२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

एसएसबीद्वारा कब्रस्तान निर्माणमा अवरोध

कमल पन्थी

बर्दिया — भारतीय सीमा सुरक्षा बल (एसएसबी) को अवरोधले गुलरिया–९ टेपरीस्थित गायत्री निम्नमाध्यमिक विद्यालयसँग जोडिएको करिब ७ बिघा ऐलानी जग्गामा कब्रस्तान (चिहान) निर्माणको काम रोकिएको छ ।

नेपाल–भारतको अन्तर्राष्ट्रिय सीमा स्तम्भ नम्बर ६१/१२ को टेपरीको जग्गा आफ्नो भएको दाबी गर्दै भारतीय एसएसबीले भौतिक संरचना निर्माणमा रोक लगाएको हो ।


गुलरिया–९ का वडाध्यक्ष हरिप्रसाद पासवानले नेपाली भूभागको १ बिघा जग्गामा निर्माण गर्न लागेको कब्रस्तान (चिहान) एसएसबी क्याम्प कौवाभारले रोक लगाएको बताए ।


‘नगरपालिकाको विकास निर्माणको बजेटबाट काम गर्न लाग्दा उक्त जग्गा भारतको भएको भन्दै काम गर्न दिइएको छैन,’ उनले भने, ‘एसएसबीले दशगजामा एकतर्फी रूपमा खाडल खन्न हुने तर नेपालकै जग्गामा नेपालले नै विकास निर्माण गर्न नपाउनु ठाडो हस्तक्षेप हो ।’ वडाले कब्रस्तान बनाउन १ लाख ५० हजार रुपैयाँ बजेट छुट्याएको छ ।


०४६ सालमा निर्माण भएको विद्यालय भारतीय भूमिमा रहेको भन्दै धेरै पटक अवरोध गरेको स्थानीय दुर्गाप्रसाद चाईले बताए । ०५९ सालमा एसएसबीको क्याम्प स्थापनापछि भारतीय सुरक्षाकर्मीले विवाद खडा गरेको उनको भनाइ छ । पाँच वर्षअघि यहाँका बासिन्दाले भारतीय जंगलबाट आउने वन्यजन्तु रोक्न तारबार गर्दा एसएसबी कार्यालयले उखेलेर फालेको थियो । अन्तर्राष्ट्रिय सीमास्तम्भदेखि ५ सय मिटरपूर्वसम्म आफ्नो भूभाग भन्दै विकास निर्माणमा अवरोध गरेको स्थानीय हबिब दर्जीले बताए । उनले स्थानीय प्रशासनले कुनै चासो नदिएका कारण अतिक्रमण बढ्दै गएको बताए ।


भारतको सीमावर्ती कतरनियाघाट वन्यजन्तु आरक्ष परेका कारण यहाँका बासिन्दा घाँस–दाउरामा परनिर्भर छन् । त्यसले गर्दा भारतको खुलेर विरोध गर्न सक्दैनन् । दैनिक घाँस–दाउरा गर्न भारतीय सीमाका जंगल जानुपर्ने बाध्यताले भारतीय सुरक्षाकर्मीको हेपाहा प्रवृत्ति सहन बाध्य भएको उनीहरूले सुनाए ।


कित्ता नम्बर ७ उल्लेख भएको उक्त जग्गामा ०१६ सालअघि सर्यु नदी बग्थ्यो । भारतीय वनका कर्मचारीले जबर्जस्ती कृत्रिम सीमा निर्धारण गरी साना पिल्लर एकतर्फी गाडेको दर्जीले बताए । ‘यसलाई नै आधार मानेर एसएसबीले यहाँ कुनै पनि गतिविधि गर्न दिँदैनन्,’ उनले भने, सात बिघा जग्गा फाँटाजस्तै भएको छ ।’


विकास निर्माणमा अवरोध भएपछि गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादवले भारतले हस्तक्षेप गर्न नमिल्ने र सरकारले त्यसको समाधान खोज्नुपर्ने बताए । ‘सरकारले तत्काल समाधान खोज्नुपर्छ,’ उनले भने, ‘भारतीय सुरक्षाकर्मीले सीमामा सधैं हेपाहा प्रवृत्ति देखाउने गरेका छन् ।’ सरकारी जग्गा संरक्षण गर्ने अधिकार स्थानीय सरकारलाई नै भएकाले आफूले विकास निर्माणको काम अघि बढाउने उनले बताए ।


नेपाली भूमिमा एसएसबीले भौतिक संरचनालगायत जोतभोग गर्न नदिएको भन्दै शनिबार बेलुकी प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङसहित सशस्त्र प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइराला टेपरी पुगेका थिए ।


प्रजिअ कुरुम्बाङले सीमामा एसएसबीले अवरोध गरेको देखिएकाले भारतीय समकक्षीसँग कुरा गर्ने बताए । ‘भारतीय समकक्षीसँग कुरा राख्नेछौं,’ उनले भने, ‘नापीको कागजपत्र पनि अध्ययन गरिनेछ ।’

प्रकाशित : चैत्र १२, २०७५ १२:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?