बुढेसकालमा खेतीको जिम्मा

मधु शाही

बाँके — तराईको चर्को घाम । शरीरमा एकसरो लुगा छैन । मोतिविन्दुले छपक्कै छोपिएको आँखाको भरमा ७५ वर्षीय इसाक राई खेतमा काम गर्छन् । उनको रोजीरोटी यही खेतसँग जोडिएको छ । तीन दशकदेखि जमिनदारको जमिन भोगचलन गर्दै आएका छन् ।

अहिलेसम्म उनले बूढो शरीर खेतमा लतारिरहेका छन् । उनलाई भेट्न आउनेहरू घरमा भन्दा बढी खेतमा भेटाउँछन् । बिहानदेखि बेलुकासम्म उनको कर्मथलो खेत नै हुन्छ । नेपालगन्ज उपमहानगरपालिका–५ का बासिन्दा उनले जमिनदारको खेत जोत्न थालेको ३ दशक नाघिसकेको छ । त्यही खेत जोतेर दुई छोरी हुर्काए ।


बालापन, जवानी र बुढौली जमिनदारकै खेतमै बित्यो । समय परिवर्तनसँगै किसानले मोहियानी हक जमाउन थालेका छन् । उनलाई यी कुरामा चासो राख्ने फुर्सद छैन । उनका बाउबाजेले जमिनको लागि कहिल्यै झगडा गरेनन् । त्यही शिक्षाबाट उनी हुर्किएको बताउँछन् । जमिन प्राप्तिमा लड्नु भनेको उनका लागि मूर्खता लाग्छ । ‘जमिन कसैको पनि होइन,’ उनले भने, ‘यो प्रकृतिको देन हो ।’ पछिल्लो समय पारिवारिक खेती जोगाउने पुस्ता नदेख्दा उनी दुखी छन् । जेठी छोरीको बिहे भयो । कान्छी सानै छिन् । ३७ कट्ठा जमिनलाई हरियो बनाउन इसाक एक्लैले जोड गरिरहेका छन् ।


कोहलपुर–८ बस्ने प्रकाश दासको ८ कट्टा खेतीयोग्य जमिन छ । उमेरले ६२ वर्ष पुगेका उनी घरमा एक्लै छन् । २ छोरा कतारमा रोजगार गर्न गएको ५ वर्ष भयो । उनले पुर्खाको जमिन बाँझो राख्नुभन्दा एक्लै खेती गर्दै आएको सुनाए । १ वर्षअघि धान, गहुँ र मकै खेती गर्दै आएका उनले अहिले अलि कमजोर महसुस गरे । ढाड द्ख्न थालेकाले उनी खेतीमा खटिन सकेनन् । यस वर्ष खेत बाँझो राख्नुभन्दा अरहरको दाल लगाएको उनले बताए । ‘पूरै खेतमा अरहर लगाएको छु’, उनले भने, ‘खेत बाँझो देख्न सक्दिनँ । आफ्नो ज्यानले सक्दैन ।’ हवलदारपुरका ७१ वर्षीया भवानी चौधरीको पुर्ख्यौली पेसा खेती किसानी हो । पति प्यारलाइसिसका बिरामी छन् । यसअघि पतिले धान्दै आएको खेती अहिले भवानीको जिम्मामा छ । पढाइको सिलसिलामा २ छोरी र १ छोरा काठमाडौं बस्छन् । खेती नगरी बस्दा परिवार चलाउन मुस्किल छ । उनी भन्छिन्, ‘काम गर्ने मान्छे पाइँदैन । छोराछोरी खेती किसानी गर्दैनन् ।’ यस्तो अवस्थामा बूढो ज्यानले नै खेती गर्नुपरेको उनले सुनाइन् ।


जिल्ला कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकालका अनुसार पछिल्लो समय पारिवारिक खेतीमा पुस्ता हस्तान्तरण गर्ने परम्परा हराउँदैछ । आधुनिक कृषि फार्म खोलेर केही युवा जमातले व्यावसायिक खेती गर्न थालेपछि पारिवारिक खेतीमा वृद्धवृद्धा र महिलाको भर पर्नुपरेको बताए । उनले नेपालगमा झन्डै ९० प्रतिशत खेती पारिवारिक पद्धतिमा सञ्चालित छ । वैदेशिक रोजगारका सिलसिलामा युवा विदेशिने क्रमसँगै घरको जमिन कि त बाँझै राख्नुपर्छ । कि त बूढाबूढी र महिलाको भरमा छाड्ने अवस्था छ ।


‘किसानका पुस्ताले किसानी गर्ने परम्परा हराउँदैछ’, उनले भने, ‘यसले टुक्रे जग्गामा बाँझोपन ल्याउँछ ।’ यद्यपि सरकारले करोडौंको लागतमा कृषि अनुदान कार्यक्रम सञ्चालन गरेको छ । तर, परिवारको भरमा हुने स–साना खेतीयोग्य जमिन व्यवस्थापनमा राज्यले प्रभावकारी नीति ल्याउन जरुरी रहेको ढकालले बताए । उनी भन्छन्, ‘युवामा कृषि आकर्षण बढाउन स्कुल स्तरबाटै कृषि शिक्षा अभियान थाल्न जरुरी छ ।’

प्रकाशित : चैत्र ६, २०७५ १४:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?