गिटी–बालुवा घाटगद्दी नगरेरै बिक्री 

मनोज पौडेल

कपिलवस्तु — नदीजन्य पदार्थ (गिटी, बालुवा) को ठेक्का व्यवस्थित गर्न गठित जिल्लास्तरीय अनुगमन समिति निष्क्रिय हुँदा जभाभावी बढ्दै गएको छ । ठेकेदारले नदीबाट निकालेको नदीजन्य पदार्थको घाटगद्दी (एक ठाउँमा जम्मा) गरेपछि समितिले अनुगमन गरेर स्वीकृति दिनुपर्छ । त्यसपछि माक्र बित्री गर्न पाइन्छ ।

गिटी–बालुवा घाटगद्दी नगरेरै बिक्री 

जिल्लाको बुद्धभूमि नगरपालिका–९ स्थित अगिया खोलाको गब्दहवा नाकाबाट ठेकेदारले घाटगद्दी नगरी सीधैं खोलाबाट धमाधम नदीजन्य पदार्थ निकासी गरिरहेका छन् । यसले नदीको दोहन बढेको छ ।


सरकारले नदीजन्य पदार्थ बिक्रीका लागि घाटगद्दी अनिवार्य गरेको छ । यसले उपभोक्ताले गत वर्षभन्दा तीन गुणाभन्दा बढी मूल्य तिर्नु परेको छ । उता ठेक्का सकारेको वाणगंगा नगरपालिका–११ स्थित खड्का काष्ठ तथा फर्निचर फmर्मले घाटगद्दी नगरी बिक्री गर्दै आएको छ । खोलाबाट सीधैं बित्री गर्दा पनि घाटगद्दीकै मूल्यमा बेच्दै आएको छ । नदीबाट उत्खनन गरेर सीधैं बेच्दा बढी फाइदा हुने भएकाले ठेकेदारले घाटगद्दी गरिरहेका छैनन् । शुक्रबार पनि ७/८ वटा ट्र्याक्टरले नदीमा बालुवा लोड गरिरहेका थिए ।


नाकाबाट दैनिक २५/३० ट्र्याक्टरले गिटी, बालुवा ओसार्ने गरेका छन् । उनीहरूले घाटगद्दी गर्नुपर्ने ठाउँमा नखसालेर सीधै उपभोक्तालाई दिने गरेका छन् । ‘घाटगद्दीमा खसालेपछि त्यति राम्रो हुँदैन,’ एक उपभोक्ताले भने, ‘ठेकेदारले जहाँबाट लैजा भन्छ त्यहींबाट लैजानुपर्छ ।’ केही ट्र्याक्टरले घाटगद्दीस्थलमा गिटी, बालुवा खसालिरहेका थिए ।


घाटगद्दीबाट बेच्नका लागि जिल्ला स्तरीय अनुगमन समितिले नापजाँच गरेर स्वीकृति दिनुपर्छ । फर्मले प्रतिक्युफिट ६ रुपैयाँ र घाटगद्दी शुल्क १ हजार गरी भ्याटसमेत १ हजार ७ सय रुपैयाँमा सय क्युफिट नदीजन्य पदार्थ उपलब्ध गराउनुपर्ने सर्तमा ठेक्का लिएको छ ।


‘तर फर्मले खोलाबाट सोझै निकाल्दा १ सय क्युफिट बालुवाको १ हजार र ढुंगाको १ हजार २ सय रुपैयाँ लिने गरेको छ,’ ट्र्याक्टर चालक राजु कोरीले भने, ‘तर बिल भने ६ सय ७८ रुपैयाँको मात्र दिन्छन् ।’ घाटगद्दीबाट खरिद गर्दा १ हजार ७ सय रुपैयाँ पर्ने भएपछि सोझै खोलाबाट ल्याउने गरेको उनले बताए । ठेकेदारको कामले चरम दोहन बढेको एक स्थनीयले बताए । ‘घाटगद्दी गरेको भनेर सरकारी रेकर्डमा देखिन्छ,’ उनले भने, ‘सोझै नदीबाट उठाएको थाहा हुँदैन । त्यही भएर ठेकेदार नदीबाट बेच्न लालायित हुन्छन् ।’


बाटोघाटो निर्माण र मर्मतका लागि स्थानीय जनप्रतिनिधिको सिफारिसमा नदीबाट सोझै बालुवा निकालिएको हुन सक्ने फर्मका सञ्चालक लालबहादुर खड्का क्षत्रीले बताए । ‘चन्दा सहयोगले हामी थाक्यौं,’ उनले भने, ‘बाटो बिग्रियो, धूलो उड्यो र कल्भर्ट बनाउनु पर्‍यौं भन्दै चन्दा माग्न आउँछन् ।’ उनीहरूलाई नदीजन्य पदार्थ खोलाबाट सोझै बालुवा निकालेर लैजाऊ भन्ने गरेको उनले बताए । उनले ०७५ माघ २५ मा १ करोड ८९ लाख ४९ हजार ७ सय ५० रुपैयाँमा ठेक्का लिएका थिए ।


फर्मले बुद्धभूमि नगरपालिका–९ जमुनिटिहादेखि उत्तरमा अर्घाखाँचीको सिमाना रातो पहरासम्मको क्षेत्रबाट २६ हजार ४ सय धनमिटर नदीजन्य पदार्थ निकाल्न पाउने उल्लेख छ । ‘धेरैतिरबाट गुनासो आएको छ,’ अनुगमन समितिका संयोजक तथा जिल्ला समन्वय समिति प्रमुख नारायण खनालले भने, ‘यसलाई गम्भीर रूपमा लिएका छौं ।’


ठेक्का लिएका ठेकेदारसँग छलफल पनि गर्‍यौं उनीहरूबाट गल्ती नगर्ने प्रतिबद्धता आएको छ । सम्झौतामा उल्लेख गरिए अनुरूप घाटगद्दीबिना बिक्री वितरण गरेको पाइएमा कारबाही गरिने उनले बताए ।

प्रकाशित : चैत्र ९, २०७५ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?