कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

तटबन्ध रोकियो

कमल पन्थी

बर्दिया — बबई, भादा र ओराही नदीमा तटबन्धका लागि रकम निकासा नहुँदा काम रोकिएको छ । कार्यरत मजदुरले पारिश्रमिक नपाएको भन्दै काम रोकेका हुन् । अहिले दिनहुँ धर्ना र कार्यालय घेर्ने काम हुने गरेको छ । त्यसले निर्माण व्यवसायी र कर्मचारी समस्यामा छन् । 

मागअनुसारको रकम निकासा नहुँदा निर्माण व्यवसायीले काममा पनि ढिलासुस्ती गर्न थालेका छन् । ‘आठ महिनाअघि माग गरेको बजेट अहिलेसम्म निकासा भएको छैन,’ बबई, भादा र ओराही नदी व्यवस्थापन कार्यालयका सूचना अधिकारी मंगलबहादुर बमले भने, ‘ढुंगा, तारजाली, इन्धन र मजदुरलाई दिने रकम नभएपछि ठेकेदार कम्पनीले काम रोक्दै गएका छन् ।’


हिउँद लागेपछि उच्च जोखिममा रहेको बबई नदीमा गुरुयोजनाअनुसार तटबन्धको कामले गति पाउँदा बजेट निकासा भएन । त्यसले अहिले निर्माणमा समस्या परेको छ । चैतको पहिलो सातादेखि नै काम रोकिएको उनले बताए । तटबन्धअन्तर्गत १५ वटा प्याकेजमध्ये तीनवटाको अघिल्लो वर्षको काम सकिएको छ ।


१३ वटा प्याकेजको काम बजेट नहुँदा अघि बढ्न नसकेको कार्यालयले जनाएको छ । कालिका गजुरमुखीले अघिल्लो वर्षको पुसमा काम सम्पन्न गरे पनि रनिङ बिलबापत २२ करोड रुपैयाँ भुक्तानी पाएको छैन । ८४ करोडको ठेक्का लिएको उक्त जेभीले ३५ प्रतिशत भौतिक प्रगति गरेको व्यवस्थापन कार्यालयले जनाएको छ । लटकनिया, थपुवा र जब्दीघाटमुनिको तटबन्धका प्याकेजको काम सम्पन्न भएको व्यवस्थापन कार्यालयले जनाएको छ ।


तत्कालीन सिँचाइमन्त्री सञ्जयकुमार गौतमको पहलमा बबई, भादा र ओराही नदी व्यवस्थापन कार्यालय स्थापनापछि काम सुरु भएको थियो । तटबन्ध र बाँध नहुँदा बर्सेनि डुबान र कटानले सदरमुकाम गुलरिया र आसपासका नगरपालिका प्रभावित हुने गरेका छन् । बजेटकै कारण अति जोखिम मानिएको गुलरिया नगरपालिकाको पशुहाट, बालापुर, रामपुरटप्पु, प्रयागपुर, थपुवालगायतका ठाउँमा तटबन्धले गति लिएको छैन ।


आगामी जेठभित्र १४ प्याकेजको काम सकिने सम्झौता भए पनि बजेट निकासा नभएका कारण ठेकेदार कम्पनी काम रोक्न बाध्य भएको निर्माण व्यवसायी संघका अध्यक्ष भरत पौडेलले बताए । ‘उधारोमा कति दिन काम थेग्न सकिन्छ ?’ उनले भने, ‘अति भयो, बजेट निकासा नहुँदा मजदुर, पेट्रोल पम्प र ढुंगा, गिट्टीको रकम तिर्ने अवस्था छैन ।’ डिभिजन नदी व्यवस्थापन कार्यालय नेपालगन्जबाट गत आवमा बबई, भादा र औराही तटबन्धका लागि १ अर्ब ५७ करोड रुपैयाँको ठेक्का सम्झौता भएको थियो ।


विस्तृत सर्भेक्षण प्रतिवेदन (डीपीआर) स्वीकृत भइसके पनि माग अनुसारको बजेट निकासा भएको छैन । बबई नदीको दाहिनेतर्फको २२ किमि तटबन्धको बजेट ३ अर्ब ९२ करोड रुपैयाँ छ । उक्त तटबन्ध चार वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ । सूचना अधिकारी बमले केन्द्रलाई पत्रचारसँगै कार्यालय प्रमुख जितबहादुर थापा काठमाडौं धाइरहे पनि बजेट निकासा हुन नसकेको बताए ।


बर्सेनि बाढीबाट ठूलो धनजनको क्षति न्यूनीकरण गर्न जिल्लामा एकैपटक बबई, भादा र ओराही खोला तटबन्ध गर्न गुरुयोजनाले करिब दुई वर्षअघि काम सुरु गरेको हो । तीनवटा नदीमा कटान, बाढी न्यूनीकरणलगायत तटबन्ध गर्ने लक्ष्य छ । भादामा करिब १७ र ओराही नदीमा २६ किमि लामो तटबन्ध निर्माण हुनेछ । तीनवटै नदीका लागि प्रस्तावित बजेटअन्तर्गत तटबन्धको काम ०७९ भित्र गरिसक्नु पर्नेछ ।

प्रकाशित : चैत्र १६, २०७५ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?