‘सीमा सडकले गाउँ डुबान’

ठाकुरसिंह थारु

नेपालगन्ज — बाँकेका सुरक्षा अधिकारीले नेपाल–भारत दशगजाछेउमै निर्माण भइरहेको तटबन्धजस्तो सडकबारे समकक्षी भारतीय अधिकारीसँग छलफल गरेका छन् । उनीहरूले उक्त सडकका कारण बाँकेका दर्जनौं गाउँ डुबानमा पर्न थालेको भन्दै समस्या समाधान गर्न आग्रह गरेका हुन् । 

‘सीमा सडकले गाउँ डुबान’

भारतको बहराइचमा केही दिनअघि भएको दुई मुलुकका अधिकारीको संयुक्त बैठकमा नेपालका तर्फबाट सुरक्षा अधिकारीले सीमा सडकको मुद्दा प्राथमिकताका साथ उठाएका थिए । बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले डुबानको समस्याबारे जानकारी गराएको बताए ।


उनले सीमामा निर्माण भइरहेको सडकले पानीको बहाव छेक्दा डुबान हुने गरेको जनाए । जवाफमा भारतीय अधिकारीले सीमा सडक निर्माण गर्दा पानीको बहावलाई ठाउँठाउँमा कल्भर्ट निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् । ‘भारतीय अधिकारीले पानीको बहाव नछेक्ने प्रतिबद्धता जनाए,’ बाँकेका प्रमुख जिल्ला अधिकारी भुजेलले भने ।


भारतले सीमाछेउमै एकतर्फी रूपमा सडक निर्माण गर्दै कालोपक्रे गर्ने त्रमलाई तीव्रता दिइरहेको छ । सडक निर्माण गर्दा केही स्थानमा नेपाली सीमातर्फको माटो खनिएको पाइएको छ । नेपालगन्ज–१५, पिप्रहवा क्षेत्र हुँदै जमुनाहासम्म माटो पटान गर्दै सडक निर्माणको काम जारी छ । पूर्वतर्फबाट सडकलाई कालोपत्रे गरिँदै लगिएको छ ।


नेपालगन्ज–जमुनाहासम्मको सीमा अतिक्रमण हटाएर सडक निर्माणलाई तीव्रता दिइएको हो । यसअघि भारतीय पक्षले हिरमिनिया क्षेत्रमा सडक निर्माण गर्दा नेपाली सीमातर्फ गहिरो खाडल खनिएको छ । अनुगमन हुन नसक्दा भारतले खाडक खनेको हो । भारत सीमासँग जोडिएको बाँकेको ६५ किलोमिटर क्षेत्रलाई जोडेर तटबन्धजस्तो सडक निर्माण भइरहेको छ । पूर्व कटकुइयादेखि सुरु गरिएको सडक निर्माणको काम नेपालगन्जसम्म आइपुगेको छ । तटबन्धजस्तो सडकले बाँकेका सबै क्षेत्र डुबानमा पर्ने भन्दै स्थानीयले विरोध जनाउँदै आएका छन् ।


नेपाली अधिकारीले सीमामा लागूऔषध कारोबार नियन्त्रणका लागि पनि आग्रह गरेको संयुक्त बैठकमा सहभागी एक अधिकारीले बताए । भारतीय अधिकारीले उत्तरप्रदेशको आसन्न निर्वाचनमा सीमामा सुरक्षा जाँच कडाइ गर्न आग्रह गरे । त्यस्तै भारतीय जंगलबाट हुने चोरी सिकारी, वन कटान नियन्त्रणका लागि आग्रह गरेको स्रोतले बतायो ।

प्रकाशित : फाल्गुन २६, २०७५ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?