कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

दुर्घटना चालकको लापरबाहीले 

राजमार्गमै चालकको स्वास्थ्य जाँच र सचेतनालगायत अभियान चलाए पनि उनीहरूको व्यवहार सुध्रन सकेको छैन : प्रहरी
दुर्गालाल केसी

दाङ — घोराही–होलेरी सडक खण्डअन्तर्गत घोराही उपमहानगरपालिका–१३ बाह्रकुने दहनजिकै सोमबार अपराह्न यात्रुवाहक बस पल्टिँदा सहचालकको मृत्यु भयो । घटनामा चालकसहित ३१ यात्रु घाइते भए ।

दुर्घटना चालकको लापरबाहीले 

रोल्पाको बागमाराबाट घोराही आउँदै गरेको ना४ख ६०९४ नम्बरको बस रोल्पाका विकट पहाडी सडकलाई पार गरेर समथर र कालोपत्रे सडकमा पुगेपछि पल्टियो । उक्त सडक फराकिलो र सुरक्षित छ । सजिलो सडकमा लापरबाहीपूर्वक तीव्र गतिमा गाडी चलाउँदा भित्तामा ठोक्किएर सडकमा तीन–चार बल्ड्याङ खान पुग्यो ।


जिपलाई ओभरटेक गर्ने क्रममा आफैं अनियन्त्रित भएर बस पल्टिएको थियो । सहचालक रोल्पा रुन्टीगढी गाउँपालिका–७ का २२ वर्षीय हर्कबहादुर पुनले अनाहकमा ज्यान गुमाए । धेरै यात्रुले दुःख पाए । बस सडक छेउमा रहेको कल्भर्टमा ठोक्किएर आएको दिशातर्फ नै फर्किएको थियो । यसबाट पनि गाडीको तीव्र गति सजिलै थाहा पाउन सकिने प्रहरीको भनाइ छ ।


शनिबार राति रा१ख ६७४ नम्बरको बसका चालक घोराही–५ धर्नाका ४५ वर्षीय शेरबहादुर केसी र स्थानीय ४० वर्षीय पोषण गिरीले घोराहीमा मदिरा सेवन गरे । राति १२ बजेतिर उनीहरू गाडी लिएर लमहीतर्फ लागे । घोराही–३ मसोट खोलानजिक बस पल्टियो । दुवैजना घाइते भए ।


मेडिकल जाँचका क्रममा दुवैले मादकपदार्थ सेवन गरेको पुष्टि भएको जिल्ला प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले बताए । सडकमा कुनै अवरोध र समस्या नहुँदा पनि चालककै लापरबाहीले गाडी पल्टिएको उनले जानकारी दिए । शुक्रबार लमही नगरपालिका–३ वनगाउँ नजिक रा२प ६०२६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री स्थानीय ६० वर्षीय जयमंगल चौधरीको मृत्यु भयो । उनकी श्रीमती ५० वर्षीया छुनिया चौधरी घाइते भइन् ।


शुक्रबार राति नै रा३प ८४१७ नम्बरको मोटरसाइकल साइकललाई ठक्कर दिएर पल्टियो । दुर्घटनामा मोटरसाइकल चालक लमही ५ का ४३ वर्षीय पीताम्बर गोराथोकीको मृत्यु भयो । केही दिनको अन्तरमा भएका यी सडक दुर्घटनाले चालकको चरम लापरबाही भएको देखाउँछन् । प्रहरीले राजमार्गमै चालकको स्वास्थ्य जाँच, चालकलाई सचेतनाजस्ता अभियान चलाए पनि उनीहरूको व्यवहार सुध्रन सकेको छैन ।


चालककै लापरबाहीका कारण दिनहुँ दुर्घटना भइरहेको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक मदनबहादुर कुँवरले बताए । ‘चालकको लापरबाहीले धेरै दुर्घटना भइरहेका छन् । अधिकांश दुर्घटनामा चालकले सावधानी नअपनाएको देखिन्छ,’ उनले भने, ‘अनावश्यक ओभरटेक गर्ने, तीव्र्र गतिमा हाँक्ने, मदिरा सेवन गरेर सवारी चलाउनेजस्ता काम भइरहेका छन् ।’


केही घटना सडकको अवस्था र गाडीको यान्त्रिक समस्याका कारण पनि हुने गरेको उनले बताए । ‘हामी सडकमा बसेर ट्राफिक नियम पालना गरे–नगरेको हेर्छौं । कानुनअनुसार कागजात खोज्छौं,’ उनले भने, ‘तर, हामीलाई गाडी र सडकको प्राविधिक अवस्था थाहा हुँदैन । यसबारेमा सम्बन्धित निकायले नियमित हेरिदिनुपर्छ ।’


यस आर्थिक वर्षको आठ महिनामा सवारी दुर्घटनामा परी जिल्लामा ८५ जनाको मृत्यु भएको छ । सबैभन्दा कम असोजमा तीनजनाको मृत्यु भएको छ भने पुसमा सबैभन्दा बढी ३० जनाको मृत्यु भएको छ । दुर्घटनामा २ सय ९४ जना घाइते भएका छन् । ९० वटा मोटरसाइकल, २९ वटा बस, २२ वटा जिप कार, १९ वटा ट्र्याक्टर, १० टेम्पो र आठ ट्र्याक्टर दुर्घटनामा परेको कुँवरले बताए ।

प्रकाशित : चैत्र ७, २०७५ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?