'ओके बाजे’ लाई अभिनन्दन

माधव अर्याल

(पाल्पा) — जापानी नागरिक काजुमासा काकिमी ‘ओके बाजे’ लाई २५ वर्षसम्म जिल्लामा सेवा गरेको अवसरमा बिहीबार तानसेनमा नागरिक अभिनन्दन गरिएको छ । अभिनन्दन समितिका संयोजक सुन्दरप्रसाद श्रेष्ठलगायत १ सय ७१ संघसंस्थाले काकिमीलाई अभिनन्दनपत्र प्रदान गरे । पाल्पाली ढाकाको दौरा सुरुवाल, टोपीमा सजिएका उनलाई तानसेन बजार परिक्रमा गराइयो । बन्दले गर्दा गाउँगाउँबाट जनता आउन नपाएको आयोजक समितिले जनाएको छ । 

२५ वर्षे सम्झना स्वरूप पुस्तकसमेत प्रकाशित गरिएको छ । अभिनन्दन समारोहमा जापानबाट सयभन्दा बढी जापानी नागरिकसमेत सभागी हुन आएका छन् । काकिमीले जिल्लाको पूर्वभेगका सयौं स्थानीयलाई शैक्षिक र सामाजिक विकासका लागि महत्त्वपूर्ण योगदान पुर्‍याएका छन् । ग्रामीण भेगका विद्यालयको भवन निर्माण, क्लबलाई सहयोग, गरिब तथा विपन्न समुदायका बालबालिकाको शैक्षिक विकास, आमा समूह, बालक्बल, स्वास्थ्य क्षेत्रका विकासका लागि सहयोग गर्दै आएका थिए । कहीं कतै रेकर्ड नभए पनि २५ वर्षमा ५० करोडभन्दा बढी सहयोग भित्र्याएको अनुमान स्थानीयको छ ।


सन् १९३९ मा जापानको टोकियोमा जन्मेर बासोदा विश्वविद्यालयबाट स्नातक उत्तीर्ण छन् । उनले टोकियोमै उच्च माविमा २३ वर्ष अध्यापन गराए । अवकाशपछि २०५० सालमा नेपाल आए । उनी गरिबी, अशिक्षा र चेतनास्तरको कमीका कारण गाउँमा अधिकांश बालबालिका विद्यालय नजाने, सरसफाइमा ध्यान नदिने गरेको देखेपछि यहीं बसेर जापानमा सहयोग जुटाउने र ल्याएर वितरण गर्ने गरेका छन् । ७९ वर्षको ढल्किँदो उमेरमा पनि गाउँको समाजसेवामा रमाएको मूल आयोजक समितिका सचिव देवराज देवकोटाले बताए । मगरी परिवेश र गाउँमा रमाउने उनलाई समय बितेको पत्तै नहुने उनले बताए । जापानिज र अंग्रेजी भाषासमेत नबुझ्ने यहाँका मगर समुदायले उनको नामै ‘ओके बाजे’ राखिदिएका छन् । जल्पाको ढोलीमारा, सिलुवाको छिस, ज्यामिरेको भुटुकेमा उनी बढी बसोबास गर्ने निस्दीका पूर्णबहादुर सोमैले बताए । अहिले उनलाई सबैले ‘ओके बाजे’ नै भनेर चिन्छन् ।


२०५० सालतिर नेपाल आएका उनी अन्नपूर्ण बेस क्याम्प घुमेर जल्पास्थित ढोलीमारामा बस्ने मौका पाए । ‘मलाई पाल्पामै केही गरौं भन्ने लाग्यो,’ उनले भने, ‘त्यसैले पुनः नेपाल आएँ र समाजसेवी बनें ।’ उनले एक–एक वर्षे भिसा नवीकरण गर्दै आएका छन् । ‘अहिले आवासीय भिसा पाइसकेका छन्,’ नेकपा नेता ठाकुर गैरेले भने, ‘अब हामीले नागरिकता दिलाउन पहल गर्नुपर्छ ।’ जिल्लाको पूर्व, मध्य र पश्चिमका विभिन्न स्थानमा उनको सहयोग जुटेको छ । जापानका विभिन्न संस्थासँग सहयोग मागेर उनले यहाँ खर्चिन्छन् । आफूले जापानमा पाएको सम्मानको रकमबाट अक्षयकोष राखेका छन् । दुर्गम, मगरबस्ती, खसभाषा नबुझ्ने गाउँका विद्यार्थी पढ्न जान सक्ने भएका छन् । विद्यालय भवन नभएको स्थानमा भवन बनेको छ । विद्यालय जान नसक्नेलाई घरमै पढ्न बालकक्षा पनि सञ्चालन गरेका छन् । सिलुवा, ज्यामिरे, मित्याल, बाकामलाङ, ख्याहालगायतका स्थानमा झोलुङ्गे पुल निर्माणमा समेत सहयोग गरेका छन् । काकिमीले तानसेनको मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेज प्रभासमा खाता खोलेर गरिब र औषधि उपचार गर्न नसक्नेका लागि निःशुल्क सेवा पुर्‍याएका छन् ।


पढ्न नसक्नेलाई पढ्न पठाउने, घरमा खान छैन भने खान दिने, आवश्यकताअनुसार सहयोग गर्ने गरेको नेकपा नेता धनेन्द्रराज घिमिरेले बताए । यातायात, कृषि, सिँचाइ, पुललगायतका विकास निमार्णका काम गरेका छन् । ७ सयभन्दा बढी शौचालय बनाउन सहयोग गरेका छन् । मासिक सयदेखि दुई हजारसम्म छात्रवृत्ति प्रदान गर्ने विद्यार्थी २ सयभन्दा बढी छन् । नेपालमा बसेर ग्रामीण विपन्न जनताको सेवा गरेबापत जापानको संस्था ‘को दान स्ले योसिकावा एईजी कल्चर’ ले सन् २००९ मा सम्मान गरिसकेको छ ।


प्रकाशित : चैत्र १, २०७५ ११:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?