कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बस्न बेन्च छैन मुशायरामा १८ लाख

मनोज पौडेल

कपिलवस्तु — टिनको छानो । मक्किएको माटोको पर्खाल कतिखेर खस्छ, ठेगान छैन । गर्मीमा टिन तातेर बालबालिका उकुसमुकुस हुन्छन् । पढाउन सकिँदैन । बेन्च–डेस्क टुटेका छन् । धेरै कक्षामा तिनै टुटेफुटेका बेन्च–डेस्कको पनि अभाव छ । हावाहुरी चल्दा र पानी परेका बेला विद्यार्थीलाई कक्षाकोठाबाट बाहिर निकालिन्छ । विजयनगर गाउँपालिका–१ वीरनगरमा रहेको अर्रा प्राविको अवस्था हो यो ।

बस्न बेन्च छैन मुशायरामा १८ लाख

दयनीय अवस्थाको विद्यालयको भौतिक पूर्वाधार सुधार्न गाउँपालिकाले ध्यान दिएको छैन । त्यहाँ ४ कक्षासम्म पढाइ हुन्छ । कक्षा ३ र ४ का विद्यार्थी मक्किएको कोठामा पढ्छन् । बस्तीमा विपन्न र सुकुम्बासीको बाहुल्य छ । बस्तीलाई नदीले घेरेको छ । पश्चिम अर्रा र पूर्व चिरई नदी बग्छन् । वर्षामा नाकाबन्दी हुन्छ । बिरामी पर्दा भगवानको नाम जप्नुपर्छ । गाउँमा कच्ची सडक रहेको छ ।


हिलो र धूलो व्याप्त छ । स्थानीय स्वास्थ्य, शिक्षा र सञ्चारजस्ता आधारभूत आवश्यकताबाट पनि वञ्चित छन् । गाउँपालिकामा विकासका काम बाँकी छन् । समस्याले जेलिएको बस्तीका केही व्यक्तिलाई खुसी पार्न गाउँपालिकाले १८ लाख रुपैयाँ खर्च गरेर मुशायरा (कवि सम्मेलन) सञ्चालन गरेको छ । गत फागुन १० गते ठूलो रकम खर्च गरेर सम्पन्न भएको मुशायराको अहिले जिल्लाभर चर्चा छ ।


मुशायरामा नेपाली साहित्यकार अटाएनन् । एकजना पनि नेपाली कविले भाग लिएका थिएनन् । कार्यक्रमका प्रमुख अतिथि पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल थिए । उनी हेलिकप्टर चढेर कार्यक्रम उद्घाटन गर्न आएका थिए । करिब एक घण्टा बसेका उनी १० मिनेट भाषण गरेर हिँडे । भारतीय राजदूत अन्तिम घडीमा नआएको आयोजकले जनाए ।


ऊक्त कार्यत्रमका लागि गाउँपालिकाले १२ लाख रुपैयाँ बजेट विनियोजन गरेको प्रशासकीय अधिकृत रवीन्द्रप्रसाद चौधरीले बताए । ‘तर, उक्त बजेटले नभ्याउने देखेको छु,’ उनले भने, ‘२/४ लाख अझै बढी खर्च हुन्छ जस्तो छ ।’ बिल र खर्च संकलन भइरहेको उनले बताए । सबै खर्च विवरण नआउँदासम्म कति लगानी भयो बताउन नसकिने उनले जनाए । बिल भर्पाई संकलनको काम वडा–२ का कार्यालय सहायक बलबहादुर थापाले गरिरहेका छन् । जिन्सी शाखा प्रमुखसमेत रहेका उनी गाउँपालिका अध्यक्ष गोपाल थापाका आफन्त हुन् । गाउँपालिकाका एक पदाधिकारीले कवि सम्मेलनको खर्च १८ लाख पुग्ने दाबी गरे । ‘फजुल खर्च धेरै छ, त्यसकारण बढ्छ,’ उनले भने, ‘६/७ लाख रपैयाँ टेन्टमा खर्च भएको छ ।’


भारतका १० जनाभन्दा बढी साहित्यकारलाई १५ देखि ४० हजारसम्मको भर्पाई गरेर खर्च भुक्तान गरिएको छ । स्वागत, खाना, खाजा, यातायात, कलाकार र अन्य व्यवस्थापनमा खर्च भएको छ । भारतबाट अनायिका अम्बर जैन, सविना अदिल, अना देहलवी, जौहर कानपुरी, रमेश बसुरी, डा. अनील चौबे, जाहिद आजाद र सौरभ जैनलगायतले मुशायरा प्रस्तुत गरेका थिए ।


नेपालका तर्फबाट कलाकार नभएको गुनासो आएपछि मनोरञ्जन गराउन हतार–हतार गायक बद्री पंगेनीलाई बोलाइएको थियो । कपिलवस्तु साहित्यिक समाजका अध्यक्ष पशुपतिमणि त्रिपाठीले जिल्लाका साहित्यकारलाई कार्यक्रमबारे जानकारी नभएको बताए । ‘हामी पनि जिल्लावासी हौं, खबर भएको भए राम्रो हुन्थ्यो,’ उनले भने, ‘हामी सबै बेखबर भयौं, दुःख लागेको छ ।’


साम्प्रदायिक र धार्मिक सद्भाव कायम गर्ने उद्देश्यले बैठकबाट निर्णय गराएर कार्यक्रम आयोजना गरिएको गाउँपालिका अध्यक्ष गोपाल थापाले बताए । यस क्षेत्रमा आपसी सद्भाव र भाइचारालाई प्रगाढ बनाउन कार्यक्रम गरिएको र यसलाई अन्यथा लिन नहुने उनले बताए । ‘गाउँपालिकाले विनियोजन गरेको बाहेक खर्चका लागि विभिन्न स्थानीय तह, गैरसरकारी निकाय र बैंकलाई गुहारेका छौं,’ उनले भने, ‘त्यताबाट पूर्ति गर्छौं, पालिकालाई मात्रै भार पार्दैनौं ।’


यसरी उफलब्धिविहीन कार्यक्रममा लाखौं खर्च गरिएकामा वडाध्यक्षले आत्रोश व्यक्त गरे । ‘लाखौं खर्च गरेर एउटा सम्मेलन गरिन्छ,’ ती वडाध्यक्षले भने, ‘उपलब्धि केही छैन ।’ उनका अनुसार यो सबैभन्दा पिछडिएको गाउँपालिका हो । अहिले एउटा किनेर र अर्को भाडामा गाडी चलाइरहेको छ । ‘महँगा गाडी छन् तर आगलागी भए निभाउने दमकल छैन,’ उनले भने, ‘कोही सिकिस्त बिरामी भएमा अस्पताल पुर्‍याउन एम्बुलेन्स छैन ।’

प्रकाशित : फाल्गुन २८, २०७५ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?