थारू गाउँमा सिकलसेल आतंक

आवश्यकताभन्दा बढी आतंक फैलाइएको छ, बिहेबारी रोक्नेसम्मको काम भएको छ : चिकित्सक
ठाकुरसिंह थारू

नेपालगन्ज — थारू समुदायमा सिकलसेल आतंक छ । एक पुस्ताबाट अर्को पुस्तामा वंशाणुगत रूपमा सार्ने उक्त रोगका कारण उनीहरू त्रसित छन् । सिकलसेल भएका बुबाआमाबाट जन्मिएका छोराछोरीहरूमा पनि सर्ने भन्दै कतिपयका बिहेबारी रोकिन थालेका छन् । आतंककाबीच उनीहरू रगत परीक्षणमा जोड दिन थालेका छन् ।

थारू गाउँमा सिकलसेल आतंक

कतिपय चिकित्सकले सिकलसेल भएका अभिभावकले सन्तान नजन्माउन सुझाव दिएका छन् । कतिपयले भने आवश्यकताभन्दा बढी आतंक फैलिएको दाबी गर्छन् । त्रासका कारण थारूहरू स्वास्थ्य शिविर पुगेलगत्तै रगत जाँचमा जोड दिने गरेका छन् । शिविरमा थारू गाउँ उर्लने गरेको छ । उनीहरू रोग भए–नभएको जान्न आतुर छन् ।


शुक्रबार बर्दियाको बढैयाताल गाउँपालिका–५ बढैयागाउँमा चलेको सिकलसेल स्वास्थ्य शिविरमा पनि थारू समुदायका सर्वसाधरणको भीड लागेको थियो । शिविरमा सयौं थारूहरू जाँचका लागि आए । नेपाल–भारत मैत्री समाज काठमाडौंले आयोजना गरेको शिविरमा एक सयजनाको रगत परीक्षण गरियो ।


तर स्रोत र साधन अभावका कारण सबैको रगत परीक्षण गर्न सम्भव भएन । भेरी अस्पताल नेपालगन्जमा सिकल जाँच हुने गरे पनि पटक–पटक मेसिन बिग्रिने समस्या छ । ग्रामीण क्षेत्रमा बस्ने थारूको त्यहाँसम्म पहुँच छैन । भेरी अस्पतालका फिजिसियन डाक्टर संकेत रिसालले सिकलसेलको लक्षण र त्यसबारे बँच्ने उपायबारे जानकारी दिए । उनले थारू समुदायमा आवश्यकताभन्दा बढी त्रास फैलिएको बताए । ‘सिकलसेल रगतको रोग हो । सिकल लाग्न पनि सक्छ तर आवश्यकताभन्दा बढी आतंक फैलाइएको छ,’ उनले भने, ‘सिकलको आतंक फैलाएर बिहेबारी रोक्नेसम्मको काम भएको छ ।’ उनले सिकलबारे स्पष्ट हुन थारू समुदायलाई आग्रह गरे ।


नेपाल–भारत मैत्री समाजका अध्यक्ष सुरेन्द्र चौधरीले सिकलसेलबारे गहिरो अध्ययन हुनुपर्ने बताए । उनले सिकलको उपचारका लागि विशेष नीति ल्याउन आवश्यक रहेको सुझाए । सिकलसेलले औलो रोग लाग्ने सम्भावना कम हुने गर्छ । लामो समयसम्म एउटै वातावरणमा बस्ने, आफ्नै समुदायभित्र विवाह गर्ने र गर्मी ठाउँमा बस्नेहरूलाई यो रोग लाग्ने गरेको छ । दक्षिण अफ्रिका, अमेरिका, भारतको मध्यप्रदेशलगायत क्षेक्रमा बसोबास गर्दै आएका आदिवासीहरूमा समेत सिकलसेल एनिमिया रोग देखिएको छ ।


गोलो आकारमा हुने रत्त कोष हँसिया आकारको हुनुलाई चिकित्सकले सिकलसेल एनिमिया भन्छन् । उक्त रोगका बिरामीको शरीर, हाडजोर्नी दुख्ने, पटकपटक जन्डिस, रक्त अल्पता र निमोनियाको समस्या देखिने चिकित्स बताउँछन् । सिकलसेलको पहिचान हुन नसक्दा अधिकांश पीडितले बाथ, युरिकएसिड, हाडजोर्नी र नसा रोगको औषधि सेवन गर्न बाध्य छन् ।


नेपाल सरकार स्वास्थ्य अनुसन्धान परिषद्सँग त्रिभुवन विश्वविद्यालय ट्रफ अनुसन्धान प्रयोगशालाले हालै गरेको अनुसन्धानपछि समयमै सवधानी नअपनाए मुलुकले ठूलो क्षति व्यहोर्नुपर्ने चेतावनी दिएको छ । उसले पश्चिम नेपालका अविवाहित थारू समुदायका महिलाको डीएनए परीक्षण गर्दा १८ प्रतिशत व्यक्तिमा सिकलसेल हेटेरोजाइगोस ट्रेट पाइएको जनाएको छ । उक्त अनुसन्धानले ०६८ को थारू समुदायको जनसंख्यालाई आधार मान्दै ३ लाखभन्दा बढी व्यक्तिहरूमा सिकलसेल रोगको गुण पाइएको जनाएको छ । त्यस्तै, समयमै डीएनए परीक्षण गरी जेनेटिक परामर्शको व्यवस्था नगर्ने हो भने मुलुकले ठूलो क्षति व्यहोर्नु पर्ने चेतावनी दिएको छ ।

प्रकाशित : फाल्गुन २७, २०७५ १२:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?