१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

सीमा क्षेत्रमा लागूऔषध कारोबार बढ्यो

ठाकुरसिंह थारू

नेपालगन्ज — रेडियोभित्र लुकाएर भारत लैजाँदै गरेको करिब साढे ४ किलो चरेससहित दुई नेपाली महिलालाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले गत सोमबार पक्राउ गर्‍यो  । आफूहरूले २ लाख रुपैयाँमा चरेस किनेर भारतको कुल्लु मनाली लैजान थालेको पक्राउ परेका रोल्पा थबाङकी मायादेवी विक र श्रीकुमारी विकले बयानका क्रममा बताए  ।

उनीहरूका अनुसार उक्त चरेस दलबहादुर तामाङले मगाएका थिए ।


सीमास्थित इलाका प्रहरी कार्यालय जमुनाहा र लागूऔषधविरुद्धको प्रहरी अनुसन्धान ब्युरोले ब्राउन सुगर, नाइट्रोजोम, कोरेक्सलगायत लागूऔषधसहित थुप्रै व्यक्ति पक्राउ गर्दै आएको छ । सीमावर्ती भारतको रूपैडिहा चकीया रोड क्षेत्रमा निर्बाध ब्राउन सुगर कारोबार हुने गरेको छ । कुलतमा फसेका नेपाली युवा त्यहाँ पुगेर सेवन गरेर फर्किन्छन् । कारोबारका लागि नेपाल आउने कतिपय व्यक्ति पक्राउ पर्दै आएका छन् । ‘लागूऔषध कारोबारमा लाग्ने व्यक्तिलाई दैनिकजसो पक्राउ गर्दै आएका छौं । तर, नियन्त्रण हुन सकिरहेको छैन,’ इलाका प्रहरी कार्यालय जमुनाहाका प्रमुख सई वसन्त बस्नेतले भने, ‘सीमाका भारतीय सुरक्षा अधिकारीलाई त्यसबारे जानकारी गराउँदै आएका छौं तर समस्या जस्ताको तस्तै छ ।’ नेपालका पहाडी जिल्लामा उत्पादन हुने गाँजा र चरेस भारत तस्करी हुँदै आएको छ । त्यस्तै भारतबाट नेपालगन्जमा ब्राउन सुगर तस्करी हुने गरेको छ । नेपाल–भारत सुरक्षा अधिकारीको संयुक्त बैठकमा लागूऔषधको तस्करी नियन्त्रण गर्ने प्रतिबद्धता जनाउँदै आएका छन् । तर, समस्या समाधान भने हुन सकेको छैन ।


जिल्ला प्रहरी कार्यालय बाँकेका मुद्दा फाँट प्रमुख प्रहरी निरीक्षक दीपक मल्लले लागूऔषध कारोबारको आरोपमा पक्राउ परेकाले हिरासत भरिने गरेको बताए । उनका अनुसार हाल लागूऔषधसम्बन्धी ४० भन्दा बढी मुद्दामा कारबाही भइरहेको छ । ‘पक्राउ परेर आउने अधिकांश आरोपी लागूऔषधकै छन् । उनीहरूका कारण हिरासत भरिन्छ,’ उनले भने, ‘यस क्षेत्रमा लागूऔषधको समस्या विकराल छ ।’ भारतबाट तस्करी गर्ने क्रममा प्रहरीले पक्राउ गरेको ब्राउन सुगरको परिमाणले यो क्षेत्र दुव्र्यसनीको अखडा बन्दै गएको पुष्टि गरेको छ । गत वर्ष प्रहरीले ४ सय ८१ ग्राम ब्राउन सुगर बरामद गरेको थियो । दुव्र्यसनीको संख्या बढेपछि तस्करी बढेको हो । दुव्र्यसनीहरू दैनिकजसो पक्राउ पर्ने गरे पनि तस्करीको गिरोह भने पक्राउ पर्न सकेको छैन ।


लागूऔषध नियन्त्रणका लागि प्रदेश प्रहरी कार्यालयले विशेष अभियान सञ्चालन गर्दै आएको छ । गत वर्ष २ सय ४४ व्यक्ति पक्राउ परेका थिए । यस क्षेत्रमा बढीजसो १९ वर्षमुनिका किशोर दुव्र्यसनीमा फस्न थालेका छन् । जसका कारण लागूपदार्थ ओसारपसार बढी हुने गरेको हो । मुलुकको जनशक्ति मानिएको युवा पुस्ता लागूपदार्थको कुलतमा फसेपछि नयाँ पुस्ताका लागि चुनौती थपिएको छ । लागूऔषध सेवन गर्र्नेमा १२ वर्षका किशोर पनि रहेको प्रहरीले जनाएको छ । खुला सीमाका कारण लागूऔषध सहजै पाउने भएकाले प्रयोगकर्ताको संख्या पनि बढदै गएको उनीहरूको भनाइ छ ।


नेपालगन्जमा मात्रै करिब ५ सय ड्रग्स सेवनकर्ता रहेको अभियानकर्ताले जनाएका छन् । तीमध्ये अधिकांश युवा छन् । दुव्र्यसनीमध्ये ३२ प्रतिशतभन्दा बढी १५ वर्षमुनिका छन् । ४९ प्रतिशत १९ वर्षमुनिका रहेको प्रहरीले जनाएको छ । पहिले सहरमा पाइने लागूऔषध हाल गाउँ–गाउँमा छ्यापछ्याप्ती पाइन थालेको छ । झोलमा पाइने कोरेक्स, ट्याब्लेट र ब्राउन सुगर गाउँमै बिक्री हुन थालेको हो । लागूऔषधको कुलतमा बालबालिका पनि फसिरहेको स्थानीयले बताए । दुव्र्यसनीमा फसेका युवा सीमावर्ती भारतीय रूपैडिहा बजारमा लागूऔषध खरिद गर्न जाने गरेका छन् । उनीहरूले सुरक्षाकर्मीलाई छलेर ल्याएको लागूऔषध गाउँका युवालाई बिक्री गर्छन् ।

प्रकाशित : फाल्गुन २९, २०७५ १२:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?