कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

डाँडागाउँमा पहिरोको त्रास

प्यूठान — प्यूठानको गौमुखी गाउँपालिका–२, अर्खा डाँडागाउँका बासिन्दा वर्षायाम नजिकिँएपछि पिरमा परेका छन् । बाह्रैमास हिउँदे याम कायम भइदिए हुन्थ्यो भनेर कामना गर्छन् । डाँडाको भिरालो जमिनमा रहेको बस्तीमा सधैं पहिरोको जोखिम छ ।

डाँडागाउँमा पहिरोको त्रास

उनीहरूको बस्तीलाई पहिरोले घेरेको छ । बर्खामा उठीवास हुने डरले झरीयाम नलागोस् भन्ने कामना गर्छन् ।


स्थानीय ६० वर्षीय चन्द्री सुनारले गाउँको चारैतर्फबाट पहिरोले घेरेको बताइन् । ‘हिउँदका महिना हाँसीखुसी दिन बिताउँछौं,’ उनले भनिन्, ‘जेठ/असारदेखि मंसिरसम्म पहिरोको त्रास हुन्छ ।’ झिमरुक नदीको उद्गमस्थल गौमुखी नजिकै डाँडागाउँमा वर्षातमा चारैतिरबाट पहिरो खस्ने गरेको छ ।


गाउँलेलाई ओहोरदोहोर गर्न मुस्किल पर्ने स्थानीय बताउँछन् । स्थानीयले हिउँदमा बनाएका गोरेटा बाटा जेठमा हुने पहिलो वर्षाले बगाउँछ । ‘हिउँदमा पनि हामीले सधैं बर्खा देख्छौं,’ स्थानीय झुपे कामीले भने, ‘केही वर्ष पहिले घर तलबाट गएको पहिरो नजिकै आइसकेको छ । बर्खामा कति बेला बगाउने हो भन्ने डरले सताउँछ ।’


विपन्न डाँडागाउँवासीले गाउँपालिकाको सहयोगमा खरका छाना हटाएर जस्तापाता लगाएका छन् । गाउँमा सबैका घर–घरमा खानेपानीका धारा निर्माण भएका छन् । गाउँमा भौतिक सुविधा पुगेको छ । प्राकिृत प्रकोपले स्थानीयलाई सधैं दुःख दिइरहेको उनीहरूले दुखेसो गरे । पहिरोको डर भएपछि जग्गा बिग्री हुँदैन ।


त्यसैले गाउँ छाड्न नसकेको स्थानीय चित्रबहादुर सुनारले बताए । ‘पहिरोको डर सबैलाई छ,’ उनले भने, ‘कसैको पनि गाउँमा बस्ने मन छैन । जोखिमयुक्त गाउँको जग्गा जमिन कसले किनिदिने ? । गाउँमा धेरैजसो दलित परिवार बसोबास गर्छन् । सबैलाई आफ्नो अन्नले २ महिना खान नपुग्ने स्थानीय ६५ वर्षीय भुन्टी विकले बताइन् ।


‘गाउँको जग्गा बिक्री हुँदैन,’ उनले भनिन्, ‘आफ्नो थातथलो छाडेर त्यत्तिकै कहाँ जानु ?’ दुई वर्षदेखि छोरो साउदी अरबमा काम गर्न गएकाले राम्रो कमाइ भए ५ वर्षभित्र अन्यत्र जग्गा जमिन किनेर बसाइँ सर्ने योजना बनाएको विकले बताइन् ।


डाँडागाउँमा पहिरोको निकै जोखिमयुक्त बस्ती रहेको गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरीले बताए । ‘डाँडागाउँको बस्ती स्थानान्तरण गराउनुपर्छ भन्ने गाउँपालिकाको योजना हो,’ गिरीले भने, ‘गत वर्ष जिल्ला प्राविधिक कार्यालयको टोली लगेर बस्तीको भौगोलिक अध्ययन पनि गराएका हौं ।’


गाउँपालिकाको एक्लो प्रयासले ५०–६० घरलाई स्तान्तरण गराउन सम्भव नरहेको गिरीले बताए । ‘प्राविधिक टिमले केन्द्रबाटै भूगर्भविद्को टिम ल्याएर डिटेल अध्ययन गराउन सुझाव दिएका छन्, ‘गिरीले भने, ‘यसका लागि पहल गरिरहेका छौं ।’ डाँडागाउँ बस्तीलाई के गर्न सकिन्छ भन्ने विषयमा गाउँ कार्यपालिका गम्भीर रहेको गिरीले बताए ।

प्रकाशित : चैत्र ७, २०७५ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?