पूरा नहुँदा फेरि अन्योल थपिएको छ । पछिल्लोपल्ट फागुन १६ गतेभित्र निर्माणको काम पूरा गर्ने गरी म्याद थप गरिएको थियो । 

म्याद थपियो, बसपार्क अधुरै

नेपालगन्ज उपमहानगरपालिकाले निर्माण कम्पनीलाई रातदिन काम गर्न र कामदार थप्न बराबर निर्देशन दिएको थियो । समयमै काम पूरा गराउन उपमहानगरपालिकाका जनप्रतिनिधि र प्रमुख कार्यकारी अधिकारी दैनिकजसो अनुगमनमा खटिएका थिए ।


‘भनेको समयमा फेरि पनि काम हुन सकेन । तर, करिब ९० प्रतिशत काम भइसकेको छ,’ उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत हरि प्याकुरेलले भने, ‘केही दिन परेको झरीका कारण काममा अवरोध आयो । त्यसैले काम पूरा हुन ढिलाइ हुन गयो ।’

बसपार्क निर्माणका लागि १४ करोड ९४ लाख रुपैयाँमा ठेक्का दिइएको हो ।


कम्पनीले ठेक्का कबोल गरेको मितिले १५ महिनाभित्रै बसपार्कको काम सक्ने सम्झौता थियो । तर, उक्त समयमा काम पूरा नभएपछि दोस्रोपल्ट म्याद थपियो । त्यो समयमा पनि काम पूरा हुन नसकेपछि फागुनको अन्तिम समय दिएर तेस्रोपल्ट म्याद थप गरिएको हो । अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक बसपार्क निर्माणको काम दुई वर्षअघि सम्झौता भएको थियो ।


तर, निर्माण कम्पनीको लापरबाहीका कारण समयमै पूरा हुन नसकेको हो । १५ महिनामा पूरा गर्ने सम्झौता चार वर्ष लम्बिएको छ । ‘अहिले झरीका कारणले समस्या भएको हो । तर, अब पनि काममा ढिलाइ गरिए निर्माण कम्पनीलाई हर्जाना लगाएर भए पनि काम गराउँछौं,’ प्रमुख कार्यकारी अधिकृत प्याकुरेलले भने, ‘चालु आर्थिक वर्षभित्रै जसरी भए पनि निर्माण पूरा गराएर छाड्छौं ।’


अब पनि समयमै काम नसके ठेकेदारले पाउनुपर्ने भुक्तानी रोक्ने चेतावनी उनको छ । अन्तर्राष्ट्रियस्तरको बसपार्क निर्माणका लागि युनाइटेड बिल्डर्सले ठेक्का पाएको थियो । साढे ४ बिघा क्षेत्रफलमा निर्माण भइरहेको बसपार्कमा टर्मिनल भवन, सपिङ बिल्डिङ, शौचालय, चमेना गृह, पक्की पार्किङ क्षेत्र निर्माण गर्ने लक्ष्य छ ।


निर्माणको काम पूरा नहुँदा बसपार्क क्षेत्रमा ट्राफिक व्यवस्था अस्तव्यस्त बन्दै आएको छ । सडकभरि सवारी साधन राखिएका कारण आउजाउमा समेत समस्या हुने गरेको छ ।


नगर विकास कोषको ऋण लगानीमा अत्याधुनिक र सुविधा सम्पन्न बसपार्क निर्माण सुरु गरिएको हो । बसपार्कमा आउजाउ गर्ने सवारी साधनबाट उठेको रकमबाट ऋण तिर्ने जनाइएको छ । हालै मात्र बसपार्क आउने प्रमुख सडक पुष्पलाल चोकबाट हुलाकी सडक कालोपत्रे भइसकेको छ ।


करिब २० वर्ष पुरानो बसपार्कले गाडी र यात्रुको चापलाई धान्न नसकेकाले नेपालगन्जमा अत्याधुनिक बसपार्क निर्माण सुरु गरिएको हो । नेपालगन्ज बसपार्कबाट दैनिक करिब ५ पाँच सयभन्दा बढी साना–ठूला सवारीसाधन आउजाउ गर्छन् ।

प्रकाशित : फाल्गुन २४, २०७५ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?