कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

कुकर कफीको क्रेज

घनश्याम गौतम

रूपन्देही — प्रत्येक दिन साँझ ५ बजे ट्राफिक चोकमा जमघट सुरु हुन्छ । बुटवल–बेलहिया सडकको पूर्वपट्टि खाली ठाउँमा लहरै ठेला राखिन्छ । ठेलाभन्दा पछिल्तिर राखिएका टुलमा ग्राहक भरिन थाल्छन् । मुलुकका विभिन्न भाग ओहोर–दोहोर गर्नेहरू कफीको स्वाद लिन यहाँ आउँछन् ।

कुकर कफीको क्रेज

यसका रैथाने पारखी धैरै छन् । साँझपख टहल्दै लस्सी र कफी पिउनु यहाँका बासिन्दाको बानी परिसक्यो । यहाँ १६ जनाले वर्षौंदेखि ठेलामा व्यवसाय गर्दै आएका छन् । त्यसमध्ये ६ ठेलामा जाडोमा कफी र गर्मीमा लस्सी तयार हुन्छ । बाँकी १० ठेलामा विभिन्न शाकाहारी र मासुजन्य खाजाका परिकार उपलब्ध छन् ।


पहिले कफी मात्र पाक्थ्यो । त्यसपछि सडक मेनुमा लस्सी थपियो । पछिल्लो पटक तयारी मांसहारी परिकार थपिएका छन् । अहिले परम्परागत ठेलामा परिवर्तन आउन थालेको छ । त्यसैले ५ वर्षदेखि २ ठूला घुम्ती गाडी खाजाघरले पनि खाजा उपलब्ध गराउँछन् । ती सबै पसलेका ग्राहक भने दैनिक ७ सयदेखि १ हजार जनासम्म हुन्छन् ।


यस्तो भीडभाड हुने ट्राफिक चोकको अर्को विशेषता हो, ‘सुनसान वातावरण’ । त्यहाँ कुनै चर्को आवाज हुँदैन । सबै आ–आफ्नै तबरले गफिँदै कफीको स्वादमा हुन्छन् । कोही चर्को बोल्दैनन् । एकले अर्काको विषयमा चासो पनि राख्दैनन् । कुर्सीमा बसेकै स्थानसम्म पसलेले कफी र खाजा पुर्‍याइरहेका हुन्छन् ।


धेरैलाई खुला आकाशमुनिको ठूलो भीड तर शान्त वातावरणले दिनभरको थकाइ बिर्साएर आनन्दित बनाइरहेको हुन्छ । कुश्मा नगरपालिका–१ पाङ पर्वतका ४७ वर्षे रामु अर्यालले बुटवलको ट्राफिक चोकमा व्यवसाय थालेको १९ वर्ष भयो । ०५६ सालमा व्यवसाय सुरु गर्दा उनी २८ वर्षे लक्काजवान थिए । सुरुका ५ वर्ष पान बिक्री गरे । उति राम्रो लागेन । पान खान आउनेले पनि ट्राफिक चोकमा बिहान र साँझ कफीको व्यापार चल्ने सुझाव दिए ।


उनको मन फेरियो । अनि, सुरु गरे कफी व्यवसाय । कफी व्यवसाय सुरु गर्दा बिजुलीको समस्या थिएन । तर, माओवादी द्वन्द्व चर्किंदो थियो । उसै त ट्राफिक चोकको व्यापार, त्यसमा पनि पूर्व–पश्चिम चल्ने सवारी साधनका यात्रुमा आश्रित व्यवसाय । संकटकाल थियो । यात्रु बसबाट झर्नै खोज्दैनथे । कोही यात्रु बसमै बसेर कफीको अर्डर दिन्थे, कोही झरेर ठेलासम्म पुग्थे । त्यसरी पनि उनले दैनिक १ सय ५० भन्दा बढी यात्रुलाई कफी खुवाउँथे ।


कुकरमा पाक्छ कफी

२०६१ सालपछि अवस्था फेरियो । द्वन्द्व त सकियो तर सुरु भयो लोड सेडिङ । बसका यात्रुलाई ग्यासमा कफी पकाएर फटाफट खुवाउन सम्भव भएन । गाडी गुडेपछि व्यापार हुने कुरै भएन । लोड सेडिङ बढदो थियो । निकै हैरानी भोगे । समाधानको उपाय नभएपछि जुक्ति निकाले, प्रेसर कुकरलाई मेसिनकै रूपमा प्रयोग गर्ने ।


२ वर्षको विदेश बसाइँमा देखेको सीप उनले प्रयोग गर्ने प्रयास गरे । कुकरमा पानी पकाउने र सानो अर्को मेसिन जोडेर त्यसबाट प्रेसरले निस्किने बाफ (स्टिम) को प्रयोगबाट दूध र चिनी घोलेर कफी बनाउने ।


अनि, सुरु भयो ‘कुकरमा पाक्ने कफीको व्यापार’ । बुटवलको ट्राफिक चोक दैनिक साँझ ६ नबज्दै साइकलपांग्रे ठेलाले सजिन्छ । तिनै ठेलामा हुन्छन् कफी पकाउने प्रेसर कुकर, खाने गिलास र बस्ने प्लास्टिकका कुर्सी । व्यवसायीले सामान लिएर आएसँगै कफी खान जुट्नेको लर्को लाग्छ ।


युगल जोडी, किशोर–किशोरी, कर्मचारी, व्यवसायी, बैंकर, युवाको समूह, सञ्चारकर्मीसहित दिनभर व्यस्त जीवन व्यतित गर्नेहरू ती कफी पसलेका मुख्य ग्राहक हुन् । नहुन् पनि किन, एकैछिनको बसाइँ र कफीको स्वादले दिनभरिको थकाइ जो मेटाइदिन्छ । २२ वर्षे विनीता कुँवर बैंककी जागिरे हुन् । मनीषा विष्ट स्टाफ नर्स । दुवैको दैनिकी व्यस्त छ । छुट्टाछुट्टै डेरामा बस्छन् ।


हरेक साँझ भेट भएर कफी नखाए महिनौं छुटेजस्तो लाग्छ । ‘मलाई त निद्रै लाग्दैन,’ विनीताले भनिन्, ‘त्यसैले जसरी पनि समय निकाल्छौं र कफी खाएर छुट्टिन्छौं ।’ यी दुवैले नियमित कफी खान थालेको २ वर्ष भयो । जाडोमा कफीले दिनभरको थकाइ मार्ने र गर्मीमा लस्सीको स्वादले स्फुर्ती दिने मनीषाले सुनाइन् ।


टाढा–टाढाबाट

ट्राफिक चोकको कफी र लस्सी भनेपछि धेरै हुरुक्क हुन्छन् । यहाँ कफी खाएर थकाइ मार्न बुटवल, भैरहवा र सालझण्डीसम्मका व्यवसायीसमेत आउने गर्छन् । तिनैमध्येका हुन्, भैरहवाका व्यवसायी ईश्वर न्यौपाने र सालझण्डीका महेश सापकोटा ।


न्यौपाने दैनिक कारोबार बन्द गरेपछि निजी गाडी चढेर २४ किलोमिटर दूरीको यात्रा पार गर्दै ट्राफिक चोकसम्म आइपुग्छन् र एक कप कफी खाएर आधा घण्टाको विश्रामपछि फर्किन्छन् । ‘व्यापार सकेर गाडीमै आउने हो, आउँदा थकाइ लाग्छ,’ उनले सुनाए, ‘तर, फर्किंदा दिनभरिको पूरै थकाइ मर्छ ।’ उनी विगत ६/७ वर्षदेखि नियमित आउने गरेका छन् । त्यस्तै अनुभव छ, सापकोटाको पनि ।


उनी पनि झन्डै २७ किलोमिटरको दूरी तय गरेर कफी र लस्सी खानकै लागि ट्राफिक चोक आउँछन् । ‘पहिला बुटवलमै व्यापार गर्थें र दैनिक यहाँ आउने गरियो,’ उनले भने, ‘अहिले सालझण्डी नै भए पनि हप्तामा २/३ दिन आउने गर्छु ।’ आउँदा–जाँदा झन्डै २ सय खर्च हुने भए पनि ५० रुपैयाँको कफीले आनन्दित तुल्याउने उनको अनुभव छ ।


थोरै लगानीमा आम्दानी

कफी र लस्सी व्यवसायका लागि धेरै लगानी छैन । एउटा ठेलाका लागि झन्डै २० हजार, कफी कुकरका लागि सबै गरेर ६ हजार, ग्यास सिलिन्डरसहित अन्य सबै खर्च गर्दा ५० हजार रुपैयाँभित्रै सबै लगानी हुन्छ । दैनिक हुने खर्चमा दूध, चिनी, कफी पर्छ । सबै गर्दा १ हजारदेखि १५ सयसम्म खर्च हुने व्यवसायीले बताए । तर, आम्दानी राम्रो छ ।


कफी ठूलो गिलासको ५० र सानो गिलासको ३० रुपैयाँमा बिक्री हुन्छ । हरेक व्यवसायीले दैनिक ५० देखि १ सय ५० जनासम्मलाई कफी बिक्री गर्छन् । ‘दैनिक ४ हजारसम्मको बित्री हुन्छ,’ व्यवसायी तुलसीराम खरेलले भने, ‘गर्न जाने राम्रै छ, मासिक ६० हजारसम्म कमाइ हुन्छ ।’ त्यसका लागि दैनिक २ जना अनिवार्य काममा खटिनुपर्ने उनले बताए ।


आम्दानीले पुरानो पुस्तालाई विस्थापित गर्दै युवा पुस्तालाई आकर्षण गर्दैछ । उमेरले ६० नाघेका तुलसीराम विस्तारै छाडदैछन् । उनको व्यापारमा ३५ वर्षे छोरा रवीन्द्र खरेल संलग्न भइसकेका छन् । भाइले पनि सहयोग गर्छन् । ‘अन्य काम गरियो, सोचेजस्तो भएन,’ उनले सुनाए, ‘यसले राम्रै आम्दानी दिएको छ ।’ १६ व्यवसायीमध्ये ८ व्यवसायी ३५ वर्ष उमेर समूहकै छन् । १२ वर्षदेखि नियमित कफी खाने गरेका बुटवलकै सञ्चारकर्मी सीपी खनालले ट्राफिक चोकको कफीले दिनभरिको थकाइ मारेर स्फुर्ती दिने बताए ।

प्रकाशित : फाल्गुन २५, २०७५ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?