कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

संरक्षण गरिँदै कटबरा दह

गिरुप्रसाद भण्डारी

प्यूठान — वर्षौंदेखि बेवारिसे कटबरा दह संरक्षण गर्न थालिएको छ । दहको संरक्षण र प्रचारप्रसार गरी नौबहिनी गाउँपालिकाले आन्तरिक पर्यटक भित्र्याउने लक्ष्य राखेको हो । पर्यटक भित्र्याएर स्थानीय समुदायको जीवनस्तर बदल्ने पालिकाको योजना छ । 

संरक्षण गरिँदै कटबरा दह

घना जंगलको बीचमा रहेको दह र विभिन्न रंगमा फुल्ने लालीगुराँसका फूल हेर्न यहाँ आन्तरिक पर्यटक आउने गर्छन् । बेवारिसे दहको संरक्षणका लागि गत वर्षदेखि गाउँपालिकाले बजेट विनियोजन गर्न थालेको हो । अहिले कटबरा दहलाई जिल्लाकै मुख्य पर्यटकीय गन्तव्य बनाउने गरी योजना अगाडि सारिएको नौबहिनी गाउँपालिका अध्यक्ष शिव रिजालले बताए । ‘पर्यटकलाई दहसम्म पुग्न सजिलोका लागि ३३ सय मिटरको पदमार्ग निर्माण गरेका छौं,’ उनले भने, ‘अब सजिलै पर्यटक दहसम्म पुग्न सक्ने छन् ।’


पदमार्ग निर्माणमा स्थानीय समुदाय सक्रिय भएर लागेको रिजालले बताए । नौबहिनी गाउँपालिका–१, स्याउँलीबाङ र २ लिघाको सीमा क्षेत्रमा रहेको दह निकै आकर्षक रहेर पनि ओझेलमा परेकाले संरक्षणमा लागेको उनले बताए । दहसम्म पुग्नका लागि स्याउँलीबाङ र लिघा दुवैतर्फबाट एकसाथ पदमार्ग निर्माणको काम अगाडि बढिरहेको छ ।


दहमा कञ्चन सङ्लो पानी छ । यसको गहिराइ कति छ, अझै यकिन भएको छैन । ‘देवताले स्नान गर्ने स्थान भएकाले धेरै मान्छे भीडभाड भएर दह क्षेत्रमा पुग्न नहुने किंवदन्ती रहेछ,’ रिजालले भने, ‘हामीले दहमा फोहोर नहुने गरी वरिपरिबाट अवलोकन गर्न सडक निर्माण गरेका छौं ।’ दहको प्रचारप्रसारका लागि हालै पर्यटन क्षेत्रमा कलम चलाउने जिल्लाका सञ्चारकर्मीसहित कार्यपालिकाको टोलीले अवलोकन गरेको थियो ।


प्राकृतिक सम्पदामा असर नपारी पर्यटन प्रवर्द्धनमा सहयोग पुगोस् भनेर विभिन्न क्षेत्रका विशेषज्ञको सहायतामा कटबरा दह क्षेत्रमा पर्यटकीय पूर्वाधारका योजना अघि बढाइएको अध्यक्ष रिजालले बताए । दह क्षेत्रको सरसफाइ र संरक्षणमा स्थानीय उल्लेख्य मात्रामा सहभागी भइरहेका छन् । दहसँगै लिघा र स्याउँलीबाङको माथिल्लो भागमा रहेको लालीगुराँसको जंगल, विभिन्न जीवजन्तु तथा चराचुरुंगी यस क्षेत्रकै मुख्य आकर्षण हुन् ।


कटबरा दह घुम्न आउने पर्यटक एक सातासम्म भुल्न सक्ने सम्भावना रहेको स्थानीय खगे घर्तीले बताए । ‘कटबरा दह, नौबहिनी मन्दिर, कोठीभीर र लालीगुराँस यस क्षेत्रका मुख्य आकर्षण हुन्,’ उनले भने, ‘सबै ठाउँ घुमेर मज्जा लिंदा पर्यटकले एक साता बितेको पत्तै पाउँदैनन् ।’ उनका अनुसार कटबराबाट खलेसबाससम्म पुग्न दुई दिन लाग्छ । खलेबास हुँदै जिल्लाको सबैभन्दा अग्लो स्थान कोठीभीर पुग्न सकिन्छ ।


लिघा र स्याउँलीबाङ क्षेत्रका स्थानीयको सहकार्यमा तालको संरक्षण गर्दै पर्यटक भित्र्याउने लक्ष्य गाउँपालिकाको छ । दहको संरक्षण र प्रचारप्रसार गरी पर्यटक भित्र्याएर गाउँपालिकाकै दुर्गम बस्ती लिघा र स्याउँलीबाङ क्षेत्रका स्थानीयको आय आर्जन बढाउने लक्ष्य रहेको प्रमुख प्रशासकीय अधिकृत थानेश्वर भण्डारीले बताए ।


लिघाको फाउने पोखरी र स्याउँलीबाङको ठूलो गाउँबाट करिब ३ घण्टा पैदल हिंडेपछि कटबरा दह पुग्न सकिन्छ । गौमुखी संरक्षित वन क्षेत्रमा पर्ने कटवरा दह क्षेत्रमा रातो, सेतो र रंगीविरंगी लालिगुराँस पाइन्छन् । यस क्षेत्रमा मृग, रेडपाण्डा, ४ सय ५० प्रजातिका वनस्पति पाइने डिभिजन वन कार्यालय प्यूठानले जनाएको छ । २१ सय मिटर अग्लो पहाडको खोचमा दह रहेको छ ।


यसले झिमरुक नदीको मुख्य जलाधारमा पानीको मूल फुटाउन सहयोग पुर्‍याएको जिल्ला वन डिभिजन कार्यालय प्यूठानका रेन्जर हरि पौडेलले बताए । ‘पर्यापर्यटनबाट पनि गाउँको विकास गर्न सकिन्छ,’ उनले भने, ‘वन डिभिजन कार्यालय प्यूठानबाट समेत पर्यटक भित्र्याउने कार्यक्रम बनाउँदै छौं ।’

प्रकाशित : चैत्र १०, २०७५ १०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?