कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिकलसेल परिचयपत्र दिन रगत परीक्षण

कमल पन्थी

बर्दिया — सिकलसेल संक्रमण भएका व्यक्ति पत्ता लगाउन बारबर्दिया नगरपालिकाले २० हजार स्थानीयवासीको रगत नमुना परीक्षण गराएको छ  । बारबर्दियाका ११ मध्ये वडा ७ र ८ बाहेक सबैमा रगतको नमुना संकलन सकिएको मेयर दुर्गाबहादुर थारूले बताए  ।

नगरपालिकाले १ वर्षदेखि २९ वर्ष उमेर समूहकाले अनिवार्य रगत परीक्षण गराउनुपर्ने नियम बनाएको छ । ‘उक्त नियम बनाएपछि ठूलो संख्यामा नमुना संकलन भएका छन्,’ मेयर थारूले भने, ‘थारू समुदायमा वंशाणुगत रूपमा फैलिएको सिकलसेल एनेमिया रोगीको वास्तविक संख्या पत्ता लाग्नेछ ।’ दैनिक २ सयले रगत परीक्षण गराउँदै आएका छन् । ०६८ का अनुसार नगरपालिकामा ६८ हजार १ सय ४४ जनसंख्या रहेको छ । तीमध्ये ४९ हजार ७ सय जना थारू समुदायका छन् ।


स्वास्थ्य अनुसन्धान परिषदको सहयोग र नगरपालिकाको समन्वयमा एक वर्षयता नमुना संकलन भइरहेको छ । परिषद्का चिकित्सक प्रमोद चौधरीले परीक्षण गरिएका मध्ये कति जनामा सिकलसेल संक्रमण भएको छ भन्ने जानकारी अहिले दिन नमिल्ने बताए । परीक्षण गरिएका मध्ये करिब १५ प्रतिशतमा यस्तो संक्रमण भएको अनुमान उनले गरेका छन् । यस्ता रोगीलाई सरकारले परिचयपत्र उपलब्ध गराउने भएको छ । सरकारले संक्रमण भएका व्यक्तिलाई १ लाख रुपैयाँ बराबरको औषधि सहयोग उपलब्ध गराउँदै आएको छ । त्यस्तो सहयोगलाई २ लाख रुपैयाँ पुर्‍याउन लागेको मेयर थारूले बताए ।


परीक्षणका लागि करिब ३ करोड रुपैयाँ खर्च भएको छ । थप बजेट आवश्यक भएकाले केन्द्रसित माग गरिएको उनले बताए । नगरपालिका सिकलसेल केन्द्रको स्थापना गर्ने तयारीमा लागेको छ । गत वर्षदेखि यहाँका माध्यमिक विद्यालयमा ‘सिकलसेल एनोमिया’ सम्बन्धी अनिवार्य शिक्षा लागू गरिएको छ । विद्यार्थीलाई रोगबारे जानकारी दिन ‘सिकलसेल एनोमिया, थालेसिमिया’ पुस्तक कक्षा ९ मा अनिवार्य गरिएको छ ।


बारबर्दियाका १४ सामुदायिक र ३ संस्थागत माविमा सामाजिक शिक्षाअन्तर्गत अनिवार्य सिकलसेलसम्बन्धी पाठ्यक्रम लागू गरिएको छ । २५ पूर्णांक रहेको पाठ्यपुस्तक अनिवार्य विषय बनाइएको शिक्षा शाखाका प्रमुख टीकाराम गोसाईंले बताए । परिषदका चिकित्सक चौधरीले सिकलसेल र बिटा थालेसेमिया वंशाणुगत रूपमा सर्छन् । समयमै ध्यान दिन सके रोगबाट बच्न सकिने उनले बताए ।


पश्चिम तराईका दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा बसोबास रहेका थारू समुदायमा रोग बढी देखिएको छ । यस्ता रोगीमा रगत कम हुने, जन्डिस देखा पर्ने, शरीरका जोर्नी दुख्ने, सुन्निने, शरीर दुःख्ने, दुब्लाउने, हल्का ज्वरो आउनेलगायतका लक्षण देखिने चिकित्सले बताए ।

प्रकाशित : चैत्र २२, २०७५ १२:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?