होलीमा रंगियो तराई–पहाड

पहाडी र मधेसी समुदायको मिश्रित बसोबास भएको प्रदेश ५ का तराईका जिल्लामा दुई दिनै होली
प्रदेश ब्युरो

बुटवल — पहाडी तथा तराईका बासिन्दाको मिश्रित बसोबास भएकाले दाङलगायत जिल्लामा दुवै दिन होली खेलिन्छ । पहाडबाट बसाइँसराइ गरेर आएका मानिसले बुधबार होली खेलेका छन् । यहाँका आदिवासी थारूलगायत अन्य समुदायका तराईवासीले भने बिहीबार मात्रै होली खेल्छन् ।

होलीमा रंगियो तराई–पहाड

होलीमा विभिन्न हिंसात्मक तथा असभ्य गतिविधि हुने भएकाले होली पर्व सचेत भएर मनाउन जिल्ला प्रशासन कार्यालयले सबैलाई अपिल गरेको छ ।

प्रशासनले प्रेस विज्ञप्ति जारी गरी होली पर्वलाई सद्भाव र शान्तिपूर्ण तरिकाले मनाउन सबैलाई अनुरोध गरेको छ । होली पर्वलाई प्रेम, आपसी भाइचारा, सदभाव, उल्लासका साथ मर्यादित र शान्तिपूर्ण तरिकाले मनाउन प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले सबैलाई अनुरोध गरेका छन् । होली खेल्ने नाममा कुनै पनि अवान्छित कार्य गरेमा कानुनबमोजिम कारबाही हुने उनले बताएका छन् ।


जिल्ला प्रहरीले पनि होलीलाई सभ्य तरिकाले मनाउन सबैलाई अनुरोध गरेको छ । जथाभावी लोला हान्ने, हिलो, फोहोर पानी फ्याँक्ने, अण्डा, गोलभेडा हान्नेजस्ता काम नगर्न प्रहरीले सबैलाई सचेत बनाएको छ । कसैको इच्छाविपरीत अपमान हुने वा आत्मसम्मानमा चोट पुग्ने गरी रंग लगाएमा कारबाही गरिने प्रहरीले जनाएको छ ।


रंग खेल्ने क्रममा प्रयोगयोग्य धूलो रंगबाहेक मोबिल, पेन्टजस्ता मानवीय स्वास्थ्यलाई असर पार्ने पदार्थ प्रयोग नगर्न प्रहरीले सबैलाई अनुरोध गरेको छ । नशाजन्य लागूपदार्थ, मादकपदार्थ सेवन, समूहमा वा सवारी साधनमा होहल्ला, गालीगलौज गर्ने, त्रास पैदा गर्ने, सामाजिक शान्ति भंग गर्नेजस्ता अराजक व्यवहार गरेमा तत्काल पक्राउ गरी कानुनी कारबाही थालिने जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजनकुमार गौतमले बताएका छन् ।


पर्वको नाममा जातीय, धार्मिक, सामाजिक सदभाव भडकिने खालका कुनै पनि कार्य नगर्न पनि उनले अनुरोध गरेका छन् । ‘सडक, सार्वजनिक स्थानलगायतका ठाउँमा भेला भई आगो बाल्ने र पटाकालगायतका आवाज आउने वस्तु पडकाउने काममा पनि रोक लगाएका छौं,’ उनले भने, ‘महिला तथा युवतीप्रति लक्षित गरी रंग, लोला, गोलभेंडा, अण्डा, पानी आदि हान्ने, हैरानी गर्ने, दुःख दिने, असभ्यता प्रकट गर्नेजस्ता काम भए कारबाही हुनेछ ।’


होली पर्वलाई लक्षित गरी जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको र कसैले गलत क्रियाकलाप गरेमा कारबाही हुने उनले बताए ।


दुवै दिन

बुटवलमा बुधबार होली खेलिएको छ । तराईको जिल्ला भए पनि पहाडी समुदायका कारण रूपन्देहीको बुटवलमा पहिलो दिन पनि होली खेलिन्छ । पहाडी समुदायको बाक्लो बसोबास भएकाले २ दिन होली खेल्ने परम्परा बसेको हो ।


दुवै दिन होली खेल्ने भएकाले यहाँका विद्यालयलगायत सार्वजनिक संघसंस्थाले फनि दुवै दिन बिदा दिएका छन् । बुटवलमा क्रियाशील व्यावसायिक तथा सामाजिक संघसंस्थाहरूले बिहानैदेखि होली मिलन कार्यत्रम आयोजना गरेका थिए । उनीहरू समूहगत रूपमा होली खेले ।


बालबालिका, महिला, युवा र प्रौढले आ–आफ्ना समूह बनाएका थिए । पहाडी जिल्लाबाट बसाइँ सरेर आएकाले विभिन्न सम्पर्क समाज तथा समूहमार्फत घरघरमा फागु उठाउँदै हिँडेका थिए । विभिन्न ठाउँमा होली तथा फागु विशेष प्रतियोगितासमेत राखिए ।


होलीका नाममा हुने उच्छृंखल प्रवृत्ति रोक्न प्रहरीले सडकमा धेरै प्रहरी परिचालन गरेको छ । सर्वसाधारणमाथि पनि रंगका नाममा फोहोर पानीका लोला, कुहेका अण्डा, मोबिल, गोबरजस्ता वस्तुका घोलले नछ्याप्न अपिलसमेत गरेको छ ।


सुरक्षा योजना

होली पर्वलाई लक्षित गर्दै रूपन्देहीमा विशेष सुरक्षा योजना लागू गरिएको छ । होली पर्वका नाममा उच्छृंखल तथा अप्रिय गतिविधि हुन नदिन प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ ।


तराईमा विशेष गरी होली बिहीबार मनाइँदैछ । रूपन्देहीका डीएसपी धर्मराज भण्डारीले होली पर्वलाई ध्यानमा राख्दै रूपन्देहीमा विशेष सुरक्षा योजना लागू गरिएको र योजना अन्तर्गत ६ सय १० जना प्रहरी परिचालन गरिएको बताए । उनका अनुसार एसपीदेखि तल्लो तहसम्मका प्रहरीको परिचालन गरिएको छ ।


एसपीको नेतृत्वमा एउटा कमान्ड पोस्ट, बुटवल र भैरहवामा १५–१५ जना प्रहरीको परिचालन गरी स्ट्राइकिङ फोर्सको परिचालन गरिएको छ । इन्स्पेक्टरको नेतृत्वमा जिल्लाभरि प्रहरी टोली परिचालन गरी १८ स्थानमा मोबाइल भ्यान परिचालन गरिएको छ ।


सात–सात जना प्रहरीको परिचालन गरेर जिल्लाका १२ वटा स्थानमा चेकिङ गरिएको छ । ६७ स्थानमा स–सानो टुकडी र १५ जना प्रहरी सादा पोसाकमा परिचालन गरिएको छ । विशेष सुरक्षा योजना बुधबारदेखि सुर भई बिहीबारसम्म रहनेछ ।


‘होली मनाउने क्रममा धार्मिक सद्भाव खलबलिन नदिन र होली मनाऊने क्रममा महिला तथा युवतीमाथि यौनजन्य हिंसाका त्रियाकलाप हुन नदिन हामी सजग छौं,’ डीएसपी भण्डारीले भने, ‘पर्वका नाममा कुनै पनि अप्रिय गतिविधि हुन लाग्नासाथ तत्काल नियन्त्रण गरिनेछ । गलत गर्ने विरुद्ध कारबाही हुनेछ ।’


(दाङबाट दुर्गालाल केसी, बुटवलबाट अमृता अनमोल र भैरहवाबाट माधव ढुंगाना)

प्रकाशित : चैत्र ७, २०७५ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?