आठ वर्षदेखि बेपत्ता

कमल पन्थी

बर्दिया — जंगलमा घाँस–दाउरा गर्न गएका दुई नेपाली नागरिकलाई भारतीय प्रहरीले आठ वर्षदेखि बेपत्ता बनाएर राखेको पीडित परिवारले 
आरोप लगाएका छन् । 

गुलरिया नगरपालिका–८ का राममिलन लोध ०६७ सालदेखि बेपत्ता पारिएका हुन् । घाँस–दाउरा गर्न गएका उनीसहित अन्य नेपाली भारतीय वन समयमाता मन्दिरको घना जंगलमा पुगेका थिए । जंगलमा नेपाली देखेपछि भारतीय वन रक्षकले गोली चलाएका थिए । गोलीले घाइते भएका उनलाई भारतीय प्रहरीले नै मोटरसाइकलमा राखेर उपचारका लागि लगेको र अहिलेसम्म थप कुनै जानकारी नदिएको श्रीमती पार्वतीले बताइन् ।


०६७ फागुन ५ गते नै बढैयाताल गाउँपालिकास्थित जमुनीका हर्कबहादुर शाहीलाई पनि भारतीय सुरक्षाकर्मीले बेपत्ता पारेका थिए । वन तस्करी गरेको भन्दै उनीमाथि गोली प्रहार गरिएको थियो । घाइते अवस्थामै उनलाई भारतीय सुरक्षाकर्मीले बेपत्ता पारेको परिवारको आरोप छ । दुवैको अवस्था अहिलेसम्म पनि अज्ञात नै छ ।


प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले प्रहरीमा दिएको उजुरीका आधारमा खोजी गरिरहेको तर अवस्था पत्ता लाग्न नसकेको बताए । ‘घटनाका पीडितको उजुरीका आधारमा भारतीय प्रहरीसँग जानकारी माग्दै छौं,’ उनले भने । लोधलाई गोली हान्ने क्रममा भारतीय सुरक्षाकर्मीको गोली लागेर सँगै गएका राधेश्याम लोध पनि घाइते भएका थिए ।


दुवैलाई भारतको मूर्तिहास्थित वन विभागका वन रक्षकले गोली चलाएको पार्वतीले बताइन् । घटनालगत्तै एसएसबीले लोधको नेपाली नागरिकताको प्रतिलिपिसमेत मागेर लगेको परिवारले बताए । वन रक्षकले उनलाई उपचारका लागि भारत उत्तरप्रदेश राज्यस्थित बहराइच लगेको जानकारी दिएका थिए ।


घटनालगत्तै बहराइचस्थित सरकारी तथा निजी अस्पतालमा खोज तलास गरे पनि फेला नपरेको आफन्तीको दाबी छ । पीडित परिवारले जिल्ला प्रशासन कार्यालयसहित भारतीय वन कार्यालयमा अवस्था सार्वजनिक गर्न माग गर्दै आएका छन् ।


गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादवले भारतीय वन रक्षकबाट बेपत्ता पारिएका लोधको खोजी राज्यले गर्नुपर्ने बताए । लोधका श्रीमती, एक छोरी र दुई छोरा छन् ।

प्रकाशित : चैत्र ११, २०७५ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?