कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

स्वर्गद्वारीमा आधुनिक पार्क

गिरुप्रसाद भण्डारी

प्यूठान — स्वर्गद्वारी नगरपालिका–४ भिंगृस्थित जिमुरपाटामा सूचना प्रविधि पार्क निर्माण सुरु गरिएको छ । नगरपालिकाले पार्क निर्माण गरिरहेको हो । पार्कभित्र सभाहल, वजभोजस्थल, सार्वजनिक शौचालय, टिकट काउन्टर, शिव मन्दिर, पर्यटकीय सूचना केन्द्रलगायत भौतिक पूर्वाधार निर्माण गरिनेछ । यसका लागि १८ करोड ८९ लाख ३१ हजार ८ सय ४ रुपैयाँ लागत अनुमान गरिएको छ । 

स्वर्गद्वारीमा आधुनिक पार्क

बहुवर्षीय योजनाअन्तर्गत काम अगाडि बढिसकेको नगरपालिकाका मेयर नेत्रबहादुर रोकायाले बताए । एक सय ४४ रोपनी क्षेत्रफलमा पार्क निर्माण गरिने उनले बताए । यस वर्ष नगरपालिकाको ४५ लाख र प्रदेश सरकारबाट ४५ लाख रुपैयाँ यसमा खर्च गरिनेछ ।


सुरुमा सभाहल निर्माण गरिने उनले बताए । १ करोड ८७ लाख ५९ हजार ८ सय ४० रुपैयाँ लागतमा २ सय ५० जना अट्ने सभाहल निर्माणका लागि ठेक्का आहवान गरिएको जनाए । अन्य संरचना क्रमशः निर्माण गर्दै जाने बताए । ‘चालु आर्थिक वर्षमा १ करोड रुपैयाँको काम हुनेछ,’ उनले भने, ‘क्रमागतरूपमा ३ वर्षभित्र आधुनिक पार्क बनिसक्ने छ । यसले नगरपाकिलाको विकासमा योगदान पुर्‍याउने अपेक्षा गरेका छौं ।’


स्वर्गद्वारी आउने पर्यटकलाई लक्षित गरेर पार्क निर्माण गर्न लागिएको उनले बताए । ‘स्वर्गद्वारीमा दिनहुँ सयौं पर्यटक आउँछन्,’ उनले भने, ‘उनीहरूलाई केही दिन भुलाउन नसक्दा सोचेको जति फाइदा लिन सकिएको छैन ।’ भौतिक पूर्वाधार निर्माण गरेर पर्यटकलाई केही दिन यतै टिकाउने वातावरणका लागि योजना अघि बढाएको नगरपालिकाले जनाएको छ ।


पार्क निर्माण योजनामा जिल्लाका अन्य साझेदारी निकायले सहकार्य गर्न लागेको जनायो । डिभिजन वन कार्यालयले १० लाख रुपैयाँ खर्च गर्नेगरी फिल्ड निर्माणमा सहयोग गरेको नगरपालिकाले जनाएको छ । नगर वन उद्यान कार्यक्रमअन्तर्गत भिंगृको पार्कमा काम गरिरहेको वन प्रमुख अम्बिका पौडेलले बताए । ‘स्वर्गद्वारी आउनेलाई लक्षित गरेर निर्माण भइरहेको पार्कमा सहकार्य गरेका छौं,’ उनले भने । स्वर्गद्वारी, नजिकका माडी नदी, रोल्पाको चर्तुभुज, नमुना सहर भिंगृ बजारलगायतका कारण पार्क उपयोगी हुने पौडेलले बताए ।


विभिन्न निकायसँगको समन्वयमा पार्क निर्माण हुन थालेपछि स्थानीय उत्साहित बनेको वडाध्यक्ष सूरेन्द्र हमालले बताए । ‘माडी किनारको सयौं रोपनी खेर गएको थियो,’ उनले भने, ‘त्यहीं पार्क बन्दै छ ।’ भिंगृ बजारका स्थानीय, स्वर्गद्वारी आउने पर्यटक, जिल्लाका अन्य स्थानका आन्तरिक पर्यटक पार्कमा घुम्न आउने उनले बताए ।

प्रकाशित : चैत्र १९, २०७५ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?