२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

दलित बस्ती राताम्य

(प्यूठान) — गौमुखी गाउँपालिका–२ स्थित अर्खा डाँडागाउँमा ४ महिनाअघिसम्म सबैका घर खरले छाएका झुप्रा थिए । दलित बस्तीमा पुग्ने जोकोहीले खरले छाएका घर भएकाले आगलागीको जोखिम हुने बताउँथे । अहिले बस्तीको त्यो अवस्था फेरिएको छ । पहिलेका एक तले झुप्रा अहिले २ तले जस्तापाताले छाएका घरमा परिणत भएका छन् । आगलागीको जोखिम पनि हटेको छ । 

दलित बस्ती राताम्य

जस्तापाताले छाएपछि डाँडागाउँ रातै देखिन्छन् । २ महिना अवधिमा गाउँमा १६ नयाँ घर निर्माण गरेर जस्तापाताले छाइसकेको स्थानीय चुमान कामीले बताए । ‘स्थानीयले वर्षौं लागेर पनि बदल्न नसकेका खरका छाना अहिले फेरिएका छन्,’ उनले भने, ‘गाउँपालिकाबाट जस्तापाता पाउने भएपछि भारतमा रोजगारीमा जानुपर्ने पनि घर छाउन यतै बसेका छन् ।’ डाँडागाउँमा अझै १०/१२ घर निर्माणको चरणमा रहेको उनले बताए । ‘सबैले नयाँ घर बनाउन थालेपछि गाउँमा काम गर्ने ज्यामी अभाव भएको छ,’ उनले भने, ‘यसले गर्दा ढिलाइ भएको हो । नत्र सबैघर निर्माण भइसक्थे ।’


सबैका घर जस्ताले छाएर रातै भएपछि गाउँमा रौनक बढेको स्थानीयले बताए । खरका छाना हुँदा पानी चुहिएर हैरान बनाउँथ्यो । जस्तापाताले छाउन पाउँदा धेरै खुसी लागेको स्थानीय जीतु कामीले बताए । ‘पर्म गरेर बुकुरो घर अग्लो बनाएर जस्तापाताले छाएको छु,’ उनले भने, ‘अब पानी पर्दा बर्खामा ढुक्कसँग सुत्न/बस्न पाइने भो ।’ डाँडागाउँमा मात्र नभएर यस वर्ष गाउँपालिकामा खरले छाएका घर हटाएर जस्तापाताले छाउने काम भइरहेको छ । यही आर्थिक वर्षभित्र खरका सबै छाना हटाउने गरी बजेटको व्यवस्था गरेर जस्तापाता वितरण गरिने गाउँपालिकाको दाबी छ ।


गाउँपालिकाले उपलब्ध गराएको तथ्यांक अनुसार यस वर्ष पालिकाले १ हजार १ सय ३३ घरमा जस्तापाता लगाउँदै छ । अहिलेसम्म ९ सय ४४ घर जस्तापाताले छाइसकिएको प्रमुख प्रशासकीय अधिकृत प्रेमचन्द्र अर्यालले बताए ।

वडा–१ मा १ सय ६, २ मा १ सय १५, ३ मा ३ सय ८, ४ मा १ सय ९८, ५ मा ९०, ६ मा ५५ र ७ वडामा ७५ घर जस्तापाताले छाइसकिएको अर्यालले बताए । जस्तापाता खरिदका लागि गाउँपालिकालाई प्राप्त वित्तीय समानीकरण अनुदानबाट ५ करोड ३० विनियोजन गरेको थियो । हुलास कम्पनीका राता जस्तापाता खरिद गरेर वडामा वितरणका लागि पठाइसकेको उनले बताए । ‘केही महिनामै पालिकाभरि नै खरले खाएका छाना हटनेछन्,’ अर्यालले भने, ‘त्यसपछि गौमुखीमा आगलागीको डर कम हुनेछ ।’


पिछडिएको समुदायलाई प्रत्यक्ष पाइदा पुगोस् भनेर जस्तापाता वितरण गर्ने कार्यक्रम बनाएको गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरीले बताए । ‘पहिलो कुरा सुरक्षित आवास हो,’ उनले भने, ‘गरिबले काम गरेर जुटाएको दुई छाक ढुक्कले बसेर खाऊन् भन्ने हाम्रो उद्देश्य हो ।’


गरिब परिवार एकै ठाउँमा बसोबास गर्ने र सधैं आगलागीले नोक्सानी भइरहने भएकाले खरका छाना हटाऊने कार्यक्रम ल्याइएको गिरीले बताए । कार्यत्रमले प्रत्यक्ष रूपमा गरिब परिवारलाई फाइदा पुगेको उनले बताए । ‘जनताका वर्षौं पुराना झुप्रा फेरिएका छन्,’ अध्यक्ष गिरीले भने, ‘हरेक वर्ष घर छाउनुपर्ने झन्झटबाट समेत स्थानीय मुक्त भएका छन् ।’


प्रकाशित : चैत्र १, २०७५ ११:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?