कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शैक्षिक संस्था चलाउन महायज्ञको भर

काशीराम डाँगी

रोल्पा — सदरमुकाम लिबाङस्थित जलजला बहुमुखी क्याम्पस सञ्चालनका लागि महायज्ञ आयोजना गरेको धेरै वर्ष भएको छैन । उक्त महायज्ञबाट २ करोड रुपैयाँ संकलन भयो । त्यसले क्याम्पसको शैक्षिक विकास गरियो । उक्त रकमबाट अक्षयकोष स्थापना गरिएको छ । जिल्लामा पहिलो पटक स्थापना गरेर सञ्चालित उक्त क्याम्पस सुरुदेखि आर्थिक संकट बेहोर्दै आएको छ ।

आर्थिक संकटले शैक्षिक गुणस्तर कायम गर्न समस्या भइरहेको क्याम्पस प्रमुख विष्णु आचार्यले बताए । महायज्ञ सञ्चालन गर्दा कृष्णप्रसाद आचार्य क्याम्पस प्रमुख थिए । धार्मिक महोत्सव आयोजना गरेर आर्थिक स्रोत जुटाउने उपाय सफल रहेको उनले बताए । मानिसले धार्मिक आस्था प्रकट गर्दै क्याम्पस चलाउन सहयोगसमेत दिएको उनले बताए । अहिले जलजलालाई मध्यपश्चिम विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भएको छ ।

उक्त विश्वविद्यालयबाट सम्बन्धन लिएर आंगिक बन्नु अघि क्याम्पस चरम आर्थिक अभावबाट थियो । एक दशक अघि क्याम्पस स्थापना गर्दा सुरुमा त्रिभुवन विश्वविद्यालयले सम्बन्धन दिएको थियो । तर आंगिक थिएन । जलजलालाई चैत पहिलो साता मध्यपश्चिम विश्वविद्यालयले आंगिक बनाएको हो । क्याम्पस स्थापना र आंगिक बनाउन पहल गरेका संघीय संसदका सभामुख कृष्णबहादुर महराले जेठो क्याम्पसको गुणस्तरीयता वृद्धि गर्न आग्रह गरे । सम्बन्धन हस्तान्तरण कार्यक्रममा महरा मुख्य पाहुना थिए ।


परिवर्तन गाउँपालिका ५ राङकोट मौलाबोटस्थित नेपाल राष्ट्रिय मावि (थप प्राविधिक विद्यालय) मा आर्थिक स्रोत जुटाउन नयाँ वर्षको अवसर पारी बैशाख १ देनि १० गतेसम्म श्रीमद्भागवत धनधान्याञ्चल विराट नवाह ज्ञान महायज्ञ संचालन गर्न थालिएको छ । विद्यालयले थप प्राविधिक शिक्षा सञ्चालनमा आर्थिक सहयोग जुटाउन महायज्ञ आयोजना गर्ने योजना अघि सारेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रहेका वडा अध्यक्ष सुकबहादुर बुढामगर थमनले महायज्ञ आयोजना गरेर रकम संकलन गर्नुका साथै पछि परेको समाजलाई आध्यात्मिक ज्ञान बाँड्ने योजना रहेको बताए । महायज्ञमा युवा कथा वाचक पण्डित अमृतशरण देवाचार्यको नेतृत्वमा धार्मिक टोली आउने उनले बताए ।


करिब ५६ वर्ष पुरानो उक्त विद्यालयमा केही वर्षअघिदेखि कृषि, वन, पशुसेवालगायतका प्राविधिक शिक्षाको पढाइ हुँदै आएको छ । उक्त विद्यालय सदरमुकाम लिबाङदेखि करिब ६० किलोमिटर पश्चिममा पर्छ । विद्यालयले आर्थिक संकट व्यहोर्दै आएको प्रधानाध्यापक गोपाल केसीले बताए । उक्त विद्यालयमा हाल साढे ६ सय विद्यार्थी छन् ।

जिल्लाको पश्चिमी भेगमा अवस्थित त्रिवेणी गाउपालिकाको जुगारमा रहेको जनजागृति माध्यामिक विद्यालयले प्राविधिक शिक्षाको कक्षा सञ्चालन गर्न महायज्ञ आयोजना गर्ने योजना अघि सारेको छ । नयाँ वर्षसँगै उक्त विद्यालयले महायज्ञ संचालन गर्ने योजना रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मित्रलाल घर्तीमगरले बताए । उक्त विद्यालय त्यस क्षेत्रकै जेठो हो । आर्थिक रकम जुटाउन विद्यालयले साताव्यापी ज्ञान महायज्ञ सञ्चालन गर्ने निर्णय गरेको हो ।


विद्यालय व्यवस्थापन समितिका अनुसार महायज्ञ आयोजना गर्नेबारेमा स्थानीय बुद्धिजीवी, व्यवस्थापन समिति, जनप्रतिनिधि लगायत अभिभावकको भेलाले सहमति गरिसकेको छ । विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गर्न आवश्यक पर्ने आर्थिक स्रोत जुटाउन महायज्ञ आयोजना गर्नु विकल्प रहेको व्यवस्थापन समितिको बुझाई छ ।

महायज्ञ संचालन गरेर आर्थिक स्रोत जुटाउन सकिने अपेक्षा लिइएको व्यवस्थापन समितिका अध्यक्ष घर्तीमगरले बताए । ‘अभिभावकको सहमति प्राप्त भएको छ । जनप्रतिनिधिले समेत सघाउँछौं भनेका छन् ।’ उनले भने । त्यस क्षेत्रमै पहिलोपटक महायज्ञ संचालन हुन थालेको हो ।


महायज्ञ नेर्पामै आयोजना गरिनेछ । उक्त विद्यालय २०११ सालमा स्थापना भएको थियो । विद्यालयको शैक्षिक गुणस्तर विगत १५ वर्षदेखि निकै खस्कँदो रहेको अभिभावकको भनाई छ । विद्यालयको शैक्षिक अवस्था सुधार्न नयाँ व्यवस्थापन समिति चयन गरिएको छ । विद्यालयको शैक्षिक एवं आर्थिक अवस्था सुधार्न पूर्वविद्यार्थीले समेत समिति गठन गरेका छन् । ज्ञान महायज्ञको प्रमुख वाचकमा कोमल उपाध्याय आउने आयोजकले जनाएको छ ।

प्रकाशित : चैत्र २०, २०७५ १२:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?