१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

उपचार गर्न नसक्दा दाम्लोमा

कान्तिपुर संवाददाता

पाल्पा — अभिभावकले उपचार गर्न नसकेपछि यहाँका एक युवा चार वर्षदेखि दाम्लोमा बाँधिएर बस्नुपरेको छ । निस्दी गाउँपालिका–१, बाँकामलाङ राहुवनका २१ वर्षीय हिमाल वंशीलाई उपचार गर्ने पैसा नभएपछि दाम्लोमा बाँधिनु परेको हो । उनको उपचार खर्च जुटाउन नसक्दा परिवारले डोरीले बाँधेर राखेका छन् । 

उपचार गर्न नसक्दा दाम्लोमा

आर्थिक अभावमा उनको मानसिक रोगको उपचार हुन सकेको छैन । उनकी आमा टुकमाया वंशीले पैसा अभावकै कारण अहिले उपचार गर्न नसकेको बताइन् । यसअघि उपचार गर्दाको ऋण अझै तिर्न सकेका छैनन् । थप उपचार गर्न उनले आफूहरूसँग पैसा नभएको बताइन् । ‘त्यसै छाड्दा उपद्रो मच्याउने भएकाले बाँध्नु परेको हो,’ उनले भनिन्, ‘कसैको केही नबिगारोस् भन्ने हेतुले बाँधेर राख्नु परेको छ ।’


बाबु केशरबहादुरले परिवारकै जेठो छोरालाई दाम्लोमा बाँधेर राख्नु परेको दुःखेसो सुनाए । विपन्नताले अस्पतालसम्म लैजान नसक्दा वर्षार्ैंदेखि बाँधेर राख्न बाध्य भएको उनको जिकिर थियो । ‘व्यथाले च्यापेपछि यसरी नै बाँधेर राख्नुपर्छ,’ उनले भने, ‘नत्र सामान तोडफोड गरेर हैरान पार्छ ।’ रोगले च्यापेपछि अस्वाभाविक क्रियाकलाप देखाउने उनको बानी रहेको बुबा केशरबहादुरले बताए ।


गाउँघर डुल्ने र जंगलतिर गएर शरीरभरि चोट लिएर आउने भएकाले पनि बाँध्नु परेको उनले सुनाए । घरको माथिल्लो भागमा राख्दा टिनलाई ठोक्ने र घरभित्रै बाँधेर राख्दा पनि समस्या सिर्जना गरेकाले उनलाई गोठमा राख्न बाध्य भएको उनले बताए । आमा टुकमायाका अनुसार सामान्य अवस्थामा रहेको छोरालाई चार वर्षअघिदेखि बढी समस्या देखिएको हो । ‘पढ्दापढ्दै ४ पास गरेर पैसा कमाउन जान्छु भन्दै भारत गयो,’ उनले भनिन्, ‘भैंसी, बाख्रा बेचेरै भए पनि पढाउँछु भनेकी थिएँ तर आफैं भारततिर लाग्यो । पहिलोपटक राम्रै कमाइ गरेर फर्कियो ।’


दोस्रोपटक आउँदा बिरामी भएर फर्किएको उनले सुनाइन् । तत्कालै काठमाडौं लगनखेल लगेर औषधि नगरेका पनि होइनन् । निरन्तर औषधि सेवन गर्दा सन्चो पनि भएको थियो । आफैंले अब निको भएँ खान्न भनेर औषधि छाडेका हुन् । पछि काम गर्न तराईतिर गए । त्यसपछि व्यथा पुनः बल्झियो । बुबाआमाले उपचार गर्न लैजाने पैसा भएन । लामाधामी गरे तर बिसेक भएन । गाउँलेसँग ऋण खोजेर औषधि गरेको उनले सुनाए ।


पछि पुनः औषधि उपचार गर्दा सन्चो भएन । त्यसपछि पुनः अस्वाभाविक क्रियाकलाप गर्न सुरु गरेपछि बाँधेर राख्नु परेको उनले बताए । उनलाई खाना खुवाउनुपर्छ । दिसापिसाब पनि स्याहार्नु पर्छ । ‘आफ्नो छोरालाई यो हालतमा राख्न कसको मनले मान्थ्यो र ?’ बाबु केशरबहादुरले भने, ‘आर्थिक समस्याका कारण छोराको अवस्था देखेर पनि नदेखेझैं गर्नु परेको छ । सबैसँग हात फिंजाइसकें, अब के गर्नु ?’


हिमालका दिदीबहिनीको बिहे भइसकेको छ । भाइ पनि रोजगारका लागि भारत छन् । अवस्था सुधारका लागि निस्दी–१ वडा कार्यालयले पनि सक्दो सहयोग गर्ने जनाएको छ । वडाध्यक्ष पूर्णबहादुर खाँणले वडाले सक्दो रकम सहयोग गर्ने बताए ।

प्रकाशित : फाल्गुन ३०, २०७५ १०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?