कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

घर–व्यवहारले बिथोलियो पढाइ

बुटवल — वार्षिक परीक्षा नजिकिएको छ । महत्त्वपूर्ण विषयमा अभ्यास गराइँदै छ । रुपन्देहीको सम्मरीमाई गाउँपालिकास्थित जनता माविमा कक्षा ६ की छात्रा जानकी पासी लगातार अनुपस्थित छन् । १३ वर्षीया उनलाई घरधन्दाको जिम्मेवारीले नआएकी हुन् । ‘बुवा–आमा इंटा भट्टामा जानुहुन्छ,’ उनले भनिन्, ‘बाजेबज्यैं बूढा छन् । भाइबैनी सानै छन् । बाख्रा र कुखुरा पनि हेर्नुपर्छ ।’ विद्यालय गएको दिन पूरै समय बिताउँदिनन् । ‘बुबाआमाले काम नगरे खान पुग्दैन,’ उनले भनिन्, ‘जेठी छोरी भएकाले काम गर्नुपर्छ ।’ 

त्यसै विद्यालयमा कक्षा ७ मा पढिरहेकी १४ वर्षीया मनीषा हरिजन गयल हुन्छिन् । नियमित पढ्न नआउने भएकाले उनी पढाइमा कमजोर छिन् । दुई पटक फेल भइसकिन् । धान रोप्ने र गोड्ने, गहँ छर्ने र काट्ने बेलामा लामो अवधि अनुपस्थित हुन्छिन् । ‘अँधियामा खेती लगाएका छौं । खेताला लगाउन धेरै पैसा चाहिन्छ,’ मनीषाले भनिन्, ‘खेतीबाली लगाउँदा र घरमा काम पर्दा स्कुल जान पाइँदैन ।’


जनता माविमा ६ सय ५० विद्यार्थी छन् । त्यसमध्ये ३ सयभन्दा बढी छात्रा छन् । धेरै छात्राको नियति जानकीको जस्तै छ । प्रधानाध्यापक राकेश मुराउका अनुसार विपन्न परिवारका बालिकामा नियमित विद्यालय नआउने समस्या छ । अभिभावक मेलापात र मजदुरी जाँदा उनीहरू गयल हुन्छन् । घरमा खेतीपाती लगाउने र स्याहार्ने बेलामा समस्या धेरै हुन्छ ।

मर्चवार आदर्श माविकी पूजा हरिजनको अवस्था त्यस्तै छ । कक्षा ५ की विद्यार्थी नियमित विद्यालय जाँदिनन् । बिहान विद्यालय हुँदा अनुपस्थित हुन्छिन् । ‘बुबाआमा मजदुरीमा जानुहुन्छ,’ १२ वर्षीयाले भनिन्, ‘खाना नपकाएर स्कुल जान मिल्दैन ।’ उनका ४ भाइबैनी छन् । हुर्काउने जिम्मेबारी पनि पूजामाथि छ । पारिवारिक जिम्मेवारी पूरा गर्दा विद्यालय छुट्छ । उनको ५० प्रतिशत हाजिरी पुग्दैन । ‘पढाइ छुट्छ । घरमा पढ्न पाइन्न,’ उनले भनिन् ‘सधै स्कुल जान पाए पो पढाइ राम्रो हुन्थ्यो । कहिल्यै त्यस्तो भएन ।’


मर्चवारस्थित मझगावामा आदर्श माविमा १ हजार १ सय ४५ विद्यार्थी छन् । त्यहाँ नियमित गयल हुने धेरै विद्यार्थी छन् । हाजिर हुनेले पनि पूरै अवधि विद्यालयमा बिताउँदैनन् । विद्यालयका प्रधानाध्यापक शत्रुधनप्रसाद शुक्लाले विपन्न समुदायका बालिकामा यस्तो समस्या रहेको बताए । ‘विपन्न अभिभावक छोरीलाई घरायसी काम र भाइबैनी जिम्मा लगाएर आफू काममा जान्छन्,’ उनले भने, ‘यसैले त्यस्ता छात्रा नियमित विद्यालय आउँदैनन् ।’ विद्यालयले धेरै दिन अनुपस्थित हुने विद्यार्थीका अभिभावकलाई भेट्ने गरेको छ ।


त्यसले पनि अवस्था सुध्रिएको छैन । ‘छोरीले पढेर फाइदा हुन्छ भन्ने सोच्नुहुन्न । त्यसैले ध्यान दिनुहुन्न,’ उनले भने, ‘पहिले छोरीलाई पढ्न नपठाउने अभिभावकले अहिले विद्यालय पठाउन थाल्नुभएको छ । त्यहीँ ठूलो कुरा हो ।’

प्रकाशित : चैत्र १०, २०७५ १०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?