१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

सरकारी जग्गा किर्ते गरेको आरोपमा दुई कर्मचारी पक्राउ

कमल पन्थी

बर्दिया — सरकारी जग्गालाई किर्ते गरी नेपालगन्ज उपमहानगरपालिका-३ का मजुबुलहसन अन्सारीका श्रीमती हसरतुन निशाको नाममा नामसारी गरेको आरोपमा मालपोत कार्यालयका दुई कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । 

सरकारी जग्गा किर्ते गरेको आरोपमा दुई कर्मचारी पक्राउ

पक्राउ पर्नेमा भूमीसुधार तथा मालपोत कार्यालयका नायव सुब्बा कृष्णलाल शर्मा र खरिदार भूमीराज विरुद्ध सरकारी कागज किर्ते मुद्दामा पक्राउ गरेको प्रहरीले जनाएको छ ।


कार्यालयका प्रमुख कृष्णप्रसाद ज्ञवालीलाई पक्राउ पुर्जी जारी गरेको छ । ज्ञवाली बिदामा अन्यत्र गएकोले पक्राउ परेनन् । बर्दिया साविक नेउलापुर गाविस-९ 'ख'को सरकारी ऐलानी जग्गा कित्ता नम्बर १९१ को २ बिघा, ७ को १४ कट्ठा, ८ को १ बिघा, ५० को १ बिघा २ कट्ठा १० धुर र ६२ को १४ कट्ठा जग्गा श्रेस्ता बनाई हसन अन्सारीले नामसारी गरेका थिए । उनको मृत्यपछि श्रीमतीले आफ्नो नाममा नामसारी गराएको निमित्त मालपोत प्रमुख रामकुमार रोकायले बताए ।


स्थानीय गौरीमल्ल अन्सारीको जाहेरीले कार्यालयको श्रेस्ताको तीनवटा पाना च्यातेर जालसाजी गरी जग्गा नामसारी गरेको भन्दै छानबिनको लागि उजुरी परेको निमित्त प्रमुख रोकायले बताए । प्रहरीले उक्त घटनाको छानबिन गर्दा जिर्णो उतार मिनाहा महलको श्रेस्ता बरामद गरेपछि घटनाको खुलासा भएको हो ।


गत पुस १२ गते प्रमुख भूमीसुधार तथा मालपोत अधिकृत ज्ञवाली र नासु शर्माले सरकारी पर्ती जग्गा व्यक्तिको नाममा दर्ता गरेका थिए । उजुरी परेपछि ०७५ चैत ३ गते हसरतुन अन्सारीको नाममा कायम भएको जग्गा बदर गरिएको निमित्त प्रमुख रोकायले बताए । खरिदार पोखरेल सोही फाँटका कार्यरत रहेकोले छानबिनका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।


बाँके जिल्लामा समेत यस घटना जोडिएकोले थप अनुसन्धानका लागि नासु शर्मा र खरिदार पोखरेललाई नेपालगन्ज लगिएको छ । बाँकेका एसपी अरुण अरुण पौडेलले अनुसन्धानको क्रम शुरु भएकाले थप जानकारी दिन नमिल्ने बताए । निमित्त प्रमुख रोकायले सरकारी जग्गा किर्ते भएको प्रारम्भिक अनुसन्धानमा देखिएको जनाए ।


प्रकाशित : चैत्र ४, २०७५ १९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?