कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

बाटो खन्न जंगलको बास

लिघा, प्यूठान — गाउँमा वृद्धावृद्धा र बालबालिका मात्र छन् । तन्नेरी र युवा महिला–पुरुष घरमा भेटिंदैनन् । उनीहरू गैंटी, साबल, कुटो, कोदालो बोकेर लिघाको कटबरा दहको जंगलमा बाटो निर्माणमा व्यस्त छन् ।

बाटो खन्न जंगलको बास

नौबहिनी गाउँपालिका–२, लिघा कुर्तिबाङका स्थानीयलाई यतिबेला गोरेटो बाटो खन्न भ्याइनभ्याइ छ । जंगलमै बास बसेर बाटो खन्ने काम गरिरहेका छन् ।

बाटो निर्माण उपभोक्ता समितिले १५ टोली बनाएर काममा खटाएको छ । एक टोलीले १ सय मिटर लम्बाइ, २ दशमलव ५ मिटर चौडा सडक निर्माण गर्ने जिम्मा पाएका छन् । गाउँले उत्साहसाथ खटिएका छन् ।

नौबहिनीको मुख्य पर्यकीय गन्तव्य कटबरा दह पुग्न गाउँपालिकाले नौबहिनी–२ स्थित लिघाको फाउने पोखरीबाट ३ हजार ३ सय मिटर लामो पदमार्ग निर्माणका लागि बजेटको व्यवस्था गरेपछि गाउँले उत्साहित भएर काममा लागेका हुन् ।

गत वर्ष गाउँपालिकाले १० लाख रुपैयाँ विनियोजन गरेको थियो । त्यसबेला यसरी नै १ हजार ७ सय मिटर पदमार्ग निर्माण गरेका थिए । ‘सबैले काम गरेर गत वर्ष योजना पूरा गरेका थियौं,’ स्थानीय पूर्णवीर रानाले भने, ‘यसपालिे पाँच लाख रुपैयाँ दिएको छ । मिलेर काम गर्दैछौं ।’

गाउँमै रोजगारी मिलेपछि तीन दिनदेखि जंगलमा बास बसेर काम गरिरहेको उनले बताए । घरबाट आऊ/जाऊ गरी काम गर्न नभ्याइने भएकाले बास बसेर काम गर्ने गरेको उनले बताए । राताम्य लालीगुराँसको जंगलमा बास बसेर काम गर्दा रामाइलो अनुभूति भइरहेको स्थानीय हस्ते सुनारले बताए । ‘अप्ठ्यारो पहरो फोरेर पदमार्ग निर्माण गर्दैछौं,’ उनले भने, ‘मिलेर काम गरिरहेकाले सजिलो भइरहेको छ ।’ सडक निर्माणको काम गर्न भारतका विभिन्न स्थानमा जाने गरेकामा यसपालि आफन्तसँग मिलेर गाउँमा काम गर्न पाउँदा रमाइलो भइरहेको उनले बताए ।

गर्मी सुरु भइसकेकाले जंगलमा बास बसेर काम गर्न सहज भएको स्थानीय धनमाया रानाले बताइन् । ‘भागबण्डा अनुसारको काम कसले चाँडै सक्ने भन्ने प्रतिस्पर्धा छ,’ उनले भनिन्, ‘बिहान जुरुक्क उठेर बेलुका झमक्कै हुन्जेलसम्म काम गर्छौं ।’ रानाका अनुसार सबै टोलीलाई बराबर जिम्मेवारी दिइएको छ । पारिश्रमिक पनि सबैले बराबर पाउने व्यवस्था मिलाइएको छ ।

उपभोक्ता समिति अध्यक्ष गणेश बुढाले १ सय ५० जनाले बास बसेर बाटो निर्माण गरिरहेको बताए । काम गर्न थालेको तीन दिनमा लगभग आधा काम सम्पन्न भइसकेको उनले बताए । ‘काम गर्न सक्नेजति सबै काममा लागेका छन्,’ उनले भने ।

स्थानीय कुर्तिबाङखोलादेखि टोपी खस्ने उकालो पहरा फोर्दै पदमार्ग निर्माण भइरहेको बुढाले बताए । पदमार्ग निर्माणपछि दह हेर्न आउने आन्तरिक पर्यटक र लिघाको लेकाली भेगमा गोठालो बस्नेहरूलाई सहज हुने उनले बताए ।

आन्तरिक पर्यटक धेरै भित्र्याउन सकिने कटबरा दह क्षेत्रमा पुग्न सजिलोका लागि पालिकाले बजेट विनियोजन गरेर पदमार्ग निर्माणको काम थालेको नौबहिनी गाउँपालिका अध्यक्ष शिव रिजालले बताए । ‘अप्ठ्यारो काम गर्नसमेत स्थानीय निकै उत्साहित भएर खटेका छन्,’ रिजालले भने ।

प्रकाशित : चैत्र ८, २०७५ ११:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?