कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

टिपरको धूलोधूवाँले हैरानी

कान्तिपुर संवाददाता

पाल्पा — तीव्र गतिका टिपरको धूलोधूवाँले रिब्दीकोट–२ देउराली कन्टीपोखरा क्ष्ँेत्रका बासिन्दा हैरानी खेप्न बाध्य भएका छन्  । सडकछेउ घर हुनेहरूले हैरानी खेपेपछि पटक–पटक आन्दोलन गर्दै आए पनि उनीहरूको माग सम्बोधन नभएको गुनासो छ  ।

टिपरको धूलोधूवाँले हैरानी

उनीहरूले शनिबारदेखि सोमबारसम्म सडकमा टिपर चल्न रोक लगाए । तीन दिनभित्र समस्या समाधानका लागि पहल गर्ने प्रशासनको आश्वासनपछि उनीहरूको आन्दोलन अहिले रोकिएको छ ।


दैनिक सयभन्दा बढी टिपरको धूलोधूवाँले हैरानी खेप्नुपरेको उनीहरूको गुनासो छ । हार्थोकबाट डम्बकसम्म सडक कालोपत्रे हुनुपर्ने माग उनीहरूले राखेका छन् । झन्डै १० किलोमिटर क्षेत्रमा धूलोधूवाँले सास्ती खेप्नु परेको स्थानीय इन्द्रप्रसाद पाण्डेयले बताए । हार्थोकदेखि डम्बक–सर्देवा–सिद्धेश्वरसम्मको २५ किलोमिटर सडक खानी पहुँच मार्गअन्तर्गत पर्छ ।

रैनादेवी छहरा–२ सोमादीको सर्देवामा चौधरी ग्रुपको सीजी सिमेन्ट कम्पनी खुल्ने तयारीमा छ । सिद्धेश्वरमा सर्वोत्तम सिमेन्टको चुनढुंगा खानी छ । यसका लागि सडक चौडा र अधिग्रहण गर्दा पुगेको क्षतिको क्षतिपूर्ति पाउनुपर्ने माग स्थानीयको छ । सडक खन्दा बिग्रेका पानीका स्रोत संरक्षण गरिनुपर्ने उनीहरूले माग राखेका छन् । बाटोमा पर्ने विद्यालयमा कम्पाउन्ड तारबार गर्नुपर्ने, क्षमताभन्दा बढी भार टिपरले बोक्न नहुनेलगायत माग स्थानीयले राखेका छन् ।

केही महिनापहिला टिपरमा टाइम कार्ड लागू गरेर गति न्यूनीकरणको प्रयास भए पनि प्रभावकारी नियमन हुन नसकेको स्थानीयले बताए । ‘गाईबस्तुले घाँस पनि खाएका छैनन्,’ स्थानीय पाण्डेयले भने, ‘अहिले अति भएपछि आन्दोलनमा उत्रिनु परेको हो ।’ उनीहरूले पटकपटक जिल्ला प्रशासनमा र गाउँपालिकामा यस विषयमा ज्ञापनपत्र बुझाइसकेका छन् । स्थानीय ओमप्रसाद पोखरेलले सडक चौडा बनाउँदा कम्पनी, सरकार कसैले पनि क्षतिपूर्ति नदिएको बताए । ‘हामी यस क्षेत्रको विकासविरोधी होइनौं,’ उनले भने, ‘तर, उचित क्षतिपूर्ति र मुआब्जा चाहिन्छ भन्ने मात्रै हो ।’

उनले जनताले पाएको दुःखका विषयमा बुझिदिन सम्बन्धित सरोकार पक्षलाई आग्रह गरे । सडककै कारण यस क्षेत्रका ७ घर विस्थापित भइसकेका छन् । १२ भन्दा बढी घरपरिवार विस्थापितको खतरामा छन् । टिपरको तीव्र गतिका कारण जहिले पनि दुर्घटना हुने समस्या रहेको गीता सोमैले बताइन् । ‘विकासका नाममा विनाश हुने अवस्था आयो,’ उनले भनिन्, ‘अब यस विषयमा सबै गम्भीर हुनुपर्ने बेला आएको छ ।’


धूलोधूवाँले असर पुगेको विषयमा कोही पनि जनताको पक्षमा नभएको उनले बताइन् । टिपरको गति नियन्त्रण नहुँदा घर–गोठ आदिमा क्षति पुगेको छ । ‘कुनै समय चुनढुंगा खानी सञ्चालन हुँदा हामी जति खुसी थियौं, अहिले भने त्यत्तिकै दुःखी बन्नु परेको छ,’ उनले भनिन्, ‘अब विकास आउने भयो भन्दा विनाश हुँदै गएको छ ।’ घर छेउमै १० मिटर चौडा मोटरबाटो पुग्दा विकासको अनुभूति गरे पनि अहिले घरवास नै उठिवास लगाउने अवस्था आएको गुनासो स्थानीयको छ । पटक–पटक धूलोको सास्तीका कारण जनजीवन प्रभावित बनेको भन्दै स्थानीय आक्रोशित छन् । स्थानीय सरकार र प्रशासनलाई ध्यानाकर्षण गराउँदासमेत माग सम्बोधन नभएको उनीहरूको गुनासो छ ।


खानीबाट चुनढुंगा बोक्ने टिपरका कारण वडा–२, कन्टीपोखरासहित खानीको पहुँच मार्ग आसपासका स्थानीयमा पर्न गएको समस्या समधानका लागि पहल गर्ने रिब्दीकोट गाउँपालिकाका प्रवक्ता विष्णुप्रसाद खनालले बताए । ‘गाउँपालिका पनि यस विषयमा गम्भीर छ,’ उनले भने, ‘आगामी दिनमा यस विषयमा माग सम्बोधन गर्दै जाने तयारी छ ।’

प्रकाशित : फाल्गुन २९, २०७५ १२:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?