३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

जनप्रतिनिधि र सरकारी कर्मचारीका सन्तानलाई सामुदायिक पढाउनुपर्ने

रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकाले जनप्रतिनिधि, सरकारी कर्मचारी र शिक्षकका छोराछोरीलाई सामुदायिकमा पढाउनुपर्ने नियम ल्याएको छ

रुकुम पूर्व/रोल्पा — रुकुमपूर्वका जनप्रतिनिधि, निजामती कर्मचारी, करारमा नियुक्त गरिएका सरकारी कर्मचारी र स्थायी तथा निजी स्रोतका शिक्षकले संस्थागत विद्यालयबाट छोराछोरी फिर्ता गर्नुपर्ने भएको छ । चालु शैक्षिक सत्रसम्म संस्थागत विद्यालयमा पढाएकाले आगामी शैक्षिक सत्रदेखि सामुदायिक विद्यालयमा फर्काउनु पर्ने भएको हो ।

जनप्रतिनिधि र सरकारी कर्मचारीका सन्तानलाई सामुदायिक पढाउनुपर्ने

पुथाउत्तरगंगा गाउँपालिकाले सबैलाई समान शिक्षा प्रदान गर्ने भन्दै जनप्रतिनिधि, सरकारी कर्मचारी तथा शिक्षकलाई कडाइ गर्ने निर्णय गरेको छ । गाउँपालिकाले संस्थागत शिक्षण संस्थामा छोराछोरी पढाउँदै आएकालाई रोक्ने गरी नीतिगत निर्णय गरेको छ । ५ औं गाउँसभाबाट उक्त निर्णय पारित गरेको हो ।

गाउँपालिकामा ४ वटा संस्थागत (निजी) विद्यालय छन् । वडा नम्बर १ मैकोट, ५ नम्बर वडाको हुकाम, १० नम्बर वडाको तक र १२ नम्वर वडाको कोलमा संस्थागत विद्यालय सञ्चालनमा छन् । गाउँसभाले निजीबाट विद्यालय फर्काउने निर्णय मात्रै गरेको छैन त्यस्ता विद्यालय बन्द गराउने निर्णय गरेको छ । ‘चैत २४, २५ र २६ गते बसेको गाउँसभाले जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकका छोराछोरी पनि सामुदायिक विद्यालयमा पढाउने गरी निर्णय गरेको छ,’ गाउँपालिका प्रवक्ता भीमबहादुर मल्लले भने, ‘चालु शैक्षिक सत्रसम्म बोर्डिङमा छोराछोरी पढाइरहेकाले अर्को शैक्षिक सत्रदेखि सरकारी स्कुलमा ल्याउनु पर्नेछ ।’ समाजको नेतृत्व गरिरहेकाबाट सकारात्मक अभियान थाल्नुपर्छ भन्ने मान्यतासहित उक्त निर्णय पारित भएको उनले बताए । गाउँसभाले गाउँपालिकाभित्र रहेका सबै संस्थागत विद्यालय बन्द गर्ने निर्णय पनि पारित गरेको छ ।

उक्त निर्णय अत्यधिक बहुमतले पारित भएको थियो । उक्त निर्णयको विपक्षमा एकजना रहे । कार्यपालिकाका सदस्य जिताराम कामीले निर्णयको विपक्षमा मतदान गरेका थिए । संस्थागत विद्यालयमा पढ्ने विद्यार्थीलाई सामुदायिकमा फर्काउने र विद्यालय बन्द गर्नुपर्ने भए पनि त्यो समय नभएको भन्दै कामीले निर्णयको विरोध गरेका थिए । आधारभूत तयारी नगरी गाउँसभाबाट उक्त निर्णय पारित गरिनु दुःखद भएको उनको भनाइ थियो । निर्णय कार्यान्वन नहुने सम्भावना भएकाले तयारी गरेर निर्णय गराऔं भनिए पनि बहुमतबाट पारित भएको कामीले बताए । १४ वडा रहेको यस गाउँपालिकामा ७४ जनाको गाउँसभा भए पनि अहिले भने ७० जना मात्रै सदस्य छन् ।

३ जना सदस्य जिल्ला समन्वय समितिमा गएका र १ जनाको मृत्यु भएको छ । गाउँपालिका अध्यक्ष ओमप्रसाद घर्तीमगरले समान शिक्षा प्रदान गर्न निर्णय पारित गरेको बताए । सबै सामुदायिक विद्यालयलाई अंग्रेजी माध्यममा पठनपाठन गराउने र शिक्षाको गुणस्तर बढाउनका लागि पनि उक्त निर्णय भएको भनाइ उनको छ । अबका दिनमा संस्थागत विद्यालय सञ्चालनको अनुमति नदिने तथा जनप्रतिनिधि, सरकारी कर्मचारी र शिक्षकका छोराछोरीलाई सामुदायिकमा पढाउन आग्रह गरिएको उनले बताए । ‘नीति बनाइयो, आगामी शैक्षिक सत्रदेखि कार्यान्वयनमा गइन्छ, पैसा हुनेहरू निजीमा र गरिबहरू सरकारी स्कुलमा पढ्ने वातावरणको अन्त्यका लागि सरकार लागि परेको छ,’ अध्यक्ष घर्तीले भने । सरकारमा सहभागी व्यक्ति र सरकारी कर्मचारीबाटै यसको सुरुवात हुने पनि उनले बताए ।

अभिभावकको 'पहरा’

रोल्पा सदरमुकामस्थित बालकल्याण नमुना माविमा बिहान १० बजेको घण्टी बज्नुअघि विद्यार्थी र अभिभावक पुगिसक्छन् । झोलामा किताब र कापी बोलेका विद्यार्थी कक्षाकोठामा पस्छन् । अभिभावक मुख्यद्वारमा रोकिन्छन् । अभिभावकले मुख्यद्वारमा पहरा दिन थालेपछि ढिलो आउने शिक्षक र विद्यार्थीको दौडधुप सुरु भएको छ । यस्तो निगरानीपछि सबै विद्यार्थी र शिक्षक समयमै हाजिर हुन थालेका छन् । अभिभावकले पहरा दिन छाडेका छैनन् ।

विद्यालयका सहायक कर्मचारीले प्रत्येक दिन मूलद्वार खोल्ने र बन्द गर्छन् । प्रत्येक दिन १/२ घण्टा कम्तीमा एकजना अभिभावक शिक्षक र विद्यार्थीमध्ये कति उपस्थित भए–भएनन् टिपेर द्वारमै उभिइरहन्छन् । गत पुस १९ देखि यस्तो निगरानी भइरहेको छ । कक्षा कोठामा मात्र शैक्षिक गुणस्तर कायम गरेर पुग्दैन । समयको पालना जरुरी छ ।

त्यसैले समयको ख्याल गर्ने उद्देश्यले विद्यालय व्यवस्थापन समितिले पदाधिकारीबीच अनुगमन जिम्मेवारी बाँडफाँड गरेको छ । ‘सुरुमा समितिका पदाधिकारीले यो काम गरिरहेका थिए,’ व्यवस्थापन समितिका अध्यक्ष महेश न्यौपानेले भने, ‘बाहिरको वातावरण सुधार्न यस्तो निर्णय गरेका हौं ।’

उनका अनुसार यस्तो निर्णयले विद्यार्थीको घरको वातावरणसमेत फेरिएको छ । विद्यालय प्रदेश गर्ने मुख्य द्वारमै अभिभावकले दैनिक पहरा दिन थालेपछि विद्यार्थीमा समयमै कक्षाकोठामा पुग्ने बानी बसेको छ । अध्यक्ष न्यौपानेका अनुसार हरेक दिन अभिभावक १० बज्नुअघि विद्यालयको मुख्य द्वारमा पुगिसक्छन् । कम्तीमा ११ बजेसम्म पहरा दिनुपर्ने निर्णय गरिएको छ । ‘फुर्सद भएमा कक्षाकोठाको समेत नियमित अनुगमन गर्न सक्ने निर्णय गरेका छौं,’ उनले भने ।’ शिक्षक र विद्यार्थी समयमा उपस्थित हुने र पूरै समय कक्षाकोठामा बिताउने हो भने शैक्षिक गुणस्तर वृद्धि गर्न समय नलाग्ने ठानेर यस्तो निर्णय गरिएको उनले बताए ।

विद्यालयका प्राचार्य मधुसुदन पोखरेलले समितिको निर्णयले विद्यालय प्रशासनललाई सघाउ पुगेको बताए । ‘शैक्षिक गुणस्तर वृद्धि गर्ने विद्यालयको लक्ष्यमा विद्यालय व्यवस्थापन समितिको उक्त निर्णयले शिक्षक र विद्यार्थीलाई अनुशासनमा राख्न सहयोग पुगेको छ,’ उनले भने, ‘यो राम्रो कार्य हो ।’ विद्यालय व्यवस्थापन समितिका अनुसार आलोपालो पहरा दिँदा समितिका फुर्सदिला सदस्यलाई छनोट गरिएको छ । निर्णयअनुसार हरेक आइतबार अध्यक्ष न्यौपानेले पहरा दिँदै आएका छन् ।

अन्यबार सदस्य उपस्थित हुन्छन् । सोमबार खिमबहादुर घर्तीमगर, मंगलबार खटकबहादुर खत्री र पविक्रा आचार्य, बुधबार नीमकुमारी सिंह, बिहीबार जितबहादुर डाँगी र शुत्रबार सरस्वती रिजालले पहरा दिँदै आएका छन् । पदाधिकारी भएकाले सातामा एक दिन विद्यालयको प्रगतिका लागि थप समय खर्चिने अवसर पाएकाले खुसी लागेको सदस्य खत्रीले बताए ।

देखियो सुधार

अभिभावकले पहरा दिन थालेपछि विद्यालयमा सुधार देखिएको छ । ढिलोगरी विद्यालय आउने शिक्षक र विद्यार्थीले बानी बदलेका छन् । सुरुमा निर्णय कार्यान्वयन गर्न चुनौती देखिए पनि पछिल्लो अवस्थामा सहज भएको छ । अध्यक्ष न्यौपानेले सुरुवाती चरणमा निर्णय कार्यान्वयन गर्न दण्डको व्यवस्था लागू गर्नुपरेको बताए ।

‘ढिलोगरी आउने शिक्षक र विद्यार्थीलाई आर्थिक सजाय गरिएको थियो,’ उनले भने, ‘सजायबापत संकलन गरिएको रकम विद्यालयको खातामा जम्मा गरिएको छ ।’ निर्णय कार्यान्वयन गरिएको पहिलो दिनमा १ सय ५० विद्यार्थी र ५ शिक्षक सवा १० बजेपछि उपस्थित भएका थिए । अध्यक्ष न्यौपानेले अहिले समस्या नभएको बताए । ढिलोगरी विद्यालय आउने कतिपय शिक्षकको तलब कटौतीसमेत गरिएको उनले बताए ।

न्यौपानेका अनुसार उक्त विद्यालय नमुना घोषित गरिएकाले यहाँको भौतिक, शैक्षिक एवं बाहिरी वातावरणलाई समेत उचित बनाउनुपर्ने योजनासहित विविध गतिविधि अघि अढाइएको हो । तल्लो तहमा अंग्रेजीमा समेत पढाइ हुने उक्त विद्यालयमा करिब ४ हजार विद्यार्थी छन् । यहाँ कक्षा ११ र १२ तथा छुट्टाछुट्टै दुईवटा प्राविधिक शिक्षाको पढाइ हुन्छ ।

तीन वर्षे प्राविधिक शिक्षातर्फ तीन वर्षे र १८ महिने कक्षा सञ्चालन हुने गरेको शिक्षक तथा इन्जिनियर मुकेश कुँवरले बताए । सदरमुकाममा रहेको विद्यालय आर्थिक र भौतिक अवस्थाले सम्पन्न मानिन्छ । ४५ जना शिक्षक छन् । विद्यालयले निजी स्रोतबाट खेल तथा संगीत शिक्षक राखेको छ ।

नेता पढेको विद्यालय

२०१८ सालमा रोल्पा जिल्लाको स्थापना भएपछि उक्त विद्यालयको स्थापना गरिएको थियो । विद्यालयमा अध्ययन गरेका थुप्रै नेता अहिले राजनीतिकको माथिल्लो तहमा छन् । धेरै पटक मन्त्री भइसकेका सघीय संसदा सभामुख कृष्णबहादुर महरा विद्यार्थी र शिक्षक हुन् । ०५२ मा तत्कालीन माओवादीको भूमिगत राजनीतिमा लाग्नुअघि उनले विद्यायलमा करिब १२ वर्षजति विज्ञान विषयको शिक्षकका रूपमा पढाएका थिए ।

उपराष्ट्रपति नन्दबहादुर पुन, नेकपाका महासचिव नेक्रवित्रम चन्द विप्लव, मन्त्रीहरू वर्षमान पुन, कुलप्रसाद केसी, पूर्वसभामुख ओनसरी घर्ती, नेताहरू जयपुरी घर्ती, झक्कुप्रसाद सुवेदी, जोखबहादुर महरा, दीपेन्द्र पुन, जिल्ला समन्वय समिति संयोजक राजबहादुर बुढाले पनि यहीं पढेका थिए । थुप्रै नेताले अध्ययन गरेको विद्यालय भएकाले विद्यालय व्यवस्थापन समितिले उनीहरूको सहयोगमा विद्यालयलाई वास्तविक नमुना बनाउन र शैक्षिक सुधार गर्न लाग्ने योजना अघि सारेको छ ।

प्रकाशित : चैत्र २, २०७५ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?