३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

कसघर टोलमा कटकट

 टोलका महिला र बालबालिका दिनरात सुपारी काटेर गुजारा चलाउँछन
मधु शाही

बाँके — कसघर टोल दिन–रात कटकटको आवाजमा हुन्छ । महिला र केटाकेटी समय खेर फाल्दैनन् । टोलका महिला र बालबालिका दिन–रात सुपारी काटेर गुजारा चलाउँछन् । त्यसैले प्रत्येक घरबाट कटकट सुपारी काटिरहेको आवाज आउँछ । स्थानीय ३५ वर्षीया साफिया कसघर सन्तान हुर्काउन वर्षौंदेखि सुपारी काटिरहेको बताउँछिन् । पसलेले अर्डर गर्छन् ।

कसघर टोलमा कटकट

त्यसअनुसार डल्ला सुपारी काटेर टुक्रा बनाउँछिन् । ४ छोराछोरीले साथ दिन्छन् । एक किलोबापत ५ देखि ७ रुपैयाँ पारिश्रमिक लिने गरेको साफियाले सुनाइन् । उनका अनुसार बिहानदेखि राति ११ बजेसम्म १० किलो मुस्किलले काटिन्छ । सुपारी काटेर घर चलाउनु यिनीहरूको नियति बनेको छ । खासगरी एकल र श्रीमान्को साथ नपाएका महिला यस्तो श्रम गर्न बाध्य छन् ।

साफियाका श्रीमान् दिन–रात नशामा हुन्छन् । छोराछोरी पाल्ने जिम्मा उनकै काँधमा छ । पढाइ छैन । घरबाहिर निस्किएर काम गर्न मुस्लिम महिलालाई समाजले राम्रो नजरले हेर्दैन । त्यसैले घरभित्र सुपारी काट्ने पेसा रोजेको उनले सुनाइन् । दुई छोरी मुस्कान र आइमनलाई सिलाइकटाइ तालिम सिकाएकी छन् । तर, मेसिन किन्ने पैसा छैन । त्यसैले उनीहरू पनि सुपारी काट्न बाध्य छन् ।

‘सिलाउन आउँछ, मेसिन किन्ने पैसा छैन,’ १६ वर्षीया आइमनले भनिन्, ‘मेसिन हुन्थ्यो भने सिलाएर धेरै कमाउँथें ।’ आइमनकी दिदी मुस्कान १७ वर्षकी भइन् । सिलाइ पेसा सञ्चालन गर्ने उनको चाहना गरिबीले रोकिदिएको छ । एउटा मेसिनलाई १० देखि १५ हजार रुपैयाँ पर्छ । मुस्कान केही दिन कालिगढी गर्न सिलाइ पसल गइन् ।

समाजले छोरीमान्छे बाहिर काम गर्न थाली भनेर कुरा काटेपछि काम छाडेको उनले सुनाइन् । ‘घरबाहिर जागिर गरौं, समाजले नराम्रो सोच्छ,’ उनले भनिन्, ‘सुपारी काटेर छाक टार्न मुस्किल पर्छ ।’ मुस्कान, आइमन र आमा साफिया मिलेर दिन–रात सुपारी काट्छन् । आफूले पढ्न नपाएपछि एक भाइ र बहिनीलाई स्कुलमा पढाएका छन् ।

छिमेकी ५० वर्षीया मौरिनिसा अन्सारी र महम्मद जाहाँ दुवै एकल महिला हुन् । नाताले देवरानी–जेठानी रहेका उनीहरूले १७ वर्षदेखि सुपारी काट्ने पेसा गर्दै आएका छन् । श्रीमान् बितेपछि बालबच्चा हुर्काउन यही पेसा अँगालेको महम्मदले सुनाइन् । ‘एक दिन कैंचीले औंला काटियो भने त्यो दिन घरमा चुल्हो बाल्न मुस्किल पर्छ,’ मौरिनिसाले भनिन्, ‘छिटो नकाटे छाक टर्दैन ।’ कुनै समय मिठाइमा कागज बेर्ने, अदुवा काट्ने, रिठ्ठा काटनेजस्ता काम आउँथे । अहिले त्यो अर्डरमा कमी आएको उनले सुनाइन् । ३५ वर्षीया मकिला दर्जी एकल महिला हुन् । स–साना छोराछोरीको पालनपोषण गर्न उनी मजदुरी गर्छिन् । ‘सीप छैन, जति कमाउँछु, त्यतिमै पेट भर्नुपर्छ,’ उनले भनिन्, ‘यही हाम्रो नियति हो ।’

कसघर टोलका अधिकांश गरिब एवं एकल महिला सीपविहीन छन् । मुस्लिम समुदायका महिला भएकाले समाजमा लुकेरै काम गर्न उनीहरू बाध्य छन् ।

प्रकाशित : चैत्र २, २०७५ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?