१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

बिमाबारे किसान बेखबर

नवीन पौडेल

परासी — पश्चिम नवलपरासीका अधिकांश किसानलाई कृषि बिमाबारे जानकारी छैन । त्यसैले बाली नष्ट हुँदा राहतबाट वञ्चित भइरहेका छन् । आयआर्जनका लागि ऋण खोजेर खेती गर्छन् । व्यावसायिक तरकारी, उखु, केरा तथा अन्य नगदेबाली लगाउने किसानले बिमा गराएका छैनन् ।

बिमा नगराउँदा हावाहुरी, असिनापानीले खेतीमा क्षति पुर्‍याउँदा राहत रकम पाउन वञ्चित छन् ।


सुस्ता गाउँपालिका-२ कुँडियामा एक साताअघि श्रीप्रसाद खवासको उखु बारीमा आगलागी भयो । त्यसले तीन कट्ठामा लगाएको उख जलेर नष्ट भयो । स्थानीयले समयमा आगो नियन्त्रणमा लिएपछि थप क्षति हुन नपाएको स्थानीयले बताए । उखु काटेर बिक्री गरिसकेका किसानले झारपात डढाउन आगो लगाउँदा खबासको बारीमा सल्किएको थियो । उखु जलेपछि खवासलाई बिमा नगर्दाको बेफाइदाबारे जानकारी भएको छ । 'पहिले कसैले पनि उखुको बिमा हुन्छ भनेनन्, हामी गाउँलेलाई के थाहा ?,' उनले भने, 'बिमा गर्नुपर्छ भनेर कम्पनी पनि कोही आएनन् । आगोले यस वर्षको मुनाफा जति जलाइदियो ।'


गत वर्ष चैतमा आएको हावाहुरी र असिनाले जिल्लामा लगाइएको करिब एक करोड मूल्य बराबरको तरकारी र खाद्यान्न बाली नष्ट भयो । किसानले क्षतिपूर्ति र राहात पाएनन् । केहीले कृषि बिमाबापत रकम पाए । अधिकांशलाई बिमाबारे जानकारी नहुँदा क्षति बेहोर्नुपर्‍यो । हावाहुरीसहितको असिना पानीले ७ सय किसानको २ सय २० बिघामा लगाएको मकै, गहुँ, काँक्रो, करेला, घिरौंला, गोलभेंडामा क्षति पुर्‍याएको थियो ।


बिमा बापतको ७५ प्रतिशत सरकार र किसानले जम्मा २५ प्रतिशत मात्र रकम तिरे हुन्छ । पि्रमियम बापत १ बिघाको ८ हजार रुपैयाँ तिर्नुपर्छ । जसमा ६ हजार रुपैयाँ सरकारले बेहोर्छ । २ हजार रुपैयाँ किसानले जम्मा गर्छन् । बिमाबापतको रकम जम्मा गराएका किसानले १ बिघाको १ लाख ४० हजार रुपैयाँ क्षतिपूर्तिबापत पाउँछन् ।


सरावलमा रामकेवट यादवका अनुसार बंैकबाट ऋण लिएर व्यावसायिक कृषि गरेकाले अनिवार्यरूपमा बिमा गराउँछन् । गाउँघरमा ऋण लिने र आफ्नै जग्गामा व्यावसायिक नगदेबाली लगाउनेले बिमा गराएका छैनन् । 'बिमा कम्पनीले पशु तथा कृषि बिमा शीर्षकमा तरकारी तथा नगदेबालीभन्दा पशु बिमामा जोड दिने गरेका छन्,' उनले भने, 'कतिपय कम्पनीले कृषि बिमा गर्छु भने पनि नगर्ने र सम्पर्कमा नआउने समस्या छ ।'


स्थानीय तहले आफ्ना नीति तथा कार्यक्रममा कृषिलाई उच्च प्राथमिकतामा राखेर अनुदान र बिमालाई प्राथमिकता दिने उल्लेख गरे पनि व्यवहारमा लागू भएको छैन । कतिपय स्थानीयतहको कृषि शाखा एकजना कर्मचारीको भरमा सञ्चालन भइरहेकेा छ । रामग्राम नगरपालिकाका कृषि शाखाका प्रमुख तथा बागवानी अधिकृत बालगोविन्द त्रिपाठीले बिमा कम्पनीले कृषिलाई प्राथमिकता नदिने र किसानले बिमामा रकम खर्चन हिचकिचाउने गरेकाले कृषि बिमा न्यून भएको बताए ।


'केरा खेती बाहेक अन्य नगदेबालीमा किसानको आकर्षण देखिएन्,'उनले भने, 'समय समयमा किसानलाई यसबारे जानकारी गराए पनि सम्भावित क्षतिबारे अझै पनि किसानले चासो दिएका छैनन् ।'

प्रकाशित : चैत्र ५, २०७५ ११:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?