प्रदेश ५ मा लगानी : १ वर्षमा ३३ अर्ब थपियो
(बुटवल) — प्रदेश ५ मा ठूला लगानीका उद्योग थपिने क्रम बढिरहेको छ । कच्चा पदार्थ आयात र उत्पादन निर्यात सहज भएकाले सीमा जोडिएका जिल्लामा उद्योग खुल्ने क्रम बढेको हो । पश्चिम नवलपरासीदेखि नेपालगन्जसम्म उद्योग सञ्चालन भइरहेका छन् । आर्थिक वर्ष ०७४/०७५ मा प्रदेशमा ५३ वटा ठूला उद्योग थपिएका थिए । ती उद्योगमा ३३ अर्ब ८५ करोड २६ लाख ७० हजार रुपैयाँ लगानी भएको छ ।
उद्योगमा विदेशी लगानी उत्साहजनक वृद्धि भइरहेको छ । प्रदेश सरकारको वस्तुस्थिति विवरणअनुसार यहाँ १ सय ७८ वटा विदेशी लगानीका उद्योग छन् । त्यसमध्ये १ सय १० साना, ३९ मझौला र २९ ठूला हुन् । ती उद्योगमा १३ अर्ब ६३ करोडको लगानी छ । गत आर्थिक वर्षमा मात्रै ४ अर्ब ३८ करोड २९ लाख १० हजार वैदेशिक लगानी भित्रिएको थियो । प्रदेशमा सबैभन्दा धेरै वैदेशिक लगानी नवलपरासी पश्चिम र रूपन्देहीमा छ । यहाँका उद्योगमा भारत, चीन, जापान, अमेरिका, डेनमार्कलगायत देशले लगानी गरेका छन् । पछिल्लो समय उद्योगमा लगानीका लागि आउने चिनियाँ कम्पनी पनि बढेका छन् ।
प्रदेश औद्योगिक हबका रूपमा विकास हुँदै गएको छ । प्रदेश सरकारले सार्वजनिक गरेको प्रदेश वस्तुस्थिति विवरणअनुसार यहाँ ५ सय ८२ वटा ठूला उद्योग छन् । ठूला सिमेन्ट उद्योग बढ्ने क्रम छ । देशका क्लिंकर आयात गरी सिमेन्ट उत्पादन गर्ने ३६ मध्ये २१ उद्योग यहाँ छन् । आफ्नै क्लिंकर उत्पादन गरी सिमेन्ट उत्पादन गर्ने ११ मध्ये ५ उद्योग प्रदेशमा छन् । देशका १८ वटा छड उद्योगमध्ये ८ वटा यहाँ छन् । मैदा, कुखुराको दाना, ह्याचरी, प्लास्टिकजन्य उत्पादन, कागज, प्लाइउड, फोम, फुटवेयरजस्ता ठूला उद्योगसमेत बढेका छन् ।
खाद्यान्नमा चाउचाउ, बिस्कुट, चप्पल, जुत्ता, दाल, मैदा तथा औषधि, बियरलगायत उद्योग थपिएका छन् । यस वर्ष भैरहवामा रहेको विशेष आर्थिक क्षेत्र (सेज) मा १८ उद्योगीले उद्योग स्थापनाका लागि पूर्वाधार निर्माण गरिरहेका छन् । औद्योगिक सहजताका लागि पछिल्लो समयमा बाँके र रूपन्देहीमा नयाँ औद्योगिक क्षेत्र सञ्चालनको तयारी भइरहेको छ । तिनमा करिब १ हजार उद्योग थपिनेछन् ।
प्रादेशिक योजना आयोगका उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठका अनुसार विशाखापट्टनम् बन्दरगाह सञ्चालनमा आएपछि वीरगन्जको साटो बेलहिया नाकाबाट कच्चा पदार्थ ल्याउन सहज भइरहेको छ । छोटो दूरीका कारण बेलहिया नाका हुँदै ल्याइने कच्चा पदार्थका लागि यस क्षेत्रमा उद्योग सञ्चालन व्यवसायीका लागि लाभदायक हुने भएकाले चिनियाँ लगानीकर्ता आकर्षित भएका हुन् ।
प्रदेशमा सबैभन्दा धेरै रूपन्देहीमा ठूला उद्योग ३ सय २० वटा छन् । बाँकेमा १ सय ८५ र कपिलवस्तुमा १ सय १० ठूला उद्योग छन् । बर्दिया, दाङ, नवलपरासी पश्चिम औद्योगिक क्षेत्रका रूपमा अघि बढेका छन् । दाङ र रूपन्देही सिमेन्ट हबका रूपमा विकास भएका छन् । प्रदेशका करिब ४५ हजार बासिन्दा ठूला उद्योगमा संलग्न छन् ।
उपाध्यक्ष श्रेष्ठले भारतसँगको आयात निर्यातका लागि सहज र नजिकको दूरी भएको प्रदेश भएकाले उद्योगमा लगानी बढेको बताए । ‘मधेस आन्दोलन र भारतीय नाकाबन्दीका बेला प्रदेश ५ को मुख्य नाका बेलहिया शान्त र सहज रह्यो ।
आयात निर्यात रोकिएन । आसपासका उद्योग यथावत् सञ्चालन भए,’ उनले भने, ‘यही छापले रूपन्देही, कपिलवस्तु, नवलपरासी पश्चिममा उद्योग खुल्ने र विस्तार हुने क्रम बढेको छ ।’ भौतिक पूर्वाधार विकास र सडक सञ्जाल बढ्दै जाँदा दाङ र बाँकेमा ठूला उद्योग खुलेका छन् ।
प्रकाशित : चैत्र १, २०७५ १०:०४