जोडिँदै दुर्गम गाउँ

हरि गौतम

रुकुमपूर्व — जिल्लाका ५० दुर्गम गाउँ एकैसाथ जोडिन लागेका छन् । १५ ट्रस ब्रिज र झोलुंगे पुलमार्फत ती गाउँ जोडिन लागेका हुन् । यहाँका ३ वटै स्थानीय तहमा निर्माणाधीन ट्रस ब्रिज र झोलुंगे पुलको काम ८० प्रतिशत सम्पन्न भएको छ ।

जोडिँदै दुर्गम गाउँ

एउटा गाउँबाट अर्को गाउँ जोड्ने, गाउँबाट विद्यालय, स्वास्थ्य चौकी, गाउँपालिका तथा जिल्ला सदरमुकाम जोड्नका लागि ट्रस ब्रिज र झोलुंगे पुल बनाउन लागिएको हो । कतिपय ट्रस ब्रिज र झोलुंगे पुलले दुई जिल्लासमेत जोड्छन् ।


चालु आर्थिक वर्षभित्रै निर्माण सक्ने गरी सबैतिर काम भइरहेको सेवा प्रतिष्ठान रुकुमका व्यवस्थापक रणवीर रावलले बताए । उनका अनुसार सबै ट्रस ब्रिज र झोलुंगे पुलको बजेट तोकिसकिएको र जम्मा लागतमध्ये केही रकम मात्र आउन बाँकी रहेको छ । ५ करोड ९८ लाख १ हजार १ सय ९१ रुपैयाँमध्ये १ करोड १० लाख रुपैयाँ मात्र आउन बाँकी रहेको रावलले बताए ।


पुथाउत्तरगंगा गाउँपालिकामा बन्दै गरेका ५ ट्रस ब्रिज र झोलुंगे पुलले पेल्मा, हिम, गुइबाङ, रन्मामैकोट, काजरजजंग, हुकाम तथा छिमेकी जिल्ला बाग्लुङ जोडदै छन् । भूमेमा बन्ने ६ वटा ट्रस ब्रिज तथा झोलुंगे पुलले लुकुम, काँक्री, गुनाम, महत, तामरी, कुचिबाङ, सिमखोला, खाम्दै चुनबाङ, धर्मशाला, लाबाङ तथा रोल्पाको थबाङसमेत जोडिनेछन् । यसैगरी सिस्नेमा बन्ने ट्रस ब्रिज तथा झोलुंगे पुलले धपे, झिमखोला, लम्पाकोट, सान्चौर, स्यालापाखा, सुद्री, ओखरबोट, छिमेकी जिल्ला डोल्पा, भट्टेचौर, भङ, घोरखानी, रुकुम पश्चिमको मुसीकोट नगरपालिकाको साँखसमेत जोडिँदै छन् ।


विशेषगरी वर्षायाममा सर्वसाधारणलाई वल्लो गाउँदेखि पल्लो गाउँ जान समस्या हुने भएपछि जिल्लाका सबै स्थानीय तहमा एकैपटक १५ पुल बनाउन लागिएको हो । ट्रस ब्रिज तथा झोलुंगे पुल बनेपछि सर्वसाधारणलाई आवतजावतका साथै विद्यार्थीलाई विद्यालय, बिरामीलाई स्वास्थ्यचौकी जान सजिलो हुने भूमे गाउँपालिका–९ का अध्यक्ष प्रवेश पुनमगरले बताए ।


पुथाउत्तरगंगा गाउँपालिका–१ को जंघार खोलामा ट्रस ब्रिज, वडा २ को झार्लुङ खोलामा ट्रस ब्रिज, वडा ५ र २ जोड्ने पेल्मा खोलमा झोलुंगे पुल, वडा ५ को तामागार खोलामा झोलुंगे पुल र काजरजंग खोलामा झोलुंगे पुल बन्दैछन् । भूमे गाउँपालिका–१ को मूलबाङ खोलामा ट्रस ब्रिज, वडा ८ का चोरकाटेमा ट्रस ब्रिज, वडा ६ र ८ को बाख्रेखोरको सिमखोलामा ट्रस ब्रिज, वडा २ को खेबाङखोलामा ट्रस ब्रिज, वडा ९ को च्याङचुङ खोलामा झोलुंगे पुल, वडा ७ को मग्राखोलामा ट्रस ब्रिज बन्दैछन् । सिस्ने गाउँपालिका–८ को जामाखोलामा ट्रस ब्रिज, वडा २ को तुबाङखोलामा झोलुंगे पुल, वडा १ को च्यारगारखोलामा झोलुंगे पुल र वडा ६ को दोमैखोलामा ट्रस ब्रिज निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।


पुथाउत्तरगंगा गाउँपालिकामा ५, भूमेमा ६ र सिस्ने गाउँपालिकामा ४ वटा ट्रस ब्रिज र झोलुंगे पुल बन्दै छन् । संघीय सरकार स्थानीय विकास मन्त्रालय र सम्बन्धित गाउँपालिकाको आर्थिक सहयोगमा झोलुंगे पुल सहयोगी इकाइ र सेवा प्रतिष्ठान नेपालको सामाजिक तथा प्राविधिक सहयोग र सेवा क्षेत्रका स्थानीयको श्रमदानबाट ट्रस ब्रिज र झोलुंगे पुल निर्माण भइरहेको छ । ट्रस ब्रिज र झोलुंगे पुल निर्माणमा संघीय सरकारको ९२, सम्बन्धित स्थानीय तहको ६ र सेवा क्षेत्रका स्थानीयको २ प्रतिशत श्रमदानको रकमबाट खर्च गर्ने व्यवस्था छ ।


पुथाउत्तरगंगा गाउँपालिकामा बनिरहेका २ ट्रस ब्रिज र ३ झोलुंगे पुल निर्माणमा २ करोड ७१ लाख ८ हजार बजेट आवश्यक पर्छ । जसमा संघीय सरकारको १ करोड ३४ लाख ५० हजार, गाउँपालिकाको १० लाख ४२ हजार ४ सय ३८ र ४ लाख १४ हजार ३ सय ७७ रुपैयाँ बराबरको श्रमदान स्थानीयले गर्नेछन् ।


पुथामा बन्ने ट्रस ब्रिज र झोलुंगे पुलका लागि ५० लाख बजेट आउन बाँकी छ । ५ वटा ट्रस ब्रिज र एउटा झोलुंगे पुल बनिरहेको भूमे गाउँपालिकामा १ करोड ४६ लाख ९३ हजार १ सय ९१ रुपैयाँ खर्च हुँदै छ । जसमा १ करोड १२ लाख ६० हजार रुपैयाँ संघीय सरकारले लगानी गरेको छ भने ८ लाख ८१ हजार भूमे गाउँपालिकाको तथा २ लाख ९३ हजार ८ सय ६३ रुपैयाँ बराबरको श्रमदान स्थानीयले गर्नेछन् ।


भूमेका ६० लाख बजेट आउन बाँकी छ । २ ट्रस ब्रिज र २ झोलुंगे पुल बन्ने सिस्ने गाउँपालिकामा १ करोड ८० लाख बजेट खर्च हुँदैछ । जसमा संघीय सरकारका तर्फबाट १ करोड १२ लाख, गाउँपालिकाले ११ लाख तथा ३ लाख ७२ हजार रपैयाँ बराबरको श्रमदान स्थानीयले गर्नेछन् ।

प्रकाशित : फाल्गुन ३०, २०७५ १०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?