ठूला आयोजना अधुरै

ठाकुरसिंह थारू

नेपालगन्ज — बाँकेको बैजनाथ गाउँपालिकास्थित नौवास्तामा निर्माणाधीन क्षेत्रीय कारागार अलपत्र छ । २ वर्ष अवधिमा १० प्रतिशत काम भएको छैन । कारागार निर्माणका लागि भ्याटबाहेक ३९ करोड रुपैयाँमा ठेक्का लगाइएको छ ।

ठूला आयोजना अधुरै

जीर्ण नेपालगन्ज कारागारमा क्षमताभन्दा ४ गुण बढी कैदी बन्दी छन् । त्यो समस्या हल गर्न क्षेत्रीय कारागार निमार्ण गर्न थालिएको थियो । निर्माणको ठेक्का पप्पु कन्स्ट्रक्सनले लिएको छ ।


निर्माण कम्पनीले पाएको समय सकिन केही महिना मात्र बाँकी छ । यस अवधिमा निमार्णले गति लिएको छैन । सहरी विकास मन्त्रालयअन्तर्गतको आयोजना असफलजस्तै बनेको छ । यहाँस्थित सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाइका अनुसार निर्माण कम्पनीले काम नगरेका कारण समस्या भएको हो ।


‘निर्माण कम्पनीले बैंक ग्यारेन्टी राखेर काम सुरु गर्न ७ करोड रुपैयाँ बुझिसकेको छ । तर काम अझै सुरु गरेको छैन,’ इकाइ कार्यालयका इन्जिनियर होमनाथ भुसालले भने, ‘काम गर्न पटक–पटक ताकेता गर्दा पनि सफल हुन सकेका छैनौं । केही समय बाँकी रहेकाले कारबाही पनि गर्न सकेका छैनौं ।’


दुई सय करोड भारतीय रुपैयाँ (भारु) मा नेपालगन्ज नाकामा निर्माण हुने सुख्खा बन्दरगाहले पूर्णता पाउन सकेको छैन । पटक–पटक काम सुरु गरिए पनि रोकिने गरेको छ । बन्दरगाहको शिलान्यास भारतीय गृहमन्त्री राजनाथ सिंहले गरेका थिए । डेढ दशकदेखि नेपालगन्जमा सुख्खा बन्दरगाहका रूपमा एकीकृत जाँच चौकी (आईसीपी) निर्माणको पहल गरिएको थियो ।


आयोजना मुलुकका लागि महत्त्वपूर्ण हो । यसले सीमामा एकीकृत सुरक्षा जाँचसँगै औद्योगिक क्षेत्रलाई ठूलो सहयोग पुग्ने छ । उक्त परियोजनाका लागि नेपालले गर्नुपर्ने कार्य भइरहेका छन् । नेपालले बन्दरगाहका लागि खटिने सुरक्षाकर्मीका लागि बस्ने घर मर्मत गरी रंगरोगन गरेको छ । तारबार बाहेकको काम भारतीय पक्षले अगाडि बढाएको छैन ।


‘भारतले आफ्नो क्षेत्रमा तारबार गर्ने र पर्खालको काम गरेको देखिन्छ,’ कार्यान्वन इकाइ नेपालगन्जका इन्जिनियर भुसालले भने, ‘भारतले काम गर्नका लागि निर्माण कम्पनीलाई जिम्मा दिइसकेको छ । तर समयमा काम हुने/नहुने उसैमा भर पर्छ ।’ सुख्खा बन्दरगाहका लागि नेपालका तर्फबाट नेपालगन्जको जयसपुर क्षेत्रमा ९० बिघा जमिन अधिग्रहण गरेर तारबार गरिएको छ । त्यस्तै भारत सरकारले पनि आफ्नो क्षेत्रमा जग्गा अधिग्रहण गरी तारबार र पर्खाल लगाएको छ । ९० बिघा मध्ये २७ बिघामा बन्दरगाहका लागि आवश्यक पर्ने सडक निर्माण गरिनेछ ।


भारतको राजधानी दिल्लीबाट सबैभन्दा नजिक मानिने नेपालगन्जमा निमार्ण हुने भनिएको सुख्खा बन्दरगाह हो । फोर लेन राजमार्ग र फोर गेज रेल्वे लाइन विस्तार गर्ने परियोजनामा राखिएको छ । मुलुककै बहुचर्चित सिक्टा सिँचाइ आयोजनाको डुडवा नहर निमार्णको काम पनि करिव ३ वर्षदेखि अलपत्र छ ।


निर्धारित समममै सम्पन्न नगर्ने पप्पु कन्स्ट्रक्सनसँगको ठेक्का तोडिए पनि नयाँ सम्झौता हुनसकेको छैन । जसका कारण सिक्टाको काम पनि रोकिएको हो । उक्त आयोजना स्वदेशी लगानीमा हुँदै छ । पप्पुले डुडवा नहर प्रणाली निर्माणको काम २८ महिनामा सक्ने गरी ठेक्का पाएको थियो । ‘पप्पुसँगको सम्झौता तोडिएपछि नयाँ ठेक्का खोलिएको छैन,’ सिक्टा सिँचाइ आयोजनाका प्रमुख कृष्णप्रसाद नेपालले भने, ‘नयाँ ठेक्का भएसँगै काम सुरु हुनेछ ।’


डुडवा नहर निर्माणको काम ०७३ जेठदेखि सुरु गरी ०७५ पुस ४ सम्म पूरा गर्ने लक्ष्य थियो । ३२.२ किलोमिटर डुडवा नहर निर्माण र सिक्टाको मूलनहरलाई डुडवा शाखा नहरसँग जोड्नका लागि ९८ करोड ८१ लाखमा ठेक्का दिइएको थियो । डुडवा नहर निमार्ण नभएका कारण त्यस क्षेत्रको १६ हजार हेक्टर जग्गामा सिँचाइ पुग्न सकेको छैन । उक्त आयोजना थप दुई वर्ष पछाडि धकेलिएको छ । त्यस्तै पप्पुले निमार्ण गरेको राँझा(जमुनाहाको ११ किलोमिटरको चार लेन सडक हस्तान्तरण नहुँदै भत्केको छ ।


नौबास्तामा अन्तर्राष्ट्रियस्तरको औद्योगिक क्षेत्र निमार्ण गर्न पहल सुरु भएको छ । औद्योगिक क्षेत्रका लागि ३ सय ३८ बिघा जमिन छुट्टयाइएको छ । अन्तर्राष्ट्रियस्तरको औद्योगिक क्षेत्र पाँच वर्षभित्रै निर्माण भइसक्ने जनाइएको छ । सरकारले प्रदेशस्तरीय औद्योगिक क्षेत्र स्थापनाका लागि बैजनाथ गाउँपालिका–३ नौबास्ताको खाली जग्गा रोजेको हो ।


त्यसका लागि ८ अर्ब ७ करोड रुपैयाँ बजेट अनुमान गरिएको छ । चालु आर्थिक वर्षमा संघीय सरकारले १० र प्रदेश सरकारले ५ करोड गरी १५ करोड बजेट परेको छ । चालु आर्थिक वर्षमै एकीकृत सहरी विकास अन्तर्गत सडक, ढल तथा सौन्दर्य कार्यक्रम नेपालगन्ज र डुडबा गाउँपालिकामा सुरु हुनेछ ।

प्रकाशित : फाल्गुन २५, २०७५ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?