मोतीविन्दु महिलामा बढी

मोतीविन्दुका बिरामीमध्ये महिला बढी छन् । कुल बिरामीमध्ये महिला ५७ र पुरुष ४३ प्रतिशत छन् । महिला प्रायः घरायसी काममा संलग्न हुने भएकाले उनीहरूमा बढी समस्या देखिएको हो ।
दुर्गालाल केसी

दाङ — राप्तीका विभिन्न जिल्लामा मोतीविन्दुको समस्या उच्च देखिएको छ । आँखा उपचारका लागि यहाँ ५०/५० शय्याका राप्ती आँखा अस्पताल तुलसीपुर र लमही आँखा अस्पताल स्थापना भएका छन् । राप्तीसँग नियमित समन्वय गरेर उपचार गर्न बहादुरगन्जमा एक सय शय्याको अस्पताल छ । यसअन्तर्गत ४ आँखा उपचार केन्द्र छन् ।

दाङको तुलसीपुरस्थित आँखा अस्पतालमा बिरामीको मोतीविन्दुको जाँच गरिँदै । तस्बिर : दुर्गालाल/कान्तिपुर

घोराही, सल्यान, रुकुम र सुलिचौर रोल्पामा रहेका केन्द्रबाट उपचार भइरहेको छ । प्रत्येक अस्पतालमा मासिक २ हजारको हाराहारीमा बिरामी आउने गरेको अस्पतालले जनाएको छ ।

कुनै महिना ४ हजारसम्म बिरामी पुग्ने गरेका छन् । राप्ती र बहादुरगन्जमा गरेर एक वर्षमा २ लाख ८२ हजार ५ सय ३९ बिरामी आएको राप्ती आँखा अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत शमशेर थापाले बताए । जसमा ५७ प्रतिशत महिला र ४३ प्रतिशत पुरुष छन् । वर्षमा २ लाख ३७ हजार १ सय २५ बिरामीले नियमित अस्पताल र केन्द्रमा उपचार गराएको र ४५ हजार ४ सय १४ ले स्वास्थ्य शिविरका क्रममा उपचार पाएको थापाले बताए । दाङमा एक वर्षमा २ हजार ७ सय ९६ को मोतीविन्दुको शल्यक्रिया गरिएको छ ।

सबै अस्पतालमा एक वर्ष अवधिमा १३ हजार ६ सय ६१ बिरामीको मोतीविन्दु शल्यक्रिया भएको उनले बताए । जसमध्ये १२ हजार ४ सय ९६ को अस्फतालमा र १ हजार १ सय ६५ को स्वास्थ्य शिविरमा शल्यक्रिया गरिएको थियो । शल्यत्रिया गर्नेमध्ये ५४ प्रतिशत महिला र ४६ प्रतिशत पुरुष छन् ।

२ हजार ५ सय ६८ को सामान्य शल्यक्रिया गरिएको छ, जसमा ६२ प्रतिशत महिला र ३८ प्रतिशत पुरुष छन् । उनका अनुसार १० हजार ५ सय ३० बिरामीको आँखाको दृष्टि सुधार गरिएको छ । जसमा ५९ प्रतिशत महिला र ४१ प्रतिशत पुरुष छन् । विगत ५ वर्षको अवस्था विश्लेषण गर्दा आँखाका बिरामी बढिरहेका छन् । सन् २०१४ मा १ लाख ९९ हजार ४ सय ८० बिरामी आएकामा यस वर्ष २ लाख ८२ हजार ५ सय ३९ पुगेका छन् । गत वर्ष २ लाख ५३ हजार ४ सय ३७ बिरामी थिए ।

महिला बढी प्रभावित
यस्ता बिरामीमध्ये महिला बढी छन् । कुल बिरामीमध्ये महिला ५७ र पुरुष ४३ प्रतिशत छन् । महिला प्रायः घरायसी काममा संलग्न हुने भएकाले उनीहरूमा बढी समस्या देखिएको आँखा अस्पतालले जनाएको छ ।

चेतनाको विकासले पनि महिलामा जाँच गराउने ज्ञान बढिरहेको आँखा अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत थापाले बताए । ‘पुरुषहरू रोजगारका क्रममा घरबाहिर हुन्छन् । उनीहरूले काम गर्ने क्षेत्रमै उपचार गर्छन् । घरमा बस्ने महिला बढी भएकाले बिरामी पनि बढी देखिएका छन्,’ उनले भने, ‘चेतना वृद्धि भएर पनि उपचार गर्न आउने संख्या बढिरहेको छ ।’

चेतना र आँखा उपचारप्रतिको विश्वासका कारण बिरामी बढिरहेको उनले बताए । ‘प्रत्येक अस्पतालमा सन्देशहरू बनाएर बजाउने गरिएको छ । रेडियोबाट पनि सन्देशहरू सम्प्रेषण भइरहेको छ,’ उनले भने, ‘यसबाट पनि धेरैले आँखामा समस्या भएमा उपचार गर्ने गरेका छन् । पहिले पहिले उपचार नगरी बस्ने चलन थियो ।’ आँखाका समस्यामध्ये पनि मोतीविन्दुका बिरामी नै बढी देखिएको उनले बताए । खेतीपातीको काम, धूवाँधूलोमा काम गरेर सफा पानीले मुख नधुनेजस्ता समस्याले बिरामी बढेको थापाले बताए । सानो समस्या हुँदा उपचार नगर्ने प्रवृत्तिले अन्त्यमा मोतिविन्दु हुने गरेको उनले बताए ।

मुक्त बनाउने अभियान
मोतीविन्दु समस्या बढ्न थालेपछि मोतीविन्दुमुक्त अभियान सञ्चालन गरिएको छ । मोतीविन्दुसम्बन्धी बिरामी धेरै देखिएपछि स्थानीय तहसँगको सहकार्यमा मोतीविन्दुमुक्त बनाउने अभियान थालिएको छ । तुलसीपुर उपमहानगरपालिकाले यस अभियानको सुरुवात गरेको छ । हाल उपमहानगरमा १ हजार ४ सय मोतीविन्दुका बिरामी शल्यक्रिया गर्नुपर्ने अवस्थामा देखिएका छन् ।

आँखा अस्पताल र उपमहानगरपालिकाको सहकार्यमा निःशुल्क उपचार गरी मोतीविन्दुमुक्त उपमहानगर बनाउने काम थालिएको नगर प्रमुख घनश्याम पाण्डेले बताए । मोतीविन्दुको शल्यक्रिया गर्दा प्रतिव्यक्ति ८ हजार खर्च लाग्छ, जसमध्ये उपमहानगरले ५ हजार र आँखा अस्पतालले ३ हजार बेहोर्ने सहमति भएको पाण्डेले बताए ।

उपमहानगरको एक वडामा सरदर एक सय बिरामी भेटिएका छन् । उनीहरूको वडामै पुगेर शल्यक्रिया गर्ने तयारी भइरहेको पाण्डेले बताए । यो योजना लमही नगरपालिकाका साथै गढवा र राजपुर गाउँपालिकामा पनि संचालन गर्न थालेको आँखा अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत थापाले बताए । जसअन्तर्गत गढवामा ३ सयमध्ये १ सय २० को शल्यक्रिया भएको उनले बताए ।
राजपुरमा २ सय ५३ मध्ये एक सयको शल्यक्रिया गरिएको छ । राप्तीका अन्य जिल्लामा पनि यस्तो अभियान चलाउने योजना बनाएको थापाले बताए । कर्णाली प्रदेशका हरेक जिल्लामा पनि यस्तो अभियान चलाउन खोजेको उनले जानकारी दिए । ‘कर्णाली प्रदेशमा ८ हजार बढी मोतीविन्दुका बिरामी भेटिएका छन् । कर्णालीमा शल्यक्रिया गर्न प्रतिव्यक्ति १० हजार खर्चको अनुमान छ,’ उनले भने, ‘कर्णाली प्रदेश सरकारले सकारात्मक जवाफ दिएको छ । त्यहाँ पनि यो अभियान चलाएर मोतीविन्दुमुक्त प्रदेश बनाउन सकिन्छ ।’ चेतना अभियानबाट आँखाको समस्या घटाउन मद्धत मिल्ने थापाले बताए ।

एक वर्षमा १६ हजार ८ सय ९० जनालाई आँखा स्वास्थ्यसम्बन्धी चेतना दिइएको उनले बताए । ३७ विद्यालयमा निःशुल्क आँखा जाँच कार्यक्रम सञ्चालन गरी १६ हजार ८ सय ९० जनाको उपचार गरिएको उनको भनाइ छ । जसमध्ये ६ सय ८८ जनालाई चस्मा प्रदान गरिएको छ । यसमा पनि ५१ प्रतिशत बालिका र ४९ प्रतिशत बालक छन् । ९७ स्थानमा आँखा जाँच शिविर चलाउँदा १९ हजार २ सय ७९ जनाको उपचार भएको छ । त्यसमा ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष छन् । दुर्गम क्षेत्रका १६ ठाउँमा निःशुल्क शल्यक्रिया शिविर चलाइएको थापाले बताए ।

प्रकाशित : फाल्गुन ३०, २०७५ १०:३४
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

जोडिँदै दुर्गम गाउँ

हरि गौतम

रुकुमपूर्व — जिल्लाका ५० दुर्गम गाउँ एकैसाथ जोडिन लागेका छन् । १५ ट्रस ब्रिज र झोलुंगे पुलमार्फत ती गाउँ जोडिन लागेका हुन् । यहाँका ३ वटै स्थानीय तहमा निर्माणाधीन ट्रस ब्रिज र झोलुंगे पुलको काम ८० प्रतिशत सम्पन्न भएको छ ।

रुकुमपूर्व सिस्ने गाउँपालिका–२ को तुबाङखोलामा बन्दै गरेको झोलुंगे पुल । तस्बिर : हरि/कान्तिपुर 

एउटा गाउँबाट अर्को गाउँ जोड्ने, गाउँबाट विद्यालय, स्वास्थ्य चौकी, गाउँपालिका तथा जिल्ला सदरमुकाम जोड्नका लागि ट्रस ब्रिज र झोलुंगे पुल बनाउन लागिएको हो । कतिपय ट्रस ब्रिज र झोलुंगे पुलले दुई जिल्लासमेत जोड्छन् ।

चालु आर्थिक वर्षभित्रै निर्माण सक्ने गरी सबैतिर काम भइरहेको सेवा प्रतिष्ठान रुकुमका व्यवस्थापक रणवीर रावलले बताए । उनका अनुसार सबै ट्रस ब्रिज र झोलुंगे पुलको बजेट तोकिसकिएको र जम्मा लागतमध्ये केही रकम मात्र आउन बाँकी रहेको छ । ५ करोड ९८ लाख १ हजार १ सय ९१ रुपैयाँमध्ये १ करोड १० लाख रुपैयाँ मात्र आउन बाँकी रहेको रावलले बताए ।

पुथाउत्तरगंगा गाउँपालिकामा बन्दै गरेका ५ ट्रस ब्रिज र झोलुंगे पुलले पेल्मा, हिम, गुइबाङ, रन्मामैकोट, काजरजजंग, हुकाम तथा छिमेकी जिल्ला बाग्लुङ जोडदै छन् । भूमेमा बन्ने ६ वटा ट्रस ब्रिज तथा झोलुंगे पुलले लुकुम, काँक्री, गुनाम, महत, तामरी, कुचिबाङ, सिमखोला, खाम्दै चुनबाङ, धर्मशाला, लाबाङ तथा रोल्पाको थबाङसमेत जोडिनेछन् । यसैगरी सिस्नेमा बन्ने ट्रस ब्रिज तथा झोलुंगे पुलले धपे, झिमखोला,लम्पाकोट, सान्चौर, स्यालापाखा, सुद्री, ओखरबोट, छिमेकी जिल्ला डोल्पा, भट्टेचौर, भङ, घोरखानी, रुकुम पश्चिमको मुसीकोट नगरपालिकाको साँखसमेत जोडिँदै छन् ।

विशेषगरी वर्षायाममा सर्वसाधारणलाई वल्लो गाउँदेखि पल्लो गाउँ जान समस्या हुने भएपछि जिल्लाका सबै स्थानीय तहमा एकैपटक १५ पुल बनाउन लागिएको हो । ट्रस ब्रिज तथा झोलुंगे पुल बनेपछि सर्वसाधारणलाई आवतजावतका साथै विद्यार्थीलाई विद्यालय, बिरामीलाई स्वास्थ्यचौकी जान सजिलो हुने भूमे गाउँपालिका–९ का अध्यक्ष प्रवेश पुनमगरले बताए ।

पुथाउत्तरगंगा गाउँपालिका–१ को जंघार खोलामा ट्रस ब्रिज, वडा २ को झार्लुङ खोलामा ट्रस ब्रिज, वडा ५ र २ जोड्ने पेल्मा खोलमा झोलुंगे पुल, वडा ५ को तामागार खोलामा झोलुंगे पुल र काजरजंग खोलामा झोलुंगे पुल बन्दैछन् । भूमे गाउँपालिका–१ को मूलबाङ खोलामा ट्रस ब्रिज, वडा ८ का चोरकाटेमा ट्रस ब्रिज, वडा ६ र ८ को बाख्रेखोरको सिमखोलामा ट्रस ब्रिज, वडा २ को खेबाङखोलामा ट्रस ब्रिज, वडा ९ को च्याङचुङ खोलामा झोलुंगे पुल, वडा ७ को मग्राखोलामा ट्रस ब्रिज बन्दैछन् । सिस्ने गाउँपालिका–८ को जामाखोलामा ट्रस ब्रिज, वडा २ को तुबाङखोलामा झोलुंगे पुल, वडा १ को च्यारगारखोलामा झोलुंगे पुल र वडा ६ को दोमैखोलामा ट्रस ब्रिज निर्माणकोकाम अन्तिम चरणमा पुगेको छ ।

पुथाउत्तरगंगा गाउँपालिकामा ५, भूमेमा ६ र सिस्ने गाउँपालिकामा ४ वटा ट्रस ब्रिज र झोलुंगे पुल बन्दै छन् । संघीय सरकार स्थानीय विकास मन्त्रालय र सम्बन्धित गाउँपालिकाको आर्थिक सहयोगमा झोलुंगे पुल सहयोगी इकाइ र सेवा प्रतिष्ठान नेपालको सामाजिक तथा प्राविधिक सहयोग र सेवा क्षेत्रका स्थानीयको श्रमदानबाट ट्रस ब्रिज र झोलुंगे पुल निर्माण भइरहेको छ । ट्रस ब्रिज र झोलुंगे पुल निर्माणमा संघीय सरकारको ९२, सम्बन्धित स्थानीय तहको ६ र सेवा क्षेत्रका स्थानीयको २ प्रतिशत श्रमदानको रकमबाट खर्च गर्ने व्यवस्था छ ।

पुथाउत्तरगंगा गाउँपालिकामा बनिरहेका २ ट्रस ब्रिज र ३ झोलुंगे पुल निर्माणमा २ करोड ७१ लाख ८ हजार बजेट आवश्यक पर्छ । जसमा संघीय सरकारको १ करोड ३४ लाख ५० हजार, गाउँपालिकाको १० लाख ४२ हजार ४ सय ३८ र ४ लाख १४ हजार ३ सय ७७ रुपैयाँ बराबरको श्रमदान स्थानीयले गर्नेछन् ।

पुथामा बन्ने ट्रस ब्रिज र झोलुंगे पुलका लागि ५० लाख बजेट आउन बाँकी छ । ५ वटा ट्रस ब्रिज र एउटा झोलुंगे पुल बनिरहेको भूमे गाउँपालिकामा १ करोड ४६ लाख ९३ हजार १ सय ९१ रुपैयाँ खर्च हुँदै छ । जसमा १ करोड १२ लाख ६० हजार रुपैयाँ संघीय सरकारले लगानी गरेको छ भने ८ लाख ८१ हजार भूमे गाउँपालिकाको तथा २ लाख ९३ हजार ८ सय ६३ रुपैयाँ बराबरको श्रमदान स्थानीयले गर्नेछन् ।

भूमेका ६० लाख बजेट आउन बाँकी छ ।२ ट्रस ब्रिज र २ झोलुंगे पुल बन्ने सिस्ने गाउँपालिकामा १ करोड ८० लाख बजेट खर्च हुँदैछ । जसमा संघीय सरकारका तर्फबाट १ करोड १२ लाख, गाउँपालिकाले ११ लाख तथा ३ लाख ७२ हजार रपैयाँ बराबरको श्रमदान स्थानीयले गर्नेछन् ।

प्रकाशित : फाल्गुन ३०, २०७५ १०:३१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT