किशोरीको अभियान

देवचुलीका किशोरीहरू विभिन्न विद्यालयमा पुगेर आत्मरक्षाको तालिम दिन्छन् । बालिकामाथि यौन हिंसा, बलात्कार र दुर्व्यवहारका घटना कसरी हुन्छन् र त्यस्ता घटनाबाट कसरी बच्ने, प्रतिकार गर्नेलगायतका सीप सिकाउँछन् ।
दुर्गालाल केसी

दाङ — घरबाट कतै निस्कन थाल्यो कि आमाबुबा डराउँथे । छोरी बाहिर निस्कनु हुँदैन भनेर सधैं अर्ती दिन्थे । यो कुराले पूर्वनवलपरासीको देवचुली नगरपालिका–१७ की शुष्मा पोख्रेललाई सधैं तनाव दिन्थ्यो । घरबाटै छोरीको क्षमतामाथि अविश्वास भएपछि बाहिर खुलेर बोल्न धक लाग्थ्यो । ९ कक्षामा अध्ययनरत उनी विद्यालयका कार्यक्रममा पनि अघि सर्दैनथिन् । उभिएर बोल्न डराउँथिन् ।

किशोरीको अभियान

बालक्लबमा बस्नुपर्दा धेरै बोल्नु नपर्ने उपाध्यक्ष, सदस्यजस्ता पद रोज्थिन् । ८ महिनायता उनको जीवनशैली बदलिएको छ । अहिले उनी अन्य किशोरीलाई समेत सशक्त बनाउन गाउँ–गाउँ गइरहेकी छन् ।

उनी बालिका सशक्तीकरण प्रशिक्षक भएकी छन् । बालिकालाई आत्मरक्षा तालिम दिन्छिन् । प्रशिक्षक भएर धेरै साथीको अगाडि उभिँदा कुनै अप्ठेरो महसुस गर्दिनन् । क्लबमा धेरै बोल्नुपर्ने, सक्रिय हुनुपर्ने सचिव पदमा बसेकी छन् । ‘पहिले धेरै बोल्नु नपरे हुन्थ्यो जस्तो लाग्थ्यो । बोल्नेभन्दा लुकेर बस्थें,’ उनले भनिन्, ‘अहिले अगाडि सर्छु, अरूलाई पनि बोल्न सिकाउँछु । घरबाट पनि बाहिर निस्कँदा पहिलेजस्तो डर लाग्दैन ।’

उनकी सहपाठी सुधा सुनारलाई पनि आजभोलि भ्याइ–नभ्याइ छ । उनी आत्मरक्षा, स्यानिटरी प्याड बनाउने र दुर्व्यसन नियन्त्रणसम्बन्धी तालिम दिन्छिन् । ‘सुरुमा तालिम लिन जाँदा घरबाट गाली गरे । पढाइ बिग्रिन्छ भनेर जान दिएनन्,’ उनले भनिन्,

‘लुकीलुकी तालिम लिन गएँ । अहिले तालिम दिन थालेपछि विभिन्न कार्यक्रममा अतिथि बनाएर बोलाउँछन् ।’ राम्रो काम गरेको भनेर पत्रिकामा नाम छापिएपछि बुबाआमाले हौसला दिने गरेको उनले बताइन् ।

सपना पौडेल ११ कक्षामा पढ्छिन् । उनले ३ सयभन्दा बढी बालिकालाई आत्मरक्षा तालिम दिएकी छन् । पत्रपक्रिकामा किशोरी सशत्तीकरणका लेख लेख्छिन् । रेडियोमा बालिका सशक्तीकरणबारे अन्तर्वाता दिन्छिन् । ‘पहिले–पहिले समाजका अगुवाले पनि हतोत्साहित गर्थे । सानो मान्छे धेरै बोल्नुहुँदैन भन्थे,’ उनले भनिन्, ‘तर निराश नभएर अघि बढें । अहिले सबै कार्यक्रममा सहभागी गराउँछन् । अहिले त म पनि अगुवा भएकी छु ।’

श्रद्धा अर्याल ११ कक्षामा पढ्छिन् । उनी किशोरी प्रशिक्षक हुन् । बालअधिकार, नेतृत्व, बालविवाह र आत्मरक्षाको तालिम दिन्छिन् । स्यानिटरी प्याड किनेर लगाउन नसक्ने विपन्न समुदायका किशोरीहरूलाई प्याड बनाउने तालिम दिन्छिन् । ‘गाउँका धेरै किशोरीले पहिले कपडाको प्याड प्रयोग गर्थे जुन स्वास्थ्यका लागि जोखिमपूर्ण थियो,’ उनले भनिन्, ‘अहिले आफैं बनाएर लगाउन थालेका छन् ।’

प्रशिक्षक भएपछि उनको आत्मविश्वास बढेको छ । आत्मरक्षा तालिमले यौन हिंसाबाट कसरी बच्ने भन्नेबारे धेरै प्राविधिक ज्ञान हासिल गरेकी छन् । त्यही ज्ञान उनले अन्य किशोरीमाझ बाँडिरहेकी छन् । ११ कक्षाकै आशा विक किशोरीहरूको क्षमता विकासमा निरन्तर लागिरहेकी छन् । विभिन्न विद्यालय पुगेर तालिम दिन्छिन् ।

उनी बालिकामाथि यौन हिंसा, बलात्कार र दुर्व्यवहारका घटना कसरी हुन्छन्, यस्ता घटनाबाट कसरी बच्ने, कसरी प्रतिकार गर्नेजस्ता सीपहरू सिकाउँछिन् । यसले उनको आत्मविश्वास पनि बढेको छ । १२ कक्षा पढ्ने प्रिया पुनमगर, १० कक्षाकी संगम भुसाल, ९ कक्षाकी मधु देवकोटा, ९ कक्षाकै सिर्जना अर्याललगायत देवचुलीका दुई दर्जनभन्दा बढी किशोरीहरूले सशक्तीकरणको नेतृत्व गरेका छन् ।

पढाइको समय व्यवस्थापन गर्दै उनीहरूले किशोरीलाई क्षमता विकासको तालिम दिने गरेका छन् । तालिम लिँदा र दिँदा पढाइमा पनि सुधार भएको उनीहरूको अनुभव छ । पहिले बोल्न नसक्दा, नजानेका कुरा सोध्न नसक्दा र आफ्नो क्षमता नचिन्दा पढाइमा पनि पछि परेको ८ कक्षा अध्ययनरत प्रेरणा अर्ज्यालको अनुभव छ । ‘हाम्रो घरमा तीन छोरी मात्रै छौं । छोरी मात्रै भएको घरमा प्रगति हुँदैन भनेर गाउँ समाजले हाम्रो कुरा काट्छन्,’ उनले भनिन्, ‘यसले हामीलाई निराश बनाउँथ्यो । केही गर्न सक्दैनौं कि जस्तो लाग्थ्यो । तालिमको प्रशिक्षक भएपछि आत्मविश्वास बढेको छ । पढाइ पनि राम्रो भएको छ ।’ पहिले ७१ प्रतिशत मात्रै नतिजा हासिल गरेकी अर्ज्यालले अहिले ८७ प्रतिशत ल्याएकी छन् ।

किशोरीहरूको सशक्तीकरणले छोरीप्रतिको सोचाइ बदल्न महत्त्वपूर्ण भूमिका खेलेको कालिका मावि विशालटार देवचुलीकी शिक्षिका सीतादेवी पौडेलले बताइन् । ‘समाजमा छोरीलाई सजिलै विश्वास गरिँदैन । छोरीलाई आफैं उभिन दिइँदैन,’ उनले भनिन्, ‘अहिले किशोरीहरू विभिन्न विषयका प्रशिक्षक भएर समाजमा स्थापित भएपछि सबैले पत्याएका छन् । उनीहरूको क्षमताले सबैलाई हौसला थपेको छ ।’ विद्यालयमा पनि उनीहरू सबै कामको अगुवा भएको पौडेलले बताइन् ।

विद्यालयका कार्यक्रममा सहभागी हुन डराउने बालिकाहरू अहिले हरेक काममा नेतृत्व गर्न अग्रसर भइरहेको नेपाल मावि केउरानीकी शिक्षिका सरस्वती अर्यालले बताइन् । ‘पहिले बालिकाहरू लजाएर बस्थे । आफूलाई परेका समस्या राख्न सक्दैनथे,’ उनले भनिन्, ‘अहिले समूहमा नै समस्याबारे छलफल गर्ने र सामूहिक समाधानको उपाय खोज्ने गर्छन् । घरपरिवार र विद्यालयले पनि उनीहरूलाई सहयोग गरिरहेका छन् ।’

छोरीहरूको कामबाट अभिभावक पनि प्रभावित भएका छन् । आफूले पढ्न नपाए पनि छोरीले पढेर समाजमा स्थापित हुने काम गरेको देवचुली १० की अभिभावक तकमाया थापामगरले बताइन् । उनकी छोरी मोतीसरा ९ कक्षा पढ्छिन् । ‘छोरी आत्मरक्षा तालिमको प्रशिक्षक छिन् । गाउँ–गाउँमा पुगेर किशोरीलाई तालिम दिन्छिन् । उनको आत्मविश्वास बढेको छ,’ उनले भनिन्, ‘हाम्रो पालामा छोरीलाई पढाउने चलन थिएन । घरबाट निस्कन पनि पाइँदैनथ्यो । छोरीहरू हामीभन्दा प्रगति गरून् भनेर हौसला दिइरहेका छौं ।’ गाउँसमाजमा छोरीका कामको राम्रै प्रशंसा भइरहेकाले आफूलाई सन्तोष मिलिरहेको उनले बताइन् ।

आत्मरक्षा तालिमले किशोरीहरूमा क्रान्ति नै आएको कानुनी लडाइँ लडेर नेपालमै पहिलो बालक्लब स्थापना गर्ने जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेलले बताए । देवचुलीलाई किशोरी सशक्तीकरणको नमूना नगर बनाउन खोजेको उनले बताए ।

‘विभिन्न ठाउँमा बालिका, किशोरीमाथि भइरहेका यौनहिंसाका घटनाले धेरैलाई निराश बनाएको पाइयो । छोरी भएकोमा धिक्कार मानेर बसिरहेको पनि पाइयो,’ उनले भने, ‘यस्तो बेला उनीहरूलाई सशक्तीकरण गरेर आफ्नो क्षमता चिन्नसक्ने बनाउनु महत्त्वपूर्ण हुन्छ । देवचुलीका किशोरीहरूले यस्तो कामको अगुवाइ गरेका छन् ।’

प्रकाशित : चैत्र २, २०७५ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?