एकद्वार सेवा कक्ष : भन्नूस् के काम गर्नुपर्‍यो ?

माधव ढुंगाना

भैरहवा — गेटबाट पस्नासाथ सामुन्नेमै छ, नागरिक सहायता तथा एकद्वार सेवा कक्ष । यहाँ कार्यरत ३/४ जना कर्मचारीले सेवाग्राहीलाई देख्नासाथ बेन्च, कुर्सीमा बस्न आग्रह गर्छन् । अनि, नरम बोलीमा सोध्छन्, ‘भन्नूस् के काम गर्नुपर्‍यो ?’ सेवाग्राहीले आफ्नो काम बताएपछि कर्मचारी आफैं सेवाग्राहीको फाइल लिएर सम्बन्धित फाँटमा जान्छन् ।

नेपाल विद्युत् प्राधिकरण भैरहवा वितरण केन्द्रले सञ्चालनमा ल्याएको नागरिक सहायता तथा एकद्वार प्रणाली कक्षबाट सेवा लिँदै गरेका सेवाग्राही । तस्बिर : कान्तिपुर

कतै नधाइकन कुर्सीमै बसीबसी काम फत्ते हुन्छ । केही दिनयता नेपाल विद्युत् प्राधिकरण भैरहवा वितरण शाखाले कार्यान्वयनमा ल्याएको ग्राहकमैक्री कार्यत्रम हो यो । एक महिनाअघिसम्म त्यहाँको अवस्था फरक थियो ।

Citizen


कार्यालयका हरेक फाँटमा सेवाग्राहीको ठेलमठेल हुन्थ्यो । तोक लगाउनेदेखि आफ्ना समस्या राख्न सेवाग्राहीको भीडले कार्यालय प्रमुखको कार्यकक्ष पनि भरिएको हुन्थ्यो । ‘यति नम्बर कोठा कता छ ?, फलानो फाँट कता पर्छ ?’ कार्यालय परिसरमा भेटिने व्यक्तिसँग जताततै सेवाग्राहीले यस्तै प्रश्न सोध्ने गर्थे । अहिले पनि प्राधिकरणका अन्य वितरण शाखामा यस्तै अवस्था छ ।

‘अहिले त यस कार्यालयमा धेरै सजिलो भएको छ,’ घरमा विद्युत् क्षमता वृद्धि गर्न यहाँ आइपुगेकी सिद्धार्थनगर नगरपालिका–७ जनकपथकी सरस्वती पाण्डेले भनिन्, ‘पहिला एउटा कामलाई हप्ता दिन धाउँदा पनि कर्मचारीले भोलि आउनूस् भन्दै फाइल पन्छाइदिन्थे ।’ पहिलाजस्तो अहिले सेवाग्राहीले काम गराउन फाँट–फाँट खोज्दै हिँड्नु नपर्ने र स्वयं कर्मचारीले गरिदिने गरेको उनले बताइन् । ‘यहाँजस्तै अन्य कार्यालयमा पनि सजिलो गराइदिए हुने थियो,’ उनले भनिन् ।

आवेदन फर्म बुझाउनेदेखि राजस्व बुझाउनेसम्मका सबै काम एकै स्थानबाट हुने गर्छन् । विद्युत् मिटर जडान, लगत खारेज, क्षमता वृद्धि, नामसारीलगायतका काम एकै स्थानबाट हुन्छन् । पहिला यी कामका लागि ५–६ वटा फाँटमा ३/४ पटकका दरले सेवाग्राहीआफैं फाइल बोक्दै धाउनु पर्थ्यो ।

एकद्वार प्रणालीअन्तर्गत सबै सेवा एउटै स्थानबाट उपलब्ध गराइएको विद्युत् प्राधिकरणको वितरण शाखामध्ये यो नमुना हो । ‘सामान्यतः एउटा कामका लागि यो फाँट र त्यो फाँट भन्दै सेवाग्राही दिनभरि कार्यालय परिसरमै भौंतारिंदा एकातिर समयको बर्बादी अर्कोतर्फ कुन फाँट कता छ भन्ने अन्योल,’ वितरण शाखाका प्रमुख उमेश झाले भने, ‘समस्यासमाधानका लागि हामी कर्मचारीले आपसमा छलफल गरेर एकद्वार प्रणालीबाट जाने भन्ने निर्णय अनुरूप कक्ष संचालनमा ल्याएका हौं ।’

एकद्वार प्रणालीअन्तर्गत एउटै स्थानबाट सबै सेवा प्रदान गरिएको विद्युत् प्राधिकरणको वितरण शाखामध्ये यो नमुना भएको उनले दाबी गरे । सेवा लिनका लागि पहिलोपटक आउने ग्राहकलाई कुन सेवाका लागि कुन फाँटमा जाने भन्ने थाहा हुँदैन । दिनभरि यो कोठा र ऊ कोठा गर्दै उसको समय बित्छ । प्रायः ग्रामीण भेगबाट आउने ग्राहक यो समस्याबाट बढी पीडित हुने गरेका थिए ।

वृद्धवृद्धा र अपांगलाई अझ बढी समस्या हुन्थ्यो । अहिले यहाँ कामको प्रकृति हेरेर सेवाग्राहीलाई सेवा प्रदान गर्ने गरिन्छ । जतिसक्दो छिटो सेवा प्रदान गर्ने नागरिक सहायता कक्षको लक्ष्य छ । केही दिन लाग्ने र पर्खनुपर्ने कामका लागि कक्षका कर्मचारीले आवेदन बुझेपछि सम्पन्न हुन कति दिन लाग्छ, दिनै तोकेर सम्पर्क गर्न आग्रह गर्छन् ।

प्रकाशित : फाल्गुन ३०, २०७५ १०:३८
प्रतिक्रिया
पठाउनुहोस्

विद्यार्थी नै पढ्छन्, पढाउँछन्

रूपन्देहीका केही विद्यालयले शिक्षकले पढाउने र विद्यार्थीले पढ्ने चलन फेरेका छन् । विद्यार्थी नै पढ्छन् र विद्यार्थी नै पढाउँछन् । शिक्षक सहयोगी मात्रै बन्छन् । 
अमृृता अनमोल

बुटवल — विद्यालयका कक्षाकोठामा शिक्षक के गर्छन् ? धेरैलाई लाग्छ– विद्यार्थी पढाउँछन् । विद्यार्थी पढ्छन् वा शिक्षकले पढाएको सुन्छन् । रूपन्देहीका केही विद्यालयले भने शिक्षकले पढाउने र विद्यार्थीले पढ्ने चलन फेरेका छन् । विद्यार्थी नै पढ्छन् । विद्यार्थी नै पढाउँछन् । शिक्षक सहयोगी मात्रै बन्छन् । 

बुटवलको नवीन औद्योगिक कदरबहादुर रीता माविका विद्यार्थीहरू आफूले तयार गरेका माटोका सामग्री देखाउँदै । तस्बिर : अमृता/कान्तिपुर

बुटवलका कालिका मानवज्ञान मावि, नवीन औद्योगिक कदरबहादुर रीता मावि, कान्ति मावि, तिलोत्तमाको शान्ति नमुना माविलगायतले यस्तो अभ्यास गरेका हुन् । यसले सिकाइ उपलब्धि बढाउन सहयोग पुगेको छ । परीक्षामा यी विद्यालयले जिल्ला र प्रदेशमा मात्रै होइन, देशमै नमुना नतिजा ल्याएका छन् ।

विद्यालयले हरेक कुरालाई प्रयोगात्मक अभ्यासमा लैजान्छन् । विद्यार्थीकै अगुवाइमा विद्यार्थीबीच प्रतिस्पर्धाबाट सिकाउँछन् । यसो गराउँदा विद्यार्थी सिक्न जागरुक हुन्छन् । सिकाइ दिगो र प्रभावकारी हुन्छ । कालिका मानवज्ञान माविका प्रधानाध्यापक घनश्याम पाठकले अनुभव कक्षामा शिक्षकको भूमिकालाई सहयोगीका रूपमा मात्रै ढालेको बताए । ‘हरेक कक्षामा ५ देखि ७ वटा समूह बनाएका छौं । एक समूहमा ७ जना विद्यार्थी हुन्छन्,’ उनले भने, ‘तिनै समूहले शिक्षकको सहयोगमा पालैपालो कक्षा चलाउँछन् र नजानेको कुरा अभ्यास गर्छन् ।’ विद्यालयले हरेक कक्षामा प्रोजेक्टर राखेको छ । स्मार्ट कार्डको प्रयोग गरिएको छ । यसले पनि कक्षाको सिकाइ प्रभावकारी बनेको प्रधानाध्यापक पाठकको दाबी छ ।

प्रधानाध्यापक पाठकका भनाइमा विद्यार्थीमा पठन संस्कृतिको विकास गर्न साताको २ दिन लाइब्रेरीमा लगिन्छ । त्यहाँ उनीहरूले
आफ्ना रुचिका पुस्तक पढ्छन् । इमेल र इन्टरनेट चलाउँछन् । प्रत्येक कक्षामा विद्यार्थीद्वारा सञ्चालित सदन छन् । उनीहरूको अगुवाइमा फ्रत्येक साता अतिरिक्त त्रियाकलाफ हुन्छन् । विद्यालयस्तरमा १० वटा सदन छन् । सदनले नियमित अक्तिरित्त क्रियाकलाप गर्छन् । विद्यार्थी विद्यालयभित्र र बाहिर हुने विज्ञान प्रदर्शनीदेखि कला प्रदर्शनीसम्ममा सहभागी हुन्छन् । खेलकुद, वक्तृत्वकला र हाजिरी जवाफमा यहाँका बालबालिकाले थुप्रै पुरस्कार जितेका छन् ।

शिक्षकलाई समयमा विद्यालय आउने बनाउन डिजिटल हाजिरीको व्यवस्था गरिएको छ । १० बजेको घण्टी लागेपछि विद्यार्थी र शिक्षक दुवैले विद्यालयमा प्रवेश पाउँदैनन् । समयमा विद्यालय नआउने शिक्षक र विद्यार्थी त्यो दिन घर फर्किनुपर्छ । यसको अनुगमन पनि शिक्षक र विद्यार्थी दुवैले गर्छन् । अनुशासन र कर्तव्य पालनाले मात्र गुणस्तरीय शिक्षा प्रदान गर्न सकिने भएकाले यसो गरेको प्रधानाध्यापक पाठकले बताए । ‘हरेक नियम विद्यार्थीलाई पढाउने होइन, सिक्ने सिकाउने र आनीबानी सुधार्ने दृष्टिकोणबाट बनाएका छौं,’ उनले भने, ‘यसले विद्यार्थीलाई मिहिनेती, लगनशील र अनुशासित बनाउनसमेत सहयोग पुगेको छ ।’

विद्यार्थीलाई नै अग्रसर बनाएर सिकाउन सुरुवात गरेको अर्को विद्यालय हो, नवीन औद्योगिक कदरबहादुर रीता मावि । यहाँ विद्यार्थी पढ्दैनन् । समूह बनाएर सिक्छन् । शिक्षकबाट विद्यार्थीको मूल्यांकन हुन्छ । विद्यार्थीबाट समेत शिक्षकको मूल्यांकन हुन्छ । विद्यार्थीबाटै पृष्ठपोषण दिन लगाइन्छ र त्यही पृष्ठपोषणका आधारमा शिक्षकको सिकाइ विधि सुधारिन्छ । कक्षाकोठाको सिकाइ विधिमा मात्रै होइन विद्यालयका अन्य गतिविधिमा पनि विद्यार्थी नै अनुगमन गर्छन् ।

यसका लागि शिक्षक, प्रधानाध्यापक, विद्यालय व्यवस्थाफन समिति र विद्यार्थीबाट संयुक्त अनुगमन टोली बनाइएको छ । विद्यालयमा बालक्लब छ । हरेक कक्षामा सदन छन् । तिनै सदनले सिकाइ त्रियाकलाप गर्छन् । विद्यार्थी बस्ने स्थान हरेक दिन रोटेसन हुन्छ । हरेक क्रियाकलापमा हरेकलाई अवसर दिइन्छ । जानेका विद्यार्थीले नै नजानेकालाई सघाउँछन् । त्रुटि पत्ता लगाउन र समाधान गर्न पनि विद्यार्थी नै जुट्छन् ।

प्रधानाध्यापक प्रेमबहादुर बस्नेतले विद्यालयलाई बालमैत्री, विद्यार्थीमैत्री र सिकाइमैत्री बनाउन यसो गरिएको बताए । ‘यसले विद्यार्थीलाई हरेक कुरा सिक्न उत्प्रेरित गरेको छ । सिकेको कुरा सम्झिरहने बनाएको छ,’ उनले भने, ‘शिक्षकलाई पनि विद्यार्थीलाई पढाउन र बुझाउन धेरै बल प्रयोग गर्नु परेको छैन ।’ विद्यालयमा चकको प्रयोग हुन छाडेको छ । कलम र डस्टरको साटो प्रोजेक्टरको प्रयोग बढेको छ । हरेक कक्षामा शैक्षिक सामग्रीको प्रयोग गरिन्छ । कतिपय शैक्षिक सामग्री विद्यार्थी आफैंले बनाउँछन् ।

विद्यालयमा ठूलो र व्यवस्थित पुस्तकालय छ । सुविधायुक्त वाईफाई छ । विद्यार्थी इन्टरनेटबाट नयाँ कुरा सिक्छन् । विद्यार्थी रीतिका मण्डलले ई–लाइब्रेरी, इन्टरनेट र शैक्षिक सामग्रीको प्रयोगले विद्यालयमा सिक्न रमाइलो लाग्ने बताइन् । ‘सरले पढाउने मात्रै, हामीले किताब घोक्ने वा प्रश्नोत्तर पढ्ने मात्रै हुँदा पढ्न जाँगर नै लाग्दैनथ्यो,’ उनले भनिन्, ‘आफैंले खोज्दै सिक्दै र जान्दै गर्न पाउँदा पढाइमा अल्छी लाग्न छाडेको छ ।’ न्यूनतम सिकाइ नसिक्ने विद्यार्थीलाई बिहान र साँझको समयमा निःशुल्क अतिरिक्त कक्षा सञ्चालन गरिएको छ । ‘यस्तो कक्षामा पनि शिक्षकले विद्यार्थीलाई सहजीकरण मात्रै गर्ने हो,’ शिक्षक राजन अधिकारीले भने, ‘विद्यार्थी आफैंले सिक्ने अभ्यास गर्छन् ।’

डर, धम्की र रटानले मात्रै सिकाइ उपलब्धि बढाउन नसकेपछि शान्ति नमुना माविले विद्यार्थी केन्द्रित सिकाइ थालेको छ । विद्यालय पढ्ने पढाउने मात्रै नभई सिक्ने सिकाउने थलोका रूपमा विकास भएको प्रधानाध्यापक कुलप्रसाद लामिछानेले बताए । कक्षा शिक्षकको सट्टा विद्यार्थीलाई केन्द्रमा राखेर सञ्चालन हुन्छ । विद्यार्थीको रुचि र सक्रियतामा कक्षा योजना बन्छ । विद्यार्थीलाई सिक्ने जिम्मेवारी हाम्रो हो भन्ने बनाइन्छ । शिक्षक र विद्यार्थीबीच डर हुँदैन । दूरी पनि हुँदैन । साथीको व्यवहार हुन्छ । ‘धेरैजसो विद्यार्थीले समस्या ल्याउँछन् । शिक्षकले समाधान गरिदिन्छन्,’ प्रधानाध्यापक लामिछानेले भने, ‘कहिले शिक्षक आफैंले समस्या सिर्जना गरिदिन्छन् र विद्यार्थी समाधानको अभ्यास गर्छन् ।’

सिकाइ प्रभावकारी बनाउन शिक्षक आफूले गर्ने कामको वार्षिक कार्ययोजना बनाउनुपर्ने नियम छ । यो योजनामा पुग्न दैनिक पाठयोजना बनाउनुपर्छ । योजना बनाएर मात्रै कक्षामा जानुपर्छ । कुनै पनि कक्षा खाली गर्न नपाइने नियम छ । आराम कक्षा भएका शिक्षक भए पनि जानुपर्छ । ‘योजनाविहीन कक्षा र उपलब्धिविहीन पढाइले विद्यार्थीलाई मिहिनेती बनाउन र शैक्षिक उपलब्धि हासिल गर्न सकिँदो रहेनछ,’ उनले भने, ‘यसैलेविद्यार्थीलाई सिक्ने र शिक्षकलाई सिक्न सघाउने भूमिकामा राखेका हौं ।’

आफ्नै सक्रियतामा कक्षा चल्ने र सिकाइ हुने भएपछि विद्यार्थी पनि पढाइप्रति सजग र जिम्मेवार हुन थालेका छन् । अर्कोदिन कक्षामा पढाउने विषय अघिल्लो दिन नै घरमा तयारी गर्न थालेका छन् । नवीन औद्योगिक कदरबहादुर रीता माविमा कक्षा ९ का छात्र डेनिश गाहले आफ्नो समूहको प्रस्तुति प्रभावकारी बनाउन पूर्वाभ्यास गरेर मात्रै कक्षामा जाने बताए । ‘अर्को समूहले सिकाउँदा उसको गल्ती भेट्टाउन सकिन्छ कि भनेर ध्यान दिन्छौं,’ उनले भने, ‘आफूले पढाउँदा साथीले गल्ती भेट्टाउँछन् कि भनेर अझ बढी ध्यान दिन्छौं ।’ यसले सिक्न र सिकेको कुरा सम्झन सजिलो भएको उनले बताए ।

शिक्षा तथा समन्वय इकाइ अधिकृत हरि विष्टले विद्यार्थी केन्द्रित सिकाइ पद्धति शैक्षिक उपलब्धिको ठूलो आधार भएको बताए । शिक्षकलाई एकोहोरो पढाउन र विद्यार्थीलाई रटाउन दिने पद्धति फेर्न अन्य विद्यालयमा समेत यसको सिको गर्न आग्रह गरेको उनले बताए । ‘शिक्षकको काम सिकाइमा रुचि जगाइदिने र विद्यार्थीलाई समस्या समाधान गर्न प्रेरित गर्ने हो,’ उनले भने, ‘यी विद्यालयले त्यसैलाई पछ्याउँदा शैक्षिक फड्को मारेका छन् ।’

प्रकाशित : फाल्गुन ३०, २०७५ १०:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्