१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

एसईई परीक्षाको तयारी तीव्र

रुकुमपूर्व छुट्टै जिल्ला बनेपछि पहिलो पटक एसईई परीक्षा सञ्चालन हुन लागेको हो
हरि गौतम

रुकुमपूर्व — आगामी आइतबारदेखि सञ्चालन हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) जिल्लामा पहिलो पटक हुँदैछ  । रुकुमपूर्व छुट्टै जिल्ला बनेपछि पहिलो पटक परीक्षा सञ्चालन हुन लागेको हो  ।

एसईई परीक्षाको तयारी तीव्र

छुट्टै जिल्ला भइसकेको भए पनि गत वर्षको परीक्षा सञ्चालन भने रुकुमपश्चिमबाट भएको थियो । शिक्षा विकास तथा समन्वय इकाइ स्थापना भएपछि शिक्षासम्बन्धी कामकाज जिल्लाबाट गरिँदै आइएको छ ।

परीक्षाका लागि जिल्लामा ६ वटा केन्द्र कायम गरिएको छ । तीन स्थानीय तह रहेको जिल्लाका १ हजार ५९ विद्यार्थीका लागि ६ वटा केन्द्र कायम गरिएको हो । यसअघि कायम गरिएका ५ र यस वर्ष थप गरिएको एक गरी ६ वटा केन्द्रमा परीक्षा सञ्चालन गरिने शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख तिलक गौतमले बताए ।

उनका अनुसार सिस्ने गाउँपालिकामा चार, भूमे र पुगाउत्तरगंगा गाउँपालिकामा एक/एक गरी ६ वटा केन्द्र कायम गरिएको छ । सिस्ने गाउँपालिका–५ को रुक्मिणी मावि, ६ को त्रिभुवन जनता मावि छिप्रिदह, वडा २ को हिमालय मावि नायगाड र वडा ३ को जनता मावि पोखरामा परीक्षा सञ्चालन हुनेछ ।

भूमे गाउँपालिका–६ को जनजागृति मावि महत र पुथाउत्तरगंगा गाउँपालिका–१० को महेन्द्र मावि तकसेरामा पनि एसईईको परीक्षा सञ्चालन गरिनेछ ।

यस वर्षदेखि सिस्ने गाउँपालिका ६ को त्रिभुवन जनता माविमा पनि परीक्षा केन्द्र कायम गरिएको इकाइ प्रमुख गौतमले बताए । विद्यार्थी संख्याका आधारमा परीक्षा केन्द्र कायम गरिएको छ । परीक्षा केन्द्र कायम गर्न न्यूनतम १ सय ५० जना विद्यार्थी हुनैपर्ने मापदण्ड छ ।

महेन्द्र मावि तकसेरा केन्द्रमा ६२ जना मात्रै विद्यार्थी छन् । दुर्गम भएकाले तकसेरामा पनि परीक्षा केन्द्र कायम गर्नुपरेको भनाइ गौतमको छ । एसईईका लागि फारम भरेका ५ सय ७६ छात्रा र ४ सय ८३ छात्र गरी १ हजार ५९ विद्यार्थीमध्ये नियमिततर्फ १ हजार ३१ र ग्रेड वृद्धिमा २८ जना विद्यार्थी छन् ।

नियमिततर्फ ५ सय ७६ छात्रा छन् भने ४ सय छात्र छन् । ग्रेड वृद्धितर्फ ११ छात्रा छन् भने १७ छात्र छन् । परीक्षाका लागि आवश्यक तयारी भइसकेको जनाइएको छ । ६ वटै केन्द्राध्यक्ष तोकेर अभिमुखीकरण गरी सम्बन्धित केन्द्रसम्म प्रश्नपत्रसमेत पुगिसकेको इकाइ प्रमुख गौतमले बताए ।

परीक्षालाई मर्यादित बनाउनका लागि जिल्ला समन्वय समिति, सम्बन्धित गाउँपालिका अध्यक्ष र उपाध्यक्षसँग आपसी छलफल र समन्वयमै परीक्षाको अनुगमनसमेत हुने उनले बताए ।

‘अनुगमनका नाममा हद गर्न नदिइने गरी निश्चित मान्छेबाट मात्रै यस वर्षको परीक्षाको अनुगमन हुन्छ,’ इकाइ प्रमुख गौतमले भने, ‘परीक्षा सञ्चालन भइरहेका कोठा, भवन, वातावरणलगायत परीक्षार्थीले सजिलो–असजिलो महसुस गरेको बारे पनि अनुगमन गरिनेछ ।’

जिल्ला समन्वय समितिका पदाधिकारी, सम्बन्धित गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षले मात्रै अनुगमन गर्ने गरी व्यवस्था मिलाइएको छ । तकसेरा परीक्षा केन्द्रमा ६२, महत परीक्षा केन्द्रमा २ सय २८ र छिप्रिदह परीक्षा केन्द्रमा २ सय ७ जना परीक्षार्थी रहनेछन् ।

यसैगरी रुक्मिणी मावि परीक्षा केन्द्रमा १ सय ९९, नायगाड परीक्षा केन्द्रमा २ सय ७ र पोखरा परीक्षा केन्द्रमा १ सय ५६ परीक्षार्थी रहनेछन् ।

तयारी पूरा
बर्दियामा एसईई परीक्षाको तयारी पूरा भएको छ । जिल्लाका ३२ केन्द्रमा परीक्षाका लागि ७ हजार ७ सय ८९ परीक्षार्थी सहभागी हुने भएका छन् । ३२ केन्द्रमा साधारणतर्फ ७ हजार ३ सय ५, प्राविधिकतर्फ २ सय १३ र ग्रेडमा २ सय ७१ विद्यार्थी रहेका छन् ।

तीमध्ये साधारणतर्फ ३ हजार ७ सय ७३, छात्र ३ हजार ५ सय ३२, प्राविधिकतर्फ छात्रा १ सय १, छात्रा १ सय १२, ग्रेडमा छात्रा १ सय ५० र छात्र १ सय २१ जना रहेका छन् । केन्द्राध्यक्ष ३२, सहायक केन्द्राध्यक्ष ३७, निरीक्षक ३ सय २७, कर्मचारी ७०, कार्यालय सहयोगी १ सय ४६ गरी ६ सय १२ जना खटिने भएका छन् ।

परीक्षाको सबै तयारी पूरा भएको शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख दण्डपाणि शर्माले बताए । यसैबीच जिल्ला शिक्षा संयोजक एवं प्रमुख जिल्ला अधिकारीले परीक्षामा अवाञ्छित गतिविधि गर्ने, चिट चोर्ने/चोराउनेमाथि ठाउँका ठाउँ कारबाही हुने चेतावनी दिएका छन् ।

प्रकाशित : चैत्र ८, २०७५ ११:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?